नेपालमा मनसुन प्रवेश


नेपालमा शुक्रबार (जेठ २५) गतेदेखि मनसुन प्रवेश गरेको छ । औषत समयभन्दा दुई दिन छिटो मनसुन नेपालको पूर्वी भागबाट प्रवेश गरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी भेगबाट नेपालमा मनसुन प्रवेश गरी क्रमश पश्चिमतर्फ विस्तार हुने क्रममा रहेको छ । महाशाखाका अनुसार, केही दिन भित्रै नेपालभर फैलिने अनुमान गरिएको छ । नेपालमा सामान्यतया मनसुन १० जुनमा प्रवेश गर्ने गर्छ । यस आधारमा यस वर्षको मनसुन २ दिन अघि शुरू भएको हो

नेपालमा साधारणतया जुन देखि सेप्टेम्बरसम्म चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुने गर्दछ । विज्ञहरुको आँकलन गरिए अनुसार यस वर्षको मनसुनी वर्षा नेपालको अधिकांश भू(भागहरुमा सरदर वर्षा हुने अनुमान गरिएको छ । स्मरणिय छ, सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षालाई बुझिन्छ । सरदर वर्षाको ९० प्रतिशत देखि ११० प्रतिशत सम्म वर्षालाई सामान्य वर्षा मानिन्छ भने सो भन्दा कम र बढि वर्षा भएमा क्रमश न्युन वा अधिक वर्षा भएको मनिन्छ ।भारतको केरला, भुटान हुँदै नेपाल मनसुन प्रवेश गरेको हो । मौसमी नक्सा, भूउपग्रहहरूबाट प्राप्त बादलका तस्बिरका आधारमा मनसुनको अनुमान गरिने गरिन्छ ।

सन् २०१७ मा मनसुन जुन १२ मा भित्रिएको थियो, भने सन् २०१५ मा जुन १५ मा मनसुन सुरु भएको थियो। यस वर्ष नेपालमा औसतमा वर्षा हुने मौसमविदहरुले पूर्वानुमान गरेका छन्।

पिताम्बर सिग्देल

प्रतिक्रिया दिनुहोस

web
analytics