सर्वसाधारणको भान्छा महँगियो



आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा नआउँदै व्यवसायीहरूले आफुखुशी उपभोग्य बस्तुको मूल्य बृद्धि गरेका छन् । व्यवसायीहरूले बजेट वक्तव्य आएको अर्को दिनदेखि नै आम उपभोक्ताको ढाड सेक्ने गरी मनपरी ढंगले विभिन्न प्रकारका उपभोग्य बस्तुको एकलौटी रूपमा मूल्य बृद्धि गरी उपभोक्ताको भान्छालाई महँगो बनाएका छन् ।

थोक विक्रेताहरुले सरकारले बजेटमार्फत करको दायरा बढाएको कुतर्क गर्दै अहिले चामल, खानेतेल, दाल, गेडागुडी, चिनीलगायतका बस्तुको मूल्य बृद्धि गरेका छन् । जवकी करसम्बन्धी आएको नयाँ नीति आगामी साउनदेखि कार्यान्वयनमा आउनेछ । करको नयाँ नीति कार्यान्वयनमा नआउँदै व्यवसायीले त्यही विषयलाई जोडेर अहिले नै गरेको मूल्य बृद्धि सिधै कालोबजारी भएको उपभोक्तावादीहरुले औँल्याएका छन् ।

नेपाल खुद्रा व्यापार संघका अनुसार बजेट वक्तव्य आएको अर्को दिनदेखि नै थोक बिक्रेताले प्रत्येक दैनिक उपभोग्य बस्तुका मूल्यमा १० देखि एक सय ५० रुपैयाँसम्म मूल्य बृद्धि गरी सामान बजारमा पठाएका छन् । थोक बिक्रेताले सबै प्रकारका खानेतेलको प्रति लिटरमा १५ देखि २० रुपैयाँ मूल्य बृद्धि गरेका छन् । बजेटअघिसम्म एक सय १५ रुपैयाँ मूल्य रहेको सोयाबीन (भटमास) को तेलको मूल्य अहिले एक सय ३० रुपैयाँ पु¥याइएको छ । यस्तै एक सय २० रुपैयाँमा पाइने सनफ्लावरको तेलको मूल्य एक सय ३५ मा पुगेको छ । एक सय २० रुपैयाँको तोरीको तेलको मूल्य बृद्धि गरी एक सय ४० पु¥याइएको छ । यसैगरी प्रतिकिलो एक सय १५ मा बिक्री भएको वनस्पति घिउलाई अहिले एक सय ३५ रुपैयाँ कायम गरिएको छ ।

संघकाअनुसार बजेटमा करको दायरा बढ्दैछ भनेर उद्योगीलाई पहिलेदेखि जानकारी थियो । त्यही जानकारीको आधारमा खानेतेल उत्पादन गर्ने उद्योगीहरूले बजेट आउनुपूर्व करिब डेढ सातासम्म उत्पादन गरेका तेल बजारमा नपठाएर उद्योगमै थन्काएका थिए । बजेट आइसकेपछि करको दायरा बृद्धि गरेको बहानामा उद्योगीले कार्टेलि® गरी खानेतेलको मूल्य बृद्धि गरी पहिले नै उत्पादन भएको तेल बजारमा पठाएका हुन् ।
‘थोक बिक्रेताले बजेटमा करको दायरा बृद्धि भएको बहानामा हामीलाई हरेक वस्तुमा १० देखि डेढ सयसम्म मूल्य बृद्धि गरी सामान उपलब्ध गराएको छ,’ संघका अध्यक्ष पवित्र बज्राचार्यले भने,‘थोकले जुन मूल्य हामीलाई उपलब्ध गराएको छ, त्यही मूल्यमा उपभोक्तालाई बिक्री गरेका छौँ । थोक व्यवसायीका कारण बजेट कार्यान्वयनमा नआउँदै दैनिक उपभोग्य बस्तुको मूल्य अकासिएको छ ।’ बजेट कार्यान्वयनमा नआउँदै दैनिक उपभोग्य बस्तुको अकासिएको मूल्य बृद्धिको बिषयमा नियमनकारी निकायले प्रभावकारी अनुगमन नगरिदिंदा आम उपभोक्ताको भान्छा अत्याधिक महँगिएको उनले बताए ।
संघका उपाध्यक्ष रामकृष्ण मानन्धरका अनुसार चालमको जातअनुसार २०, २५ र ३० किलोको बोरामा थोक बिक्रेताले ५० देखि डेढ सय रुपैयाँसम्म मूल्य बृद्धि गरी बजारमा पठाएका छन् । खुद्रा बिक्रेताहरुले त्यसमा सय रुपैयाँ थप जोडी उपभोक्तासँग एक बोरामै दुई सय रुपैयाँ बढी असुल गर्न थालेका छन् । संघका अनुसार भारतमै चामलको मूल्य बृद्धि भएकाले आयातित चामलको बजार मूल्य बृद्धि भएको हो ।

नेपालका अधिकाँश चामल उत्पादन गर्ने मिलहरूले भारतबाट चामल आयात गरी आवश्यक प्रशोधन प्रविधिबाट मसिनो, लामो र बास्नादार चामल तयार पार्छन । यसरी तयार भएको चामललाई आफ्नै ब्रान्डमा प्याकेजि® गरी बजारमा नेपालको उत्पादन भनेर बिक्री बितरण गर्दैआएका छन् । संघकाअनुसार ७० रुपैयाँ जाने चिनीलाई अहिले पसलपिच्छे ८० देखि ९५ रुपैयाँसम्म उपभोक्ता मूल्य कायम गरी बिक्री बितरण भइरहेको छ । दालतर्फ मासको दालतर्फ १५ रुपैयाँ बृद्धि गरी ८५ रुपैयाँ उपभोक्ता मूल्य कायम गरिएको छ । अन्य दालमा पनि प्रतिकिलोमा ५ देखि १५ रुपैयाँ मूल्य बृद्धि गरिएको छ ।

राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले सरकारले प्रभावकारी अनुगमन नगर्दा उद्योगी र व्यवसायीले आफुखुशी बजार मूल्य कायम गरि दैनिक उपभोग्य वस्तुमा सिण्डीकेट कायम गरेको आरोप लगाए । उनले भने,‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट उपभोक्ताको पहुँचभन्दा बाहिर जाँदै गरेको बजारलाई नियन्त्रणमा ल्याउँछु भनेर सार्वजनिक रूपमा भाषण आएपनि वास्तविक रूपमा पछिल्लो समयमा मन्त्रालयको भूमिका कालोबजारी गर्ने र सिण्डीकेट कायम गर्ने व्यापारी र उद्योगीको पक्षपोषणमा सिमित बनेको छ ।’
नेपाल चामल तेल दाल उद्योग संघले तोरी तेलमा सरकारले प्रदान गर्दैआएको मूल्य अभिवृद्धि कर छुट ४० प्रतिशत बजेटमार्फत फिर्ता लिएकाले तेलको मूल्य बृद्धि भएको दाबी गरेको छ । संघका महासचिव सुबोधकुमार गुप्ताले तोरीको गेडा आयातमा समेत सरकारले १ प्रतिशत भन्सार महसुल बृद्धि गरी ५ प्रतिशत पु¥याएकाले लागत मूल्य बढ्दा उपभोक्ता मूल्य बृद्धि भएको दाबी गरे । यस्तै अप्रशोधित दाता तथा गेडागुडीमा भन्सार महसुल ५ प्रतिशतबाट बृद्धि गरी १० प्रतिशत र चामलको आयातमा १५ प्रतिशत भन्सार महसुल बृद्धि गरिएकाले दाल र चामलको पनि मूल्य बृद्धि भएको संघले जनाएको छ ।

उपभोग्य बस्तुको मूल्य
बस्तु पहिले अहिले
भटमासको तेल ११५ १३०
सनफ्लावर तेल १२० १३५
तोरी तेल १२० १४०
मासको दाल ७० ८५
वनस्पति घिउ ११५ १३५
चामल प्रत्येक बोरामा ५० देखि १५० बृद्धि
स्रोत ः नेपाल खुद्रा व्यापार संघ

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics