गैंडा तस्करको गोप्य कोठा

A+ A-

गैंडालाई चार वर्ष’ गैंडासम्बन्धी कमलजङ्ग कुँवरद्धारा लिखित पुस्तक हो । यो पुस्तक वि.सं २०६६ साउन महिनामा ‘चित्रबहादुर कुँवर स्मृति गैँडा संरक्षण प्रतिष्ठान’ ले प्रकाशनगरी बजारमा ल्याएको थियो । यो पुस्तक हामीले प्रत्येक शनिबार नेचर खबरअनलाइनबाट प्रकाशित गर्दै आइरहेका छौँ । पढौँ पुस्तकको ५६औं अंश -

पेम्बा लामा भन्ने याक्चे पक्राउ परेपछि उसले आफू यार्सागुम्बाको समेत व्यापारी भएको कुरा खोल्यो। केही वर्षपहिले डोल्पामा छ करोड बराबरको यार्सागुम्बा माओवादीहरुले जफत गरेको समाचार आएको थियो। सोधपुछका क्रममा याक्चेले त्यसको पुष्टि गरेको थियो।

साथै यार्सागुम्बा छुटाउने क्रममा माओवादीका नेता प्रचण्ड र बाबुराम भट्टराईसँग पटक–पटक वार्ता भएको र त्यसै सिलसिलामा दिल्लीमा समेत पुगेर उनीहरुसँग कुरा गरेको मलाई बताएको थियो। पछि उसको सल्लाहकारका रुपमा काम गर्ने पत्रकार नारायण दाहालले पनि उसलाई भरतपुर कारागारबाट काठमाडौँ लैजान आएका बेला मसँग कुराकानी हुँदा ‘प्रचण्ड र बाबुरामसँग याक्चेको दिल्ली वार्तामा म पनि सँगै थिएँ’ भन्ने दाबी गरेको थियो। माओवादीसँग याक्चेको  निकटताकै कारण याक्चेलाई पक्राउ गर्ने टिमको संयोजक भएकाले पार्टी कार्यकर्ता मविरूद्ध खनिएका थिए।

याक्चे र उसका मान्छेले प्रशासनलाई पनि सजिलै प्रयोग गर्थे। एक दिन चितवनका सीडीओ नरेन्द्रराज पौडेलका पीएले फोन गरेर मलाई सीडीओले तुरून्तै बोलाएको जनाउ दिए। म पुगेपछि उनले चिया मगाए र नारायणलाई बोलाए। नारायणले मलाई हप्काउँला जस्तो गरेर भन्न थाल्यो– ‘तपाईंहरुले के गरेको यार, मान्छेलाई त्यसरी जबर्जस्ती फसाउने? उसलाई म धेरै वर्षदेखि चिन्छु; ऊ त्यस्तो मान्छे नै होइन।’

मैले जबाफ दिएँ– ‘हामीले सप्रमाण भेटेका छौँ। उसले बीस वटा खाग बेचेको पत्रकारसामु पनि स्वीकार गरेको छ। उसका विरूद्ध  पाँच वटा मुद्दा दायर भैसकेका छन्। हाम्रो रेकर्डमा उसले एक सय वटाभन्दा बढी खाग बेचेको छ। कसरी ऊ निर्दोष हुन्छ?’

तर उसले चर्को–चर्को कुरा गर्न थाल्यो। भनाभन भयो। अनि सीडीओले ‘तपाईंहरु    दुवै  जना भित्र गएर कुरा गर्नुस्’ भने।

हामी उनको गोप्य कोठामा गयौँ। मैले उसलाई भनिदिएँ– ‘याक्चेकी श्रीमती फिन्जोविरूद्धपनि प्रमाण छ। ऊ त्यति बेला सात महिनाकी गर्भवती प्रमाण छे भनेर याक्चेले भनेकाले हामीले मानवीयता देखाएर मात्र उसलाई नपक्रेको हो।’

त्यसपछि ऊ हच्क्यो। अनि ‘तपाईंले चाहनुभयो भने पक्रिहाल्नुहुन्छ’ भन्दै ‘याक्चे कलेजोको बिरामी छ; यी उसका डाक्टरका प्रेस्क्रिप्सन, उसलाई उपचार गर्न धरौटीमा छाड्नुपर्‍यो, नत्र ऊ मर्छ’ भनेर जिद्दी गर्न थाल्यो। मैले ‘त्यो हेर्ने काम कारागार व्यवस्थापनको हो र बिरामी भए उपचार गर्ने, औषधि दिने र रेफर गर्ने काम डाक्टरको हो’ भनेपछि ऊ ‘तपाईंहरु उसको ज्यान लिने?’ भनेर चर्किन थाल्यो र सीडीओलाई पनि कोठामा बोलायो।

सीडीओ आएर ‘तपाईंहरु मान्छेपनि पक्रने, पैसा पनि खाने’ भनेर मान्छे हप्काउन थाले। क्या फसाद, एउटा मैले याक्चेलाई जबर्जस्ती फसाएको आरोप लगाउँदै थियो त अर्को उसैबाट पैसा खाइस् भनेर हप्काउँदै थियो! मैले भनेँ– ‘हामीले एक पैसा खाएका छैनौँ। उसबाट बरामद रकम मुचुल्का उठाएर धरौटीमा राखेका छौँ। याक्चेलाई नै गएर सोध्नुस्, पक्राउ पर्दा कति  पैसा थियो ऊसँग। उसले भनेको र मुचुल्कामा लेखिएको पैसा फरक पर्‍यो भने म त्यो पक्रन जाने रेन्जरलाई कारबाही गर्न तपाईंलाई बुझाउँछु।’

त्यसपछि सीडीओले जेलरलाई बोलाउन पठाए। जेलर पनि आइपुग्नासाथ बडो कड्केर ‘बिरामी छ; काठमाडौँ पठाउनुपर्छ’ भन्दै च्याँठ्ठिन थाल्यो। उनीहरु बीच सल्लाह भइसकेको रहेछ। तीनै जनाको संयुक्त दबाबका बावजुद मैले याक्चेलाई उपचारका लागि धरौटीमा छाड्ने वा काठमाडौँमा सार्न सहमति दिने कुरा आफूबाट हुन सक्दैन भनेँ। अनि सीडीओ आफैँ काठमाडौँ गएर केन्द्रीय जेलमा राख्ने व्यवस्था मिलाएर आए। पछि भेट  हुँदा पो उनले भेद खोले– ‘याक्चेकी श्रीमती र मेरी श्रीमती त सैनी (मितिनी) हुन्; मैले त यो काम जसरी पनि गर्नैपथ्र्यो नि।’

माओवादीका अध्यक्ष प्रचण्ड केही समय कालु  मनाङेकाे ठमेलस्थित होटलमा बसेको समाचार २०६३ कात्तिक १९ गतेको कान्तिपुर दैनिकमा छापिएको थियो। माओवादीका अन्य केन्द्रीय नेता पनि त्यहाँ बस्ने गरेका रहेछन्। प्रचण्डचाहिँ केही समयपछि त्यहाँबाट नयाँबजार सरेका थिए। कालु  मनाङे को हो? लागू पदार्थ, सुन तस्करी लगायतका अवैध धन्दामा संलग्न कालु  मनाङे खुँखार खाग तस्कर पनि हो। सुन तस्करीमा जिल्ला अदालत, काठमाडौँमा मुद्दा चलेर जेल पर्नुका साथै जरिवाना समेत बुझाएको थियो। उसका विरूद्ध चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा २०६३ फागुन २७ गते गैँडाको खाग तस्करी गरेको आरोपमा मुद्दा दायर भएको छ।

कालु मनाङे र याक्चे जस्ता तस्करहरुबाट  हैसियत हेरी महँगा गाडी, मोटरसाइकल, फ्रिज, टीभीदेखि मोटो आर्थिक सहयोग र उम्दा खानपिनसम्मको व्यवस्था गरिने भएकाले माओवादी पार्टीमा केन्द्रदेखि जिल्लासम्म उनीहरुको प्रभाव निकै राम्रो छ। चितवनमै पनि एक माओवादी कार्यकर्ता ओम प्रकाश वाग्ले गैँडाको खाग तथा बाघको छाला दलाल तिलबहादुर गुरूद्धलाई छुटाउनज्यान छाडेर लागेका थिए र अन्ततः विभिन्न हथकन्डा अपनाएर धरौटीमा रिहा गराउन सफल भएका थिए। माओवादीका अर्का कार्यकर्ता रामचन्द्र अधिकारी पनि तस्करहरुतस्करहरुा तर्फबाट हामीविरूङ कम खनिएनन्। उनैले हामी थुनिएका बेला जिल्ला न्यायाधीश हरिकुमार पोखरेलकहाँ गएर ‘कमलजङ्ग  कुँवरलाई धरौटीमा छाडे गोली हानी हत्या गरिदिने’ सम्म भनेर धम्क्याएका
थिए।

तस्करको भाषा, व्यवहार र स्वार्थसँग माओवादी कार्यकर्ताहरुको भाषा, व्यवहार र स्वार्थ मिल्नु र तस्करविरोधीहरु लाई माओवादीले आफ्नो पनि दुस्मन ठान्नुले वन्यजन्तु तस्कर र माओवादीबीच साँठगाँठ रहेको स्पष्ट हुन्छ। तस्करहरुलाई खुसी पार्ने हिसाबले नै रामचन्द्र लगायतका माओवादी कार्यकर्ताहरु  म चितवनमा सरूवा भएर आउनुभन्दा पाँच महिनाअघि चितवन, कोराकमा सेनाले केही माओवादी कार्यकर्ता मारेको घटनालाई पनि मैले नै गराएको भन्ने आरोपसमेत लगाएर  म विरूद्ध खनिएका थिए।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics