बस्ने भए भद्र र रुपसी अब सँगैसँगै



चीनको गोन्जाओस्थित चेमलोङ पार्कमा नेपालबाट पुगेका रुपसी र भद्र अब सँगसँगै बस्ने भएका छन् ।

नेपाल सरकारले चीनलाई उपहारमा उपलब्ध गराएको एक जोडि गैँडा रुपसी र भद्र चेमलोङ पार्कमा अबको १५ भित्र नै सँगै बस्ने भएका छन् । नेपाल सरकारले पोथी गैँडाको नाम ‘रुपसी’ र भाले गैँडाको नाम ‘भद्र’ राखिदिएको हो ।नेपालबाट चीन पुगेपछि अहिले ति दुवैलाई छुट्टाछुट्टै बस्ने व्यवस्था मिलाइएको छ ।

नेपाली गैँडाको रेखदेख र चीनियाँ प्रतिनिधिलाई रहन सहन र हेरालुको काम सिकाउन चीन पुगेका वन्यजन्तु प्राविधिक किरण रिजालका अनुसार नेपाली गैँडा अहिले चीनमा रमाइरहेका छन् । रिजालले भने, ‘अबको १५ दिनमा भद्र र रुपसी  सँगै मिलेर बस्नेछ । सँगै राख्ने व्यवस्था गर्दैछौं ।’दुवै सँगसँगै बस्दा आपसमा माया साटासाट गर्ने अवसर पाउनेछन् । यसले गर्दा  दुवै जना सजिलै स्थानीय वातावरणमा रम्न पाउनेछन् ।अनुमानित ९०० किलोको भद्र  खोरियामुहान क्षेत्र चिरानीबाट समातिएका थिए । त्यस्तै एक हजार किलो तौल भएको रुपसी चिरानस्थित सुखीभार क्षेत्रबाट समातिएका थिए । ति दुवैलाई भूमा राखिएको थियो । भद्रको कूल लम्बाई दुई मिटर चार सेन्टिमिटर छ भने रुपसीको लम्बाई दुई मिटर पाँच सेन्टिमिटर छ । गत बैशाखमा समातिएका ति दुवै गैँडा छुट्टा छुट्टै भूमा बस्दै आएका थिए । भद्रको उमेर करिब २ बर्ष पुगेको छ भने रुपसीको उमेर डेढदेखि २ बर्ष पुगेको छ ।

नेपाल सरकारले असार २८ गते रुपसी र भद्रलाई चीनलाई हस्तान्तरण गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले हस्तान्तरणको भेलामा भद्रलाई एक्लै नपठाएर जोडी मिलाएर भद्रको साथ रुपसीलाई पनि सँगै पठाएको जानकारी दिएका थिए ।



उपहार हस्तान्तरणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रुपकी धनी ‘रुपसी’ र नेपाल जस्तै शान्त स्वभावको ‘भद्र’ नामले नेपालको भूगोल कै प्रतिनिधित्व गरेको प्रतिक्रिया दिएका थिए ।

गैँडाको प्रारम्भिक रेखदेख गरी चिनिया टोलीलाई प्रशिक्षणका लागि चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका पाँच जना प्रतिनिधि अहिले चीनमै छन् ।

चीनको पार्कमा पुर्याईएका गैँडासँगै चितवन निकुञ्जका पशु चिकित्सक डा कमल गैरे, राष्ट्रिय प्रकृति संरक्षण कोषका भेटेरिनरी प्राविधिक किरण रिजाल र वन्यजन्तु प्राविधिज्ञ तिर्थ लामा, दिपप्रसाद चौधरी र विनोद दराई चीन पुगेका छन् ।

ठाउँ नौलो भएपनि सुरुमा उनीहरूलाई खानेकुरा नेपालकै दिइएको छ । सुरुमा एकैचोटी चीनको खानेकुरा नखान सक्ने भएकाले यताबाटै खानेकुरा पठाइएको हो । पठाइएको दुध झन्डै एक महिनालाई पुग्छ ।

यस पार्कमा ५०० प्रजातिका वन्यजन्तु र २०० सयवटा वन्यजन्तु रमाएर बसेका छन् । नेपालको गैँडा भद्र र रुपसीको लागि गोन्जाओ स्थित चेमेलोङ सफारी पार्कमा सुन्दर र हरियाली वातावरण्मा विशेष घर बनाइएको छ । सरकारले साउन महिना भित्र नै दोस्रो चरणमा अर्को जोडि गैँडा पनि हस्तान्तरण गर्ने तयारी सुरु गरेको छ ।

नेपालले अहिलेसम्म विभिन्न देशमा २६ गैँडा उपहार दिएको छ । विश्वमै दुर्लभ मानिने एकसिंगे गैँडा नेपाल र भारतमा मात्रै पाइन्छ । नेपालमा पछिल्लो गणनाअनुसार ६४५ वटा गैँडा रहेका छन् । चितवनमा मात्रै ६०५ गैँडा रहेको तथ्याङ्क छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics