उखु किसानद्धारा राजमार्ग बन्दको चेतावनी



पश्चिम नवलपरासीका किसानहरूले उखुको भुक्तानी नपाए राजमार्ग बन्द गर्ने चेतावनी दिएका छन् । पटक पटक उखुको भुक्तानी दिन माग गरेपनि जिल्लाका उद्योगहरूले भुक्तानी नदिएको र सरकारलेसमेत पहल नगरेकाले राजमार्ग बन्दको विकल्प नरहेको भन्दै किसानहरूले चेतावनी दिएका हुन् ।

उखुको भुक्तानी नभए आन्दोलन गर्ने चेतावनीसहित शुक्रकार प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउन पुगेको उखु उत्पादक कृषक समितिका पदाधिकारीसहितका किसानहरूको टोलीले तत्काल भुक्तानीको व्यवस्था नभए हप्ता दिनपछि राजमार्ग बन्द गर्ने चेतावनी दिएका हुन् ।

तीन वर्षअघि पनि उखुको भुक्तानी नपाएको भन्दै किसानहरूले राजमार्ग बन्द गरेर आन्दोलन गरेका थिए । यसवर्ष जिल्लाका तीन उद्योगले पाँच करोड बढी रकम किसानलाई भुक्तानी गर्न बाँकी छ ।उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष उमेश यादवले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले दुई महिनाअघि उखु किसानको रकम भुक्तानी नगर्ने उद्योगीलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएपनि जिल्लाका किसानहरूले भने अहिलेसम्म रकम पाउन सकेका बताए ।

जिल्लामा बाग्मती, लुम्बिनी र इन्दिरा चिनी उद्योगले किसानसँग उखु लिएर चिनी उत्पादन गरेका छन् । सरकारले गतवर्ष निर्धारण गरेको पाँच सय ३१ रुपैयाँलाई बढाएर यसवर्ष (०७४÷०७५) पाँच सय ३६ रुपैयाँ ५६ पैसा प्रति क्विन्टल समर्थन मूल्य कायम गरेको थियो ।

समर्थन मूल्य कायम गर्नुअघि पेश्कि स्वरूप पाँच सय रुपैयाँ प्रतिक्विटलमा उखु उपलब्ध गराएपनि उक्त रकमसमेत नदिएको किसकानको गुनासो छ । पटक पटक उखुको भुक्तानीका लागि सरकारसँग माग गरेपनि त्यसतर्फ पहल नहुँदा किसानहरू आक्रोशित भएकाले आन्दोलनको विकल्प नरहेको नवलपरासीका पूर्वसांसद देवकरण जयसवालले बताए । तीन वटा उद्योगले १६ लाख बढी क्विन्टल उखु क्रसिङ्ग गरी चिनी उत्पादन गरेको समितिले जनाएको छ । भुक्तानी नपाउँदा जिल्लाका करिब १० हजार बढी किसान समस्यामा छन् । जसका कारण दैनिक घरखर्चदेखि अन्य बालीसमेत लगाउन समस्या भएको किसानको गुनासो छ । समयमा भुक्तानी नपाउँदा जिल्लामा हरेक वर्ष उखु उत्पादन घट्दो छ ।

चिनी बिक्री नभएसम्म किसानहरूको बक्यौता रकम भुक्तानी दिन नसकिने उद्योगहरूले जनाएका छन् । बाग्मती चिनी उद्योगका प्रबन्धक टंक काफ्लेले पाकिस्तानबाट खरिद गरेर ल्याइएको चिनीका कारण मूल्य नपाइएको उनले बताए । बजारमा बिक्री भइरहेको विदेशी चिनी भन्दा १० देखि १२ रुपैयाँ कम गरेर बिक्री गर्न नसकिने उद्योगले जनाएका छन् ।

लुम्बिनी चिनी उद्योगका महाप्रबन्धक बाबुलाल अग्रवालले उद्योगको चिनी साल्ट ट्रेडिङ्गले खरिद नगर्नु र बजारमा मूल्य नपाइएकाले बिक्री गर्न नसकिएको बताए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics