सुदुरपश्चिमबाट अवैध रूपमा भैँसीको निर्यात



सुदुरपश्चिमको पहाडी जिल्लाबाट ठूलो संख्यामा अवैध रूपमा भैँसीको निर्यात भइरहेको छ । सुदुरपश्चिमको बझाङ, बाजुरा, दार्चुला, अछाम र डोटीलगायतका जिल्लाबाट अवैध रूपमा विभिन्न सुगम सहरी क्षेत्रमा भैँसीको निर्यात भइरहेको छ ।

बझाङबाट वार्षिक रूपमा हजारौँको संख्यामा भैँसी निकासी भइरहेको छ ।  भैँसी  संकलनका लागि भारत, नेपालगन्ज, धनगडी, कैलाली, अत्तरीया, कञ्चनपुरलगायतका स्थानबाट व्यवसायीहरू बझाङ, बाजुरालगायत सुदुरपश्चिमका ग्रामीण बस्तीहरूमा पुग्ने गरेका छन् ।

पहाडी जिल्लाबाट संकलन भएका भैँसीहरू सुगम स्थानमा पुरयाएर विभिन्न बजारमा पुरयाउने गरिएको संकलनकर्ता मुसुरियाका खगेन्द्र मगरले जानकारी दिए । मगरका अनुसार ग्रामिण भेगमा एउटा भैँसीको मूल्य ७ हजारदेखि २५ हजारसम्म व्यवसायीहरूले उपलब्ध गराउँदै आएका छन् । व्यवसायीहरूका अनुसार ब्याउने भैँसी र दूध दिने भैँसीसमेत बिक्री हुने गरेको छ ।

ग्रामिण भेगबाट खरिद गरिने यस्ता भैँसीलाई काटेर विभिन्न बजारमा सुकुटी, मम, सुपलगायतका परिकार बनाउन बिक्री हुने गरेको मगरले जानकारी दिए । बुंगलनगरपालीकाका स्थानीयबासी सुरेन्द्र धामीका अनुसार घरायसी समस्याका कारण ब्याउने भैसि १२ हजार ५ सयमा विक्री गरेको जानकारी दिए ।

भैँसी पालकहरुले व्यापारीहरूले आफुहरुबाट के कारण भैँसी खरिद गरेको बारेमा जानकारी नभएको बताएका छन् । अधिकांशले पाल्न र दूधका लागि खरिद गरेको जानकारी मात्रै भएको उनीहरूले औँल्याएका छन् । मैले पालेको भैँसी ५ दिन पछी गाउँ नजिकैको जंगलमा बाँधेको अवस्थामा फेला पारे किन यहाँ बाँधेको रहेछ भनेर बुझ्दै जाँदा त मार हान्नका लागि बाहिर पठाउन जम्मा पारिएको थाहा पायौँ,’ धामीले बताए ।

बाजुराका सुरेशबहादुर रोकायाले घर निर्माण गर्न रकमको अभाव भएपछि काम गर्ने कामदारलाई पैसा उपलब्ध गराउनका लागि १५ हजार तीन सय रुपैयाँमा दुहुनो भैँसी बिक्री गरेको जानकारी दिए ।

किसानहरुकाअनुसार अधिकांश व्यवसायीहरूले भैँसी आफै पालन गर्ने भनेर खरिद गरेर लाने गरेका छन् । रोकायाका अनुसार उनको घरमा २ वटा भैसि थिए । एउटा भर्खरको थियो । तर केही बदमास भएकाले उनको बुबाले उक्त भैँसी बिक्री गरे ।

भैँसी संकलनकता खगेन्द्र मगरजस्ता व्यक्तिहरू समुह बनाएर बझाङ, बाजुरा, डोटी, अछाम, दार्चुला सबै जिल्लाहरूमा पुग्ने गरेका छन् । मगरले आफु न ब्याउने भैसि मात्र खरिद गर्ने गरेको दाबी गरेका छन् ।

यसरी किसानलाई झुक्याएर धमाधम दुधालु भैसींहरु काट्नका अवैध रूपमा तराई र भारततिर तस्करी भए पहाडी जिल्लामा रैथाने र गड्डी जातको भैँसीको लोप हुने खतरा रहेको जानकारहरू बताउँछन् ।

तीन वर्षअघि ३६ हजारको हाराहारीमा रहेका भैसींको संख्या अहिले घटेर १५ हजारमा पुगेको जिल्ला पशु सेवा कार्यालयको तथ्याङ्क छ । यसरी नै भैँसीको तस्करी हुने हो भने केही बर्ष भित्रै स्थानीय जातका भैसीहरु लोप हुने जिल्ला पशु सेवा कार्यालयका निमित्त कार्यालय प्रमुख कर्णबहादुर खड्काले बताए ।

भैसीं चरन क्षेत्रको अभाव, युवाहरूको पशुपालन प्रति घट्दो आर्कषण र अधिकांश गाउँका पुरुषहरू पलायन हुने क्रमसँग व्याउने र दुहुनो भैँसी समेत सस्तोमा तस्करलाई बिक्री गर्नुपरेको खड्काले बताए ।  संकलन गर्नका लागी नेपालगन्ज, कैलाली, कञ्चनपुर लगायतका ठाउँबाट मानिसहरू बझाङ, बाजुरालगायत सुदुरपश्चिमका ग्रामीण बस्तीहरूमा पुग्ने गरेको र पाल्ने भनी झुक्याएर मासुका लागी नै लैजाने गरेको उनको भनाई छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics