चितवनमा ५७ वटा वन्यजन्तु मरे



चितवन राष्ट्रिय निकुञ्ज सहित वरिपरीका क्षेत्रमा गत आर्थिक बर्षमा ५७ वटा वन्यजन्तु मरेका छन् । गत आर्थिक वर्ष २०७४/७५ मा चितवन राष्ट्रिय निकुञ्ज र वरिपरिका क्षेत्रमा गरी यो संख्यामा वन्यजन्तु मरेका हुन् ।

निकुञ्जका अनुसार वन्यजन्तुहरू एक अर्कासँग जुधेर, बच्चा जन्माउन नसकेर, चोटपटक लागेर र अन्य विभिन्न कारणले गर्दा वन्यजन्तुको मृत्यु भएको हो ।

गत आर्थिक वर्ष २०७४/७५ मा २६ वटा गैँडा मरेका छन् । यसमध्ये १२ वटा भाले, १० वटा पोथी र भाले पोथी छुट्टिन नसकेको ४ वटा गैँडा मरेका छन् ।

साउनमा आएको बाढीको कारण र दलदलमा खुट्टा भाँसिएर पनि चार वटा गैँडा मरेका थिए । त्यस्तै ६ वटा बाघ, ४ वटा अर्ना , १ वटा चितुवा र केही अन्य वन्यजन्तु २० वटा मरेका छन् ।

बाघ एक अर्कासँग जुधेर र उमेर पुगेका बुढा बाघहरू मरेका छन् । त्यस्तै चितुवा चोटपटक लागेर मरेको निकुञ्जले जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले गत वर्षको बाढीको भेलमा गैँडा बाहेक अन्य वन्यजन्तुको क्षतिको विवरण आउन नसकेको जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष २०७३/ ७४ मा ४७ वटा वन्यजन्तु मरेका थिए । गत आर्थिक वर्ष र अघिल्लो आर्थिक वर्षमा यो निकुञ्जमा सबैभन्दा धेरै मर्नेमा गैँडाको संख्या भेटिएको छ । वन्यजन्तु विज्ञ डा. नरेश सुवेदीका अनुसार पछिल्लो १५ वर्षको तथ्याँकलाई विश्लेषण गर्दा प्राकृतिक कारणले गर्दा ठूलो संख्यामा गैँडा मरेका छन्  । 'यसरी प्राकृतिक रूपमा गैँडा मर्नुलाई सामान्य रूपमा लिइन्छ,' वन्यजन्तु विज्ञ सुवेदीले भने, 'तर पनि यसरी हरेक वर्ष प्राकृतिक रूपमा यति धेरै गैँडा मर्दै जाने बिषयमा थप अध्ययन अनुसन्धान आवश्यक देखिएको छ ।'

पछिल्ला तीन आर्थिक बर्षहरूमा मात्रै ६६ वटा गैँडा मरेका छन् । चितवन राष्ट्रिय निकुञ्जको पछिल्लो गणनाअनुसार ६०५ वटा गैँडा छन् । अहिले गैँडाको संख्या बढेर ७०० को हाराहारीमा पुगेको अनुमान गरिएको छ ।

 

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics