हिउँ चितुवा पाइने देशका मन्त्रीहरु बिस्केकमा

A+ A-

हिउँ चितुवा पाइने १२ देशका मन्त्रीहरुको उच्चस्तरीय बैठक बिहीबार र शुक्रवार किर्गिस्तानको बिस्केकमा हुँदैछ । ‘जिएसएलइपी’ कार्यसमितिको तेस्रो बैठकमा भाग लिन वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत र मन्त्रालयको जैविक विविधता महाशाखा प्रमुख डा.महेश्वर ढकाल मंगलबार किर्गिस्तान प्रस्थान गरेका छन् ।

सन् २०१७ देखि नेपालले हिउँ चितुवा पाईने देशका सदस्यहरुको अध्यक्षता गरिरहेको छ। २०७३ माघ पहिलो साता काठमाडौंमा भएको कार्यसमितिको दोस्रो बैठकले नेपाललाई अध्यक्षको जिम्मेवारी दिएको थियो। बिहीबार र शुक्रबार बिस्केकमा हुने बैठकमा १२ वटै देशका वन, वातावरण र जलवायु परिवर्तनमन्त्री सहभागी हुनेछन्।


बैठकमा हिउँ चितुवा संरक्षण कार्ययोजना सम्बन्धि २०१७ को घोषणा पत्रको कार्यान्वयनको अवस्था, हिउँ चितुवा अध्ययन–अनुसन्धान र संरक्षणसम्बन्धि नयाँ परियोजना तयारी, हिउँ चितुवाको विश्वव्यापी संख्या र अवैध चोरी सिकारबारे बहस हुने सहसचिव ढकालले बताए।


विश्वका १२ देशमा हिउँ चितुवाका २३ भू–दृश्यक्षेत्र पहिचान गरिएकामा तीन वटा नेपालमा पर्छन्। कञ्चनजंघा संरक्षण क्षेत्र, मकालु बरुण, सगरमाथा र लाङटाङ निकुञ्ज तथा गौरीशंकर संरक्षण क्षेत्र समेटिएको पूर्वी ब्लक, मनास्लु संरक्षण क्षेत्र र अन्नपूर्ण संरक्षण क्षेत्र समेटिएको मध्यक्षेत्रको ब्लक र ढोरपाटन सिकार आरक्ष, शे–फोक्सुण्डो, रारा र खप्तड निकुञ्जसहित अपिनाम्पा संरक्षण क्षेत्र समेटिएको पश्चिम ब्लक गरी तीन ब्लकमा हिउँ चितुवा संरक्षणको काम भइरहेको हो।


यी मध्ये पूर्वी ब्लकको कञ्चनजंघाका हिउँ चितुवाको घाँटीमा रेडियो स्याटेलाईट कलर झुण्ड्याएर तिनले विचरण गर्ने क्षेत्र र तिनको आहारलगायतको अवस्थाबारे अध्ययन भइरहेको छ। पुरानो आँकडा अनुसार नेपालमा ३ देखि ५ सयको हाराहारीमा रहेका हिउँ चितुवा विश्वभर ३ देखि करिब ६ हजारको संख्यामा छन्।


१२ देशमा हिउँ चितुवा विचरण गर्ने क्षेत्र (बासस्थान) १७ लाख ७६ हजार वर्गकिलोमिटर छ। नेपालमा संरक्षित सूचीमा रहेको यो सुन्दर र आकर्षक वन्यजन्तु साइटिसको अनुसूची १ मा छ।


डेढ वर्षअघि नेपालमा भएको ‘जिएसएलइपी’ को दोस्रो बैठकले हिमाली क्षेत्रको जैविक विविधता र हिउँ चितुवा अनुसन्धानमा सबै मुलुकले युवा पुस्तालाई सक्रिय बनाउने घोषणा गरेको थियो।


यस्तै, मानव र हिउँ चितुवाबीचको बढ्दो द्वन्द्व न्यून गर्न स्थानीय जनताको जीवनस्तर माथि उठाउने, जिपिकोपार्जन सुधार गर्ने र उनीहरुलाई आयआर्जनका कार्यक्रमसमेत सञ्चालन गर्न हिउँ चितुवा पाइने मुलुक सहमत भएका छन्।


जलवायु परिवर्तनका कारण बासस्थान खल्बलिएपछि तल्लो क्षेत्रका मानव वस्तीमा आएर हिउँ चितुवाले याक, चौरी मार्ने गरेको छ। त्यसबाट स्थानीय बासिन्दा हिउँ चितुवादेखि रुष्ट बन्ने गरेका छन्। हिउँ चितुवाले ती बाहेक झारल, नायन, फ्याउ मुसा, हिमाली बाख्रा र चरासमेत मारेर खान्छ।


हिउँ चितुवा अनुसन्धानका लागि नयाा प्रविधिको विकास गर्ने, हिउँचितुवा संरक्षणका लागि सहयोग आदानप्रदान, संरक्षणका लागि आर्थिक स्रोतको खोज र पहिचान लगायतका मुद्दामा पनि साझेदारी गर्ने निर्णय गरेको छ।


यस्तै, हिउँ चितुवाको अन्तर्राष्टिय व्यापार नियन्त्रणमा अपनाउनुपर्ने साझा रणनीति, तालिमप्राप्त जनशक्ति उत्पादन, वैज्ञानिक अनुगमन पद्दतीमा पनि सँगसँगै काम गर्ने घोषणा भएको छ।



कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics