विमानस्थलकालागि टाउको दुखाई बने जनावर

देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा रहेको त्रिभुवन विमानस्थल जङ्गली जनावरका कारण समस्याग्रस्त बनिरहेको छ । विमानस्थल क्षेत्र एवम् धावन मार्गमा बाँदर, गाई, भुस्याहा कुकुर एवम् चराचुरुङ्गीका कारण विमान उडानमा अवरोध एवम् दुर्घटना समेत निम्तिएका घटना छन् ।

आगमन एवम् प्रस्थान कक्षमा बाँदरहरूले यात्रुलाई चिथोरेका घटनाले समेत विमानस्थल असुरक्षित बन्न पुगेको छ । गत वर्ष अगस्टमा भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउँदा बाँदरको एक हुल नै त्यहाँ देखिएको अवस्थाले सुरक्षा स्थिति निकै फितलो भएको महसुस हुन्छ ।

सन् १९९६ को अक्टोबरमा चरा ठोक्किएर थाई एयर बस दुर्घटना भयो । सन् २००० को अक्टोबरको दोस्रो सातामा ३ वटा भिन्दाभिन्दै घटना भए जसमा धावन मार्गमा गाई, धावन मार्गमै ४ वटा कुकुर तथा चराको ठक्करले क्रमशः शा.ने.वा.नि., भुटान एयरलाइन्स तथा साउथर्न चाइना एयरलाइन्सको विमान उडानमा अवरोध भएको थियो । सन् २००० को अक्टोबरको पहिलो सातामा लाउडा एयरको जहाजमा पनि चरा ठोक्किएर अवरोध आएको थियो । सन् २०१० को सेप्टेम्बरमा चरा ठोक्किएर बंगलादेशको डि.सि.१० जहाजमा क्षति पुर्‍याएको थियो भने सन् २०१२ को सेप्टेम्बरको अन्तिम सातातिर सीता एयरको डोर्नियर जहाजमा चरा ठोक्किँदा उक्त जहाज मनहरा खोलामा दुर्घटना भई १९ जनाको ज्यान गएको थियो ।

त्यसै गरी २०१६ जनवरीको तेस्रो साता धावन मार्गमा ३ वटा कुकुर देखेपछि एयर मलेसिया तथा सोही वर्ष अक्टोबर १५ मा धावन मार्गमा बाख्रा देखेपछि भुटान एयरको विमान उडानमा अवरोध आएको थियो । पछिल्लो समय अप्रिल ३, २०१७ मा एक पाइलटले विमान स्थल क्षेत्रमा चितुवा देखेको सूचना दिएपछि आधी घन्टा विमान स्थल बन्द भएको तथा वन, वन्यजन्तु सम्बद्ध अधिकारीलाई चितुवा खोज्न दिनभरी परिश्रम गर्नुपरेको थियो । विमान स्थलकै कर्मचारीहरू बाघ आएको बारे आफन्तहरूलाई जानकारी गराइरहेका बेला अन्ततः बेलुकाको समय वन बिरालो फेला परेको अपुष्ट खबर आयो । विमानस्थल वरिपरिका मानवबस्ती तथा विमानस्थल भित्रै फोहोर मैलाको व्यवस्थापनमा लापरबाही, मानवीय सचेतनाको कमी एवम् विमानस्थलै नजिक रहेको पशुपतिनाथ क्षेत्रका भण्डारखाल, वनकाली क्षेत्रको वन मासिँदै गएर बाटो निर्माण गर्नु, बाँदर जस्ता प्राणीका लागि प्राकृतिक खानाको अभाव तथा कृत्रिम खानामा निर्भर बन्न बाध्य तुल्याइने जस्ता क्रियाकलापले मानव र वन्यजन्तुबीच द्वन्द्व बढेको देखिन्छ ।

विमानस्थल क्षेत्रमा देखिने बाँदरहरू प्रभातकालीन समयमा नै पशुपतिनाथ तथा आर्मी ब्यारेक क्षेत्रबाट आइपुग्दछन् । कतिपय बाँदरले विमानस्थल क्षेत्रमा नै रात्रिकालीन समय बिताउँछन् । कारणबस बाँदर विमानस्थल क्षेत्र आउन ढिलो भएको छ भने भुस्याहा कुकुर उनीहरूको प्रतीक्षा गरिरहन्छन् ।

कतिपय भुस्याहा कुकुरले नै खाने कुरा भएको स्थान बारे बाँदरहरूलाई सङ्केत गरिरहेका हुन्छन् । यी दुई भिन्न प्राणीहरू सो क्षेत्रमा मिलेर बसेको देख्न सकिन्छ । मानवीय त्रुटिका कारण उत्पन्न समस्यालाई पहिल्यैबाट नियाल्दै आएका यी प्राणीहरूले भिन्न प्रकारको स्वाद लिन बिर्सेका हुँदैनन् । खाएर फालिएका फ्रुटिका बट्टा, नुडल्सका टुक्रा, आइसक्रिम, कफि, चियाको प्लास्टिक गिलास, क्यान, बोतलमा भएका जुस एवम् अन्य पेय पदार्थ, केराका बोक्रा समेत बाँदरले सजिलै फेला पार्दछ र त्यसलाई छरछार गरेपछि कुकुरलाई पनि सजिलो हुन्छ । कहिलेकाहिँ रात्रिकालीन समयमा सो क्षेत्र बिस्कुनभै  खाद्य पदार्थका अवशेषले भरिएको हुन्छ । यही समय छरिएको ठाउँमा बदाम, नुडल्सका टुक्रा, बिस्कुटका टुक्रा टिप्न काग, परेवा तथा भँगेराहरूको पनि आगमन हुन्छ । उता काग, परेवालाई सिकार बनाउनका लागि पल्केका चिल पनि बाटो पर्खिरहेका हुन्छन् । फोहोर एवम् मलिलो माटोको कारण उब्जिएका गँड्यौला घाँसे मैदानमा नै चराको सिकार बन्दछन् कति गँड्यौला धावन मार्गतिर आइपुग्दा घामले तातिएर मर्दछन् अनि यिनीहरूलाई खान अन्य प्राणी देखा पर्दछन् जसले गर्दा एक प्रकारको खाद्य चक्रको सिर्जना हुन्छ ।

उता विमान स्थल नजिकैका गाउँमा चितुवाहरूले विशेष गरी मूलपानी, जोरपाटी क्षेत्र हँदै पशुपतिको मृगस्थलीका मृग, गाउँका भुस्याहा कुकुर, बाख्रा आदिलाई सिकार गर्ने उद्देश्यले रात्रिकालीन समयलाई रोजेको हुन्छ । यी स्थानको बाटो हँुदै आउँदा पुनः गाँउबस्ती कटेर जङ्गल छिर्न नभ्याएर दिउँसो त्यतैका झाडी बुट्यानमा बस्न सुरक्षित ठान्दछन् र मानवीय द्वन्द्वको कारण बन्न पुग्दछन् ।

प्रतिबन्धित विभिन्न चरा, चिम्पाञ्जी, लेमर, मोना जस्ता बाँदर सजिलै विमानस्थल भित्रिन सक्ने त्यसैगरी विमानस्थलबाट विभिन्न चरा, कछुवा जस्ता आखेटोपहार निर्यात् हुँदा टुलुटुलु हेरेर बस्नेहरूका माझ विमानस्थलमा द्वन्द्व निवारणका लागि वैज्ञानिक उपायहरूको अवलम्बन गरिएको देखिँदैन । चरा मार्ने सिकारी, बाँदर धपाउन गुलेली बोकेका सुरक्षाकर्मी तथा बाँदर नियन्त्रण गर्न ईलेक्ट्रिक बार लगाउने एवम् केही ठाउँमा सन्देशमूलक बोर्ड राखेर लाखौँ रकम खर्च गरिरहेको अवस्थामा द्वन्द्व निवारण हुनुको सट्टा अझ बढिरहेको पाइन्छ ।



विमानस्थललाई गम्भिर सुरक्षा चासोको कालो सूचीबाट इकाओले    हटाए लगतै प्राविधिक कारणले ग्क् बङ्गलाको विमान दुर्घटना भएको कारण देखाइरहँदा विमानस्थल अधिकारीले यूएन एभिएसन एजेन्सी को वन्यजन्तु व्यवस्थापनको लागि वन्यजन्तु विज्ञको सुझाव लिनु पर्ने कुरा प्रभावकारी हुन नसकेको तथ्यले वैज्ञानिक व्यवस्थापनका तरिका अवलम्बन गर्न कन्जुस्याईँ देखिएको छ ।

तस्बिरहरु : विश्वनाथ रिजाल



विश्वनाथ रिजाल

प्रतिक्रिया दिनुहोस

web
analytics