असारसम्ममा देशभर ६४ प्रतिशत धानको रोपाइँ

 यसवर्ष असारमा नेपालभर ६४ प्रतिशत रोपाइँ भएको छ । जुन गत आर्थिक वर्ष २०७४/०७५ को भन्दा करिब १० प्रतिशत बढी हो । गतवर्ष साउन २ गतेसम्म ५३।८५ प्रतिशत मात्रै रोपाइँ भएको थियो

सुदूरपश्चिमाञ्चलमा सबैभन्दा बढी अर्थात् ८९।३६ प्रतिशत रोपाइँ भएको छ । उच्चपहाडी जिल्लामा ६३.९५ प्रतिशत रोपाइँ भएको छ भने मध्यपहाडी र तराईका जिल्लामा क्रमशः ६६।९९ र ६३।२ प्रतिशत रोपाइँ सकिएको छ । सो अवधिमा पूर्वाञ्चलमा ४८.७३ प्रतिशत, मध्यमाञ्चलमा ६०।७६ प्रतिशत, पश्चिमाञ्चलमा ७३.४१ प्रतिशत र मध्यपश्चिमाञ्चलमा ६९।२३ प्रतिशत रोपाइँ भएको कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । पूर्वाञ्चलका उच्च पहाडी जिल्ला ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुमा ५१।९४ प्रतिशत रोपाइँ भएको छ भने इलाम, पाँचथर, भोजपुर, तेह्रथुम, धनकुटा, ओखलढुंगा, खोटाङ र उदयपुरजस्ता मध्यपहाडी जिल्लामा ५३.५९ प्रतिशत रोपाइँ सकिएको छ ।

त्यस्तै, पूर्वी तराईका झापा, मोरङ, सुनसरी, सिराहा र सप्तरीमा ४७.२४ प्रतिशत रोपाइँ भएको छ । त्यसैगरी, मध्यमाञ्चलका उच्चपहाडी जिल्ला दोलखा, रसुवा र सिन्धुपाल्चोकमा ४७.५५ प्रतिशत रोपाइँ भएको छ भने मध्यपहाडी जिल्ला रामेछाप, सिन्धुली, नुवाकोट, काभ्रे, मकवानपुर, भक्तपुर, काठमाडौँ, ललितपुर र धादिङमा ६६.७१ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै, तराईका जिल्लामा धनुषा, महोत्तरी, सर्लाही, पर्सा, बारा, रौतहट र चितवनमा ५९.७१ प्रतिशत रोपाइँ भएको छ । पश्चिमाञ्चलका मध्यपहाडी जिल्ला पाल्पा, गोरखा, म्याग्दी, स्याङ्जा, बागलुङ, तनहुँ, लमजुङ, अर्घाखाँची र गुल्मीमा ७३.५० प्रतिशत रोपाइँ भएको छ भने तराई जिल्ला कपिलबस्तु, रुपन्देही र नवलपरासीमा ७३.३५ प्रतिशत रोपाइँ भएको छ । मध्यपश्चिमाञ्चका उच्चपहाडी जिल्ला जुम्ला, कालिकोट, मुगु, डोल्पा र हुम्लामा ९३.७७ प्रतिशत रोपाइँ भएको छ भने मध्यपहाडी जिल्ला सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा र प्युठानमा ६९.६९ प्रतिशत रोपाइँ भएको छ । त्यस्तै, तराई जिल्ला बाँके, बर्दिया र दाङमा ६७।६५ प्रतिशत रोपाइँ भएको छ । सुदूरपश्चिमाञ्चलका उच्च पहाडी जिल्ला बझाङ, बाजुरा र दार्चुलामा ८३।६५ प्रतिशत, मध्य पहाडी जिल्ला डडेलधुरा, डोटी, बैतडी र अछाममा ७४ प्रतिशत र तराई जिल्ला कैलाली र कञ्चनपुरमा ९५.३७ प्रतिशत रोपाइँ भएको छ ।

असार मध्यसम्ममा नेपालभर कुल २२.७ प्रतिशतमात्रै रोपाइँ भएको थियो । उच्च पहाडमा सबैभन्दा बढी ३८.२१ प्रतिशत, मध्यपहाडमा २९.९ प्रतिशत र तराईमा १८.६५ प्रतिशत रोपाइँ भएको थियो भने असार १८ गतेसम्मको तथ्याङ्कअनुसार मध्यपश्चिमाञ्चलको उच्चपहाडमा सबैभन्दा बढी ८०।२२ प्रतिशत रोपाइ भएको थियो भने सुदूरपश्चिमाञ्चलको उच्च पहाडमा ५६.५५ प्रतिशत, मध्यमाञ्चलको उच्च पहाडमा २५.४० प्रतिशत, पूर्वाञ्चलको उच्च पहाडमा १९.७१ प्रतिशत रोपाइ भएको थियो । जसअन्तर्गत सुदूपश्चिमाञ्चलमा सबैभन्दा बढी ५०.२१ प्रतिशत रोपाइ भएको थियो भने मध्यपश्चिमाञ्चलमा २९.७२ प्रतिशत, पश्चिमाञ्चलमा २४.८४ प्रतिशत, मध्यमाञ्चलमा ११.६६ प्रतिशत, पूर्वाञ्चलमा १६.१९ प्रतिशत रोपाइ भएको थियो । पूर्वाञ्चलको मध्यपहाडमा १९.७१ प्रतिशत, मध्यमाञ्चलको मध्यपहाडमा २३.९६ प्रतिशत, पश्चिमाञ्चलको मध्यपहाडमा २६.७६ प्रतिशत, मध्यपश्चिमाञ्चलको मध्यपहाडमा ३९.७६ प्रतिशत, सुदूरपश्चिमाञ्चलको मध्यपहाडमा ३६.८६ प्रतिशत रोपाइ भएको थियो । पूर्वाञ्चलको तराईमा १२.६१ प्रतिशत, मध्यमाञ्चलको तराईमा ७.३८ प्रतिशत, पश्चिमाञ्चलको तराईमा २३।५४ प्रतिशत, मध्यपश्चिमको तराईमा २३.९ प्रतिशत र सुुदूरपश्चिमको तराईमा ५४.३ प्रतिशत रोपाइ भएको थियो । नेपालमा कुल १५ लाख ५२ हजार ४ सय ६९ हेक्टरमा धान खेती हुने गरेको छ ।

गतवर्ष असार १३ गतेसम्म ९ प्रतिशतमात्र रोपाइ भएको थियो । अघिल्लो वर्ष सोही अवधिमा १८.४१ प्रतिशत रोपाइ भएको थियो । गतवर्ष सोही अवधिमा तराईको धान हुने क्षेत्रफल १० लाख ७२ हजार सात सय ५६ हेक्टरमध्ये ४.५७ प्रतिशतका दरले ४८ हजार नौं सय ७९ हेक्टरमा रोपाइ भएको थियो भने उच्च पहाडी क्षेत्रको धानको क्षेत्रफल ६३ हजार ६ सय ५१ हेक्टरमध्ये २१.१६ प्रतिशतका दरले १३ हजार चार सय ६५ हेक्टरमा धान रोपाइ भएको थियो ।

गतवर्ष प्रतिकूल मौसमका कारण अघिल्लो वर्षको तुलनामा धान उत्पादन १.५ प्रतिशतले घटेर ५१ लाख ५२ हजार मेट्रिकटनमा खुम्चिन पुगेको थियो तर उत्पादकत्व भने ४।१ प्रतिशतले वृद्धि भई प्रतिहेक्टर ३।५ मेट्रिकटन पुगेको थियो । अघिल्लो वर्ष अर्थात् आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी ५२ लाख ३० हजार मेट्रिकटन उत्पादन भएको थियो । कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेलका अनुसार खेतीयोग्य कुल क्षेत्रफलको ४७.५ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ । क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशतभन्दा बढी छ । मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा धानखेती गरिन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics