यसरी मनाइदैं छ राष्ट्रिय धान दिवस

मानो रोपेर मुरी उब्जाउने अर्थात असार १५ को समयलाई सदुपयोग गर्दै विभिन्न स्थानमा १५ औँ राष्ट्रिय धान दिवस भव्यताका साथ मनाउन लागिएको छ । धान उत्पादनमा बृद्धि राष्ट्रको समृद्धि नाराका साथ यो बर्ष देशभर भव्यताका साथ धान दिवस मनाइदैंछ ।

यो बर्ष राष्ट्रिय धान दिवसलाई अन्य बर्षजस्तै काठमाडौँमा सिमित गर्नुभन्दा विभिन्न स्थानमा मनाउने निर्णय सरकारले गरेको छ । जसअनुसार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री चक्रपाणी खनालले कपिलवस्तुमा आयोजित हुने धान दिवसमा सहभागिता जनाउने तय भएको छ । पछिल्लो दुई बर्षयता राजधानीमा मनाइने धान दिवस विवादस्पद बन्ने गरेकाले यो बर्ष विभिन्न स्थानमा आयोजना गरिएको हो ।

यसैगरी काठमाडौँको दक्षिणकालीमा मन्त्रालयले धान दिवसको आयोजना गरेको छ । यो स्थानमा कृषि सचिव डा युवकध्वज जिसीले अगुवाई गर्नेछन् । यसैगरी कृषि राज्यमन्त्री रामकुमारी चौधरीले सुनसरीको कार्यक्रमको अगुवाई गर्ने भएकी छिन् । राजधानीमै सदाझैँ यो बर्ष पनि नेपाल कृषि अनुसन्धान परिषद९नार्क० ले खुमलटारमा धान रोपाइको कार्यक्रमको आयोजना गरेको छ । यस बाहेक विभिन्न राजनीतिक दलसम्बद्ध किसान संघसंगठनहरुले पनि विभिन्न स्थानमा असार १५ को आयोजना गरेको छ ।

अन्य दिन कृषिको पक्षमा सशक्त रूपमा वकालत गर्न नसक्ने संस्था र नेताहरूले यो दिनलाई सदुपयोग गरेका छन् । राजधानी र वरिपरीका क्षेत्रमा शुक्रबार सरकारी निकायसहित आधि दर्जन संस्थाले धान रोपेर असार १५ मनाउँदै छन् । चर्को घाममा तप्प तप्प पसिना चुहाउँदै रोपाहार, नेता, कर्मचारी, चलचित्रका कलाकार, नागरिक समाजका अगुवाले यो दिवसमा सहभागिता जनाउँदै छन् । एक दिन मात्रै भएपनि धानलाई सबै क्षेत्रले सम्झिने गरेका छन् ।

असार १५ को अवसरमा च्युरा दही खाएर रोपाहार र सरकारी अधिकारीबीच हिलो छ्याप्दै धान दिवसको आनन्द लिनुका मज्जा नै बेग्लै हुन्छ ।

असार १५ लाई सरकारले प्रत्येक बर्ष राष्ट्रिय धान दिवसको रुपमा मनाउँदै आएको छ । धानलाई नेपालको प्रमुख खाद्यान्नवालीको रूपमा लिइन्छ । सिँचाइ र उन्नत प्रविधिको अभावमा नेपालमा बर्षेनी धानवालीको उत्पादन घट्दै गएको बिज्ञहरुले औँल्याएका छन् । मुलुकभर भव्यताका साथ असार १५ मनाइरहँदा किसानका लागि भने यो दिवसले त्यति छोएको देखिएन । यो वर्ष धान रोप्ने किसानलाई फेरी अकाशे पानीले धोका दिएको छ ।

संयुक्त राष्ट्रसङ्घले सन् २००४ मा पहिलो पटक अन्तर्राष्ट्रिय धान दिवस सम्पन्न गरेको थियो । त्यस वर्षको अन्तर्राष्ट्रिय धान दिवसको नारा ‘धान जीवन हो’ भन्ने राखिएको थियो । त्यसपछि संयुक्त राष्टसङ्घमार्फत अन्तर्राष्ट्रिय धान दिवस मनाउने गरिएको पाइँदैन ।

विश्वमा नेपाल एक त्यस्तो देश हो, जसले संयुक्त राष्ट्रसङ्घबाट निर्णय भएको धान दिवसलाई नै आजसम्म ‘राष्ट्रिय धान दिवस’ को रूपमा मनाउँदै आएको छ । नेपाली समाजमा अहिले पनि एकआपसमा भेट हुनासाथ भात खानुभयो भनेर कुराको थालनी गर्ने गरिन्छ । अर्थात् भात खानु नेपालीको आदत र अनिवार्य अभ्यास भएको छ ।

नेपालमा धान खेतीको लागि १५ हेक्टर जमिन छ । तर अधिकांश क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध नहुँदा किसान अकाशे पानीको भरमा खेती गर्न बाध्य छन् । यो बर्षको असार पहिलो सातासम्म साढे १२ प्रतिशतको हाराहारीमा रोपाई भएको छ । सिँचाइ, मेसिनरी उपकरण, मल, बीउको अभावका कारण बर्षेनी २५ अर्बभन्दा बढी मूल्य बराबरको चामल नेपालमा आयात हुने गर्छ । यो बर्षको पहिलो १० महिनामा मात्रै २४ अर्बभन्दा बढी मूल्यको चामल आयात भइसकेको छ । खासगरी धानको लागि उर्वर भूमि मानिएको तराई क्षेत्रमा बर्षेनी खेतीको समयमा अकाशे पानी नपर्दा उत्पादनमा कमी आउने गरेको छ ।

झापा, मोरंग, सुनसरी, सप्तरी, सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, पर्सा, रौतहठ, बाके, बर्दिया, रुपन्देही, कञ्चनपुरलगायतका जिल्ला धान उत्पादनका लागि उर्वर मानिन्छ ।

संसारको सबैभन्दा उच्च स्थानमा धानखेती हुने ठाँउ नेपालको जुम्ला जिल्लाको छुमचौर हो । त्यहाँ जुम्लीमार्सी धानखेती गरिन्छ । संसारमा कुल जनसङ्ख्यामा आधा अर्थात तीन अर्ब पाँच करोड जनसङ्ख्याको मुख्य खाना चामल हो । एसियाली देशमा मात्रै ९० प्रतिशत भन्दा बढी धान उत्पादन र खपत हुन्छ ।

विश्वमा सबैभन्दा धेरै धान उत्पादन गर्ने १० देश क्रमशः चीन, भारत, इन्डोनेसिया, बङ्गलादेश, भियतनाम, थाइल्यान्ड, म्यानमार, फिलिपिन्स, ब्राजिल र जापान पर्छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics