रेडपान्डाको हनिमुनमा ‘नाे डिस्टर्ब ‘

A+ A-



सावधान, त्यता नजानुस् । जंगलमा तपाईँलाई निषेध गरिएको छ । किनकि रेडपान्डा जोडीलाई ‘डिस्टर्ब’ हुनसक्छ जो प्रेममा मग्न हुँदै समागममा लीन छ ! यो रेडपान्डाकै समय हो, हनिमुन समय। । लाङटाङ निकुञ्ज, ताप्लेजुङ, ईलाम क्षेत्रमा पाइने रेडपाण्डा र अन्य वन्यजन्तुको सहजताका लागि त्यस्तो कुनै सूचना र बोर्ड त टाँसिएको छैन , तर स्थानीयलाई यहि आशयको सूचना दिइएको छ ।

राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका ईकोलोजिष्ट लक्ष्मण पौडेलका अनुसार जुन जुलाई रेडपाण्डा रेडपाण्डा र अन्य वन्यजन्तुको गर्भाधानको समय हो । अझ रेडपाण्डा लजालु जनावर हो । रेडपाण्डा संवेदनशील जनावर भएकाले असहज अवस्था भयो भने आफ्नो बच्चा छाडेर हिँड्ने स्वभावको हुन्छ ।पौडेका अनुसार मानिसहरूले यो समयमा आफै बुझेर घाँस दाउरा काट्न नजाँदा राम्रो हुन्छ ।

रसुवाको लाङटाङमा लोपोन्मुख रेडपान्डाको रेखदेख र संरक्षणमा सक्रिय स्थानीयकै पहलमा जंगलमा रेडपाण्डा र अन्य जनावरको गर्भाधानको समयका लागि सहज र शान्त वातावरण बनाइएको छ । दुर्लभ वन्यजन्तु रेडपान्डाको प्रजनन यामभर उनीहरूको प्रेमालापमा बिघ्न नहोस् भनेर स्थानीयले दुई महिना आउजाउमा रोक समेत लगाएका छन् ।

बासस्थानलाई चार किल्ला तोकेर निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै दाउरा, घाँस काट्न रोक लगाइएको छ । बासस्थाननजिक गएर होहल्ला गर्न पाइने छैन । घरपालुवा जनावर चराउन पनि बन्देज छ । रेडपाण्डा लगायत अन्य जनावरको प्रजनन अवधिभर स्थानीयले स्वघोषित रूपमा कर्फ्यु घोषणा गरेका छन् ।

रेडपान्डा चोरीसिकारी नियन्त्रण समूहका अध्यक्ष न्वाङ फिन्जो तामाङले प्रजनन अवधिभरि रेडपान्डाको बासस्थान वरपर सम्पूर्ण गतिविधि बन्द गरिएको जानकारी दिए । ‘बस्तुचाउ चराउनेदेखि घाँसदाउरा काट्नेसम्म,’ उनले भने, ‘कतिपय स्थानीयले आफ्ना चौंरीगोठसमेत सारेका छन् ।’ यही समूहले यहाँका स्थानीयलाई प्रजनन अवधि र त्यसका लागि चाहिने एकान्तबारे सचेत गराएको थियो। रेडपान्डाबारे खोज र अनुगमन गर्दै आएको यो संस्थाले आफ्नो नियमित काम पनि बन्द गरेको छ। अध्यक्ष तामाङका अनुसार हालसम्म तीनपटक अनुगमन भइसकेको छ।

रेडपान्डा जब तीन वर्ष पुग्छ, भाले र पोथी समागमका लागि तयार हुन्छन् । भाले लागेको १ सय १२ देखि १ सय ५८ दिनभित्र बच्चा जन्मन्छ ।

विगतमा निकुञ्जका जंगलभरि यत्रतत्र पासो थापिँदा धेरैजसो यही जनावर पर्ने गर्थ्यो। लोपोन्मुख रेडपान्डा झन् सङ्कटग्रस्त हुँदै गएको ठहर गर्दै संरक्षण अभियान थालिएको हो। यसैको परिणाम हो, स्थानीयकै सक्रियतामा नियमित अनुगमन मात्र होइन, प्रजनन क्रियाको समेत हेरविचार हुन थालेको।‘अचेल पहिलेजस्तो जंगलभित्र पासो थापिन्न, बरु जनावरलाई प्रेम गर्ने वातावरण बनाइन्छ,’ तामाङले भने।

संसारभर २ हजार ५ सय रेडपान्डा रहेकामा लाङटाङ राष्ट्रिय निकुञ्जमा मात्र १ सय ५० हाराहारी रहेको अनुमान छ। विदेशमा ‘चम्किलो बिरालो’ समेत भनिने लजालु स्वभावको यो जनावरलाई नेपालमा हाब्रे र पान्डा भनेर पनि चिनिन्छ। १० देखि १५ डिग्री सेल्सियस तापक्रममा बस्ने रेडपान्डा लाङटाङ राष्ट्रिय निकुञ्जमा २ हजार ८ सयदेखि ३ हजार ६ सय १० मिटर उचाइसम्म फेला परेको छ । लाङटाङ निकुञ्जमा डढेलो नियन्त्रण, चोरीसिकारी, पासो राख्ने क्रममा कमी आएपछि यसको संख्या बढेको हुन सक्ने अनुमान गरिएको छ । ८ देखि १० वर्ष आयु हुने यसको शरीर एक मिटरसम्म लामो हुन्छ भने तौल ६ केजीसम्म हुन्छ। यो जनावर नेपाल लगायत भारत, चीन, बर्मा र भुटानमा मात्र पाइन्छ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics