वातावरण पत्रकारिता पुरस्कार मण्डल र छेटुलाई


नेपाल वातावरण पत्रकार समूह (नेवापस)ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको ‘‘वातावरण पत्रकारिता पुरस्कार’’ सन् २०१७ का लागि दि काठमाण्डौ पोष्ट दैनिक र अन्नपूर्ण पोष्ट दैनिकका संवाददाता क्रमशः श्री चन्दनकुमार मण्डाल र श्री छेटु शेर्पालाई संयुक्तरुपमा प्रदान गर्ने निर्णय गरेको छ । पुरस्कार स्वरुप २५ हजार रुपैयाँ र प्रमाण–पत्र प्रदान गरिनेछ ।

समूहले प्रत्येक वर्ष जुन महिनाको ५ तारिख विश्व वातावरण दिवसको अवसरमा सन् २०१७ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाईनमा उत्कृष्ट लेख–रचनाहरू प्रकाशित गर्ने वा कार्यक्रम प्रस्तुत गर्ने पत्रकारमध्येबाट छनौट गरेर यो पुरस्कार एक जनालाई प्रदान गर्ने गरेको थियो । तर यो पटक विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकता भएका लेखहरुको मूल्याङ्कन गर्दा दुवैजना पत्रकारहरुको बराबरी अङ्क आएकाले यो पुरस्कार दुवैजनालाई दिने निर्णय भएको हो ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०१७ भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । वरिष्ठ पत्रकार राजेन्द्र दाहाल संयोजक, पत्रकार तथा कार्यसमिति सचिव शारदा रिजाल र कार्यसमिति विज्ञ सदस्य तथा वातावरणविद् सूर्यमान शाक्य रहेको छनौट समितिले संकलित सामाग्रीको मूल्याङ्कन गरेको थियो ।

समितिले मूल्याङ्कनका लागि प्राप्त सामग्रीहरुमध्ये सान्दर्भिकता, गहनता, विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकता समेतका आधारमा प्रतिस्पर्धीहरूको मूल्यांकन गरेको थियो ।

पत्रकारिता विषयमा स्नातकोत्तर तह उतिर्ण श्री मण्डल र पत्रकारिता अध्ययनरत श्री शेर्पा क्रमशः दि काठमाण्डौ पोष्ट अंग्रेजी दैनिक र अन्नपूर्ण पोष्ट दैनिकमा संवाददाताका रुपमा कार्यरत छन् । समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०१७’ पाउने उनीहरु ३१औँ पत्रकार हुन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics