मेयरलाई किसानको गुनासो :  खेती गर्न पाएनौँ



‘खेती नै गरिएन भने हाम्रो गोदावरीलाई सुन्दर गोदाबरी कसरी बनाउने हो ? खेती गरी सक्नुपर्ने समयमा पनि खेती गर्न पाएनौँ हामी ।’ यो प्रश्न हो, गोदाबरीका आम किसानको । इसिमोडद्वारा गोदाबरीमा आयोजित बहुसरोकारवालाको भूमिका विषयक कार्यक्रममा किसानहरूले गोदावरीका मेयर गजेन्द्र महर्जनलाई यस्तै यस्तै प्रकारका प्रश्न र जिज्ञासा राखेका छन् ।

स्थानीय जमुना श्रेष्ठले अकाशे पानीको भरमा बीउ त जसोतसो उमारेको तर पानी बिना खेती गर्न नपाएको गुनासो पोखिन् । प्रश्न गर्दै उनले भनिन,‘हरियो हुने फाँट अहिले खाली र बाँझो छ ? हरियाली र खेती नै नगरिए कसरी हुन्छ त् हाम्रो गोदावरी राम्रो गोदावरी ?’

गोदावरीको कुण्डबाट नहर खोला बग्ने नदी आफ्नो गतिमा बग्न पाउँदैन । किसानहरूले व्यक्तिको नाममा स्वामित्वमा भएको पानीको भरमा खेति गर्न पाएका छैनन् ।
गोदावरी नगरपालिका वडा नम्बर २ बिशंखुका स्थानीयबासीले विगत ३ वर्षदेखी मज्जाले खेती गर्न नपाएको गुनासो गरेका छन् । यसरी व्यक्तिको स्वामित्वमा भएको पानीले गर्दा पाँच सय घरधुरीलाई असर गरेको छ ।

गोदावरी नगरपालिकाका किसानका अनुसार जेठको मध्य समयसम्म खेती गदैैं आएका थिए । तर अहिले २९ गते हुँदासमेत पानीको अभावमा खेती गर्न पाएका छैंनन् । श्रेष्ठले भनिन, ‘समयमा खेती गर्न नपाएर आर्थिक अवस्था नै जटिल भयो । पानी नभएर कसरी खेती गर्नु, बग्ने खोलालाई पनि थुनछेक गर्दा झनै आपत् पर्‍यो ।’

गोदावरी नगरपालिकाको वडा नम्बर २ का सदस्य लक्ष्मी सिलवालले जनप्रतिनिधि भएर किसानको समस्या हल नगरेकाले गाली खानु परेको जानकारी दिइन । भट्ट चलाएर जीविकोपार्जन गरेकाहरु पानीको अभावमा बन्द भएको स्थानीयले बताए ।

गोदावरीका मेयर गजेन्द्र महर्जनले किसानको समस्या हल गर्न व्यक्तिको स्वामित्वमा रहेको पानीको समस्या समाधान गर्ने आश्वासन दिए । एउटा व्यक्तिका कारण समग्र स्थानीयबासिन्दा र किसानलाई समस्या हुन नदिने उनले प्रतिबद्धता जनाए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics