बाढीले १७ लाखको खानेपानी योजना बगायो

A+ A-



रामेछाप नगरपालिका–८ वावियाखर्कको विटारमा अवस्थित सिम्लेखोला सानावारी विटार स्किम नम्बर २ को १७ लाखको खानेपानी योजना बगाएको छ ।

आइतबार साँझ परेको अविरल बर्सादका कारण अबिरल बर्सादसँगै सिमले खोलामा आएको बाढीले बिटारका स्थानीय वासिन्दाहरुले प्रयोग गर्दै आएको खानेपानीको इन्टेक र मुख्य लाइन बगाएर नष्ट पारेको हो ।

एकवर्ष अघि मात्र डिभिजन खानेपानी कार्यालय मार्फत संम्पन्न भएको उक्त योजना अन्तर्गत मुहानको इन्टेक पूर्ण रूपमा बगाएको छ भने मुख्य लाइन तर्फ विस्तार गरिएको करिब २ सय मिटर जिआइपाईप खोलाले बगाएको उक्त खानेपानी तथा सरसफाइ समितिका अध्यक्ष बद्री नयाँघरे बताए ।उनका अनुसार अनुमान गरे भन्दा अत्याधिक रूपमा खण्ड वृष्टि भएको र त्यसको सबैभन्दा बढी प्रभाव रामेछाप ८ कै वावियाखर्क र सल्लाको शिरमा परेको थियो । जसका कारण खोला आसपासमा रहेका खेत पुर्नुको साथै वारी र कान्ला समेत बगाएको छ ।

जसकाकारण स्थानीय सिमले खोला मुहान हुँदै विटारको सानावारी र टाराचौरसम्मका करिब २५ घर उपभोक्ताले प्रयोग गर्दैै आएको खानेपानीको मुहानको इन्टेक देखी करिब २ सय मिटर पाइप लाइन बगाएको छ । उक्त खानेपानी योजना डिभिजन खानेपानी कार्यालय रामेछापले करिब १७ लाखको लागतमा एकवर्ष अघि मात्र निमार्ण सम्पन्न गरेको थियो ।

बाढीले खानेपानीको आयोजनामा क्षती पुर्‍याएपछि राती देखी सोमबार  बिहानसम्मको समय लगाएर उपभोक्ताहरूले पुरिएको र बगाएको जिआईपाइप निकालेका छन् । सो क्रममा दशवटा जिआईपाइप पुरिएको अवस्थामा खोलाबाट निकालिएको थियो । खानेपानीको मुहान बगाएपछि उपभोक्ताहरूले खानेपानी आपूर्तिको लागि डिभिजन खानेपानी कार्यालय मन्थलीमा घटनाको बारेमा जानकारी गराउँदै तत्काल अस्थायी खानेपानी जडान गरिदिन अनुरोध गरेको समेत अध्यक्ष नयाँघरेले जानकारी दिए ।

खानेपानी आयोजनामा क्षती पुगेको सम्बन्धमा डिभिजन खानेपानी कार्यालयका प्रमुख लोकवहादुर चौलागाईले योजना बगाएको बारेमा अध्यक्षबाट मौखिक रूपमा जानकारी आएको र त्यसका लागि तत्काल प्राविधिक पठाएर आवश्यक इष्टमेट गरी समस्या समाधान गर्ने बताए । बर्सादले वावियार्खक, सल्लो उपल्लो वावियाखर्क, केवलेश्वर क्षेत्रका वारि चिराचिरा पारेर बारीमा लगाएको मकै समेत नष्ट पारेको छ ।

बाढीले खानेपानी बगाएपछि त्यस गाउँका नागरिकहरू खानेपानीवाट वञ्चित भएका छन् । खानेपानीवाट वञ्चित भएका उपभोक्ताहरूलाई तत्काल अस्थायी माध्यमबाट खानेपानीको व्यवस्थापन गर्नको लागि पोलिथिन पाइप मार्फत पानी ल्याउन सकिने भए त्यसको लागि वैकल्पीक व्यवस्थापन गर्न सकिने जिल्ला खानेपानी सरसफाइ डिभिजन कार्यालय रामेछापका इन्जिनियर नवराज सत्यालले जानकारी दिए ।

बाढीले स्थानीय आरुवोटे स्थित दलित टोल सिरानमा निर्मित नयाँ सडकबाट झरेको भलले अधिकासंको घरभित्र पानी पसेको छ भने सडकबाट निस्किएको गेगरले मकै बालीसमेत पुरेको स्थानीय गोविन्द बहादुर कामीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics