सरकारको एक्लो प्रयासबाट खाद्य स्वच्छता हुँदैन : कृषि राज्यमन्त्री

कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीले सरकारको एक्लो प्रयासबाट खाद्य स्वच्छता र गुणस्तर कायम नहुने बताएकी छिन् । देशभर स्वच्छता र गुणस्तर कायम गर्नका लागि आम उपभोक्ताले आफ्नो स्तरबाट भूमिका खेल्नुपर्ने औँल्याइन ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागद्वारा बिहीबार आयोजित कार्यक्रममा बोल्दै राज्यमन्त्री चौधरीले आफू जिम्मेवारीमा रहेको वेला केही नगर्ने तर जिम्मेवारीबाट हटेपछि वा अवकासपछि सरकारलाई नै गाली गर्दै हिँड्ने प्रवृत्ति रहेको भन्दै पदमा रहेको वेला काम नगर्ने र जनताको पैसाबाट तलब सुविधा लिने कसैलाई अधिकार नभएको बताइन् । उनले भनिन्–मन्त्री होस् या कर्मचारी कसैलाई यो छुट छैन, जनताले दिएको तलब भत्ता सुतेर खानका लागि होइन, काम गर्नका लागि हो ।

उनले खाद्य स्वच्छता कायम गर्न कर्मचारीहरू शहरमामात्र केन्द्रित नभई ग्रामीण क्षेत्रसम्म पुग्नुपर्ने बताइन् । गुणस्तरहीन खाद्य वस्तु बिक्री गरेर जन जनस्वास्थ्यमाथि खेलबाड गर्नेमाथि कडा कारवाही हुने गरी ऐन संशोधन प्रक्रियामा रहेको चौधरीले जानकारी दिइन् ।

कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव डा. युवकध्वज जिसीले खाद्य स्वाच्छताका लागि पहिले मुहानमै सफा गर्नुपर्ने बताए ।उत्पादनस्थलदेखि नै खाद्य स्वच्छता कायम हुनुपर्ने उनको भनाइ थियो । उनले खाद्य स्वच्छता अभियानलाई व्यापक बनाउन विभागलाई साधन स्रोत सम्पन्न बनाउनुपर्ने आवश्यकता औँल्याए । पूर्व सविच उत्तम कुमार भटटराइले सबै स्थानीय निकायहरूमा खाद्य प्राविधिकहरूको व्यवस्था गरिनुपर्नेमा जोड दिए । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सहसचिव योगेन्द्रकुमार कार्कीले खाद्य स्वच्छतासँगै खानेवानीमा पनि परिवर्तन आवश्यक रहेको बताए ।

आलु खाएपछि भातको आवश्यकता नपर्ने भएपनि नेपालीहरूमा आलु पनि टन्न खाएपछि पनि भात खाने परम्परा रहेको बताए । राष्टिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले विभागले ४१ जना खाद्य प्राविधिकबाट ३ करोडभन्दा बढी उपभोक्ता सबैलाई सेवा दिन नसक्ने भन्दै उपभोक्ता स्वयम् पनि सचेत हुनुपर्ने बताए ।

विभागका महानिर्देशक संजिवकुमार कर्णको सभापतित्वमा भएको कार्यक्रममा पूर्व महानिर्देशक जीवनप्रभा लामा, खाद्य उद्यमी कुमुदकुमार दुगडलगायत विभिन्न उपभोक्ताकर्मीहरुले खाद्य स्वच्छता र गुणस्तरका लागि खाद्य स्वच्छता नीति र खाद्य स्वच्छता ऐनलाई छिटो कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका थिए । सो अवसरमा उत्कृष्ट खाद्य उद्यमी, खाद्यविज्ञ, कर्मचारी उपभोक्ताकर्मी र सञ्चारकर्मीलाई सम्मानित गरिएको थियो ।विभागद्धारा आयोजित महिनाव्यापी खाद्य स्वच्छता कार्यक्रम हामी सबैको सरोकारः खाद्य श्रृंखलामा स्वच्छता र गुणस्तर भन्ने नाराका साथ आयोजित १० औँ राष्ट्रिय खाद्य स्वच्छता दिवस बिहीबार  सम्पन्न भएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics