एक बर्षमै सडक दुर्घटनाबाट २५ सय सर्वसाधारणको मृत्यु

 गत आर्थिक बर्षमा नेपालभर गरी सडक दुर्घटनामा परी अढाई हजार सर्वसाधारणको ज्यान गएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाकाअनुसार गत आर्थिक वर्ष २०७४/७५ मा सवारी दुर्घटनामा परी २ हजार ५ सय ४१ जनाको ज्यान गएको हो ।

यो अवधीमा देशभर १० हजार ९ सय ६५ वटा सडक दुर्घटना भएको थियो । यही सडक दुर्घटनामा परी सर्वसाधारणले अनाहकमा ज्यान गुमाएका हुन् । महाशाखाका अनुसार सडक दुर्घटनामा मृत्यु हुनेमा पुरुषको संख्या अत्याधिक छ ।गत आर्थिक वर्षमा सडक दुर्घटनामा परी एक हजार आठ सय ७४ पुरुषको ज्यान गएको छ । यसै गरी सडक दुर्घटनामा परी ४ सय ७ महिला, १ सय ७० बालक र ९१ बालिकाको ज्यान गएको छ  । सवारी दुर्घटनाका कारण ४ हजार १ सय ४४ जना गम्भिर प्रकृतिको घाइते भएका थिए । यस्तै ८ हजार २ सय ४७ जना सामान्य घाइते भएका थिए ।

सडक दुर्घटनामा परी सर्वसाधारण मानिस बाहेक एक सय ५५ वटा चौपायाको मुत्यु भएको थियो भने ६१ वटा चौपाया घाइते भएका थिए ।

ट्राफ्रिक प्रवक्ता एसएसपि शैलस थापा क्षेत्रीका अनुसार जनचेतनामा कमी, सडकमा तिव्र गतिमा कुदाउने लहड, खाल्टाखुल्टी सडक, ट्राफिक सूचना नमान्ने, मौसमको अनुकूलता, सवारी चालक मैत्री सडकको अभाव, चालकको लापरवाहीजस्ता कारणले अत्याधिक मात्रामा सडक दुर्घटना निम्तिने गरेको छ । ‘सडक दुर्घटनामा हुने कानुनी सजाय पनि निक्कै कम भएकाले चालकहरु यस्ता दुर्घटना गराएर उम्किने र पटक पटक दुर्घटनामा सहभागी हुने भेटिएको छ,’ एसएसपि थापाक्षेत्रीले भने,‘सडक दुर्घटना रोक्न कानुन पनि कडा बनाउनुपर्छ र यसलाई कडाईका साथ नियमन पनि गर्नुपर्छ ।’

ट्राफिकको तथ्याङ्कअनुसार बर्षेनी १६ देखी १८ लाख सम्मलाई कारवाही भइरहेको छ । सडक दुर्घटना नियन्त्रणका लागि प्रविधि मैत्री र सवारी यातायात ऐनअन्र्तगत सजाय बढाउनु पर्ने उनको सुझाव छ ।

हरेक वर्ष सडक दुर्घटनाबाट अकालमा ज्यान जाने नेपालीको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ । एक साता अघिमात्र सडक दुर्घटनामा परी एकै परिवारको तीनजना सदस्यको मुत्यु भएको कहाली लाग्दो अवस्था छ । सडक दुर्घटनाका कारण धेरै नेपाली परिवारको बिछोड र कहालीलाग्दो अवस्था सिर्जना भएको छ । सडक दुर्घटना सम्बन्धी जनचेतना फैलाउने र यसको नियन्त्रणको सरकारी तहबाट उच्चतम प्रयास हुन अति आवश्यक देखिएको छ ।

सबैभन्दा बढी पथलैयामा
गत् आर्थिक वर्षमा सबैभन्दा धेरै सवारी दुर्घटना हुने स्थानमा पथलैया परेको छ । त्यो बर्षमा पथलैयामा मात्रै सात सय १९ जना सडक दुर्घटनाबाट ज्यान गुमाएका थिए ।पथलैयापछि दोस्रोमा अत्याधिक सडक दुर्घटना भएको स्थानमा बुटवल परेको छ । बुटवलमा ६ सय २८ जना सर्वसाधारणले ज्यान गुमाएका छन् । यस्तै इटहरीमा ५ सय ६९, कोहलपुरमा २ सय ६५, काठमाडौँमा १ सय ९४ र अत्तरियामा एक सय ६६ जनाको ज्यान गएको छ।

दुर्घटनामा साढे १८ हजार सबारी क्षतिग्रस्त
सडक दुर्घटनामा परी १८ हजार ३५ वटा सबारी साधन क्षतिग्रस्त भएको छ। यसमध्ये पनि मालवाहक ट्रकको सङ्ख्या अत्याधिक भेटिएको छ । गत् आर्थिक वर्षमा ट्रकको कारण दुई हजार ४ सय ३० वटा हलुका सवारी साधन दुर्घटनामा परेका थिए ।

त्यस्तै सडक दुर्घटनामा दोस्रो नम्बरमा यात्रुवाहक बस परेका छन् । २ हजार ५ को सङ्ख्यामा यात्रुवाहक बस सवारी दुर्घटनामा परेका छन् । यसपछि जिप र कार ५ हजार २ सय १२, ३७ टेम्पो र ६ हजार ८ सय ७४ वटा मोटर साइकल दुर्घटनामा परेका थिए । यस्तै ठेलागाडा र रिक्सा ५ सय ६३ वटा पनि सडक दुर्घटनामा परेका छ।

डब्लुएचओ भन्छ, प्रत्येक बर्ष साढे १२ लाखको मृत्यु

डब्लुएचओको पछिल्लो प्रतिवेदनअनुसार बर्षेनी विश्वभर सडक दुर्घटनामा परी १२ लाख ५० हजार (१.२५ मिलियन) सर्वसाधारणको ज्यान गइरहेको छ । सन् २०१५ को प्रतिवेदनलाई आधार मान्दा प्रत्येक वर्ष यो सङ्ख्यामा सर्वसाधारणको ज्यान जाने गरेको हो । यसको ९० प्रतिशत मध्यम तथा निम्न आयस्रोत भएका मुलुकका सर्वसाधारण दुर्घटनामा पर्ने गरेका छन् । जहाँ विश्वको ५४ प्रतिशत सवारी साधन गुड्ने गरेको छ ।सडक दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या बढी हुने मुलुकमा भारत पहिलो नम्बरमा आउँछ भने चीन, अमेरिका, रसिया र ब्राजिल क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौँ नम्बरमा आउँछ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics