सोल्टी र मितिनी काठमाडौँ आउँदै

चीन सरकारलाई उपहारस्वरुप प्रदान गर्न लागिएका गैँडा मंगलबार चितवनबाट काठमाडौँ ल्याइँदै छ । मितिनीलाई नामका गैँडालाई गत वैशाखमै नियन्त्रणमा लिइएको थियो । सोल्टी गतवर्षको बाढीमा बगेपछि नवलपरासीको त्रिवेणीबाट उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको थियो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सोल्टी र मितिनी बिहिबार चीन उड्ने छन्  ।

गैँडालाई बाटोभरि खान दिनका लागि घाँस, बन्दा, स्याउ, केरा र दूध ट्रकमा राख्ने व्यवस्था गरिएको छ ।

गैँडालाई चितवनबाट ल्याएर राष्ट्रिय प्रकृति संरक्षण कोष खुमलटारमा राखिने छ ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार चितवनबाट गैँडा काठमाडौँ ल्याउनका लागि चीनबाट आएका २ प्राविधिक सहित ३० जना  टोली खटिएको छ ।उनले भने ,“आज बेलुका ५ बजे सम्म गैंडालाई चितवनबाट काठमाडौं पठाउन तयारी भइरहेको छ । ”

गैँडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई सिकाउनका लागि केही समय राष्ट्रिय प्राकृतिक संरक्षण कोषका डा .अमिर सडौंला, चितवन राष्ट्रिय निकुञ्जको प्राविधिक पुरुषोत्तम पाण्डे ,हरकेमान लामा, ओम चौधरी र रमेश दराई पनि चीन जाने छन् ।

उपहार स्वरूप चीनमा पठाउनका लागि  दुई जोडी  गैँडालाई गत वैशाखमै नियन्त्रणमा लिएर भूमा राखिएको थियो ।

यस भन्दा अघि गत असार २८ गते प्रधानमन्त्री के.पी शर्मा ओलीले भद्र र रुपसी नामक एक जोडि गैँडा चीनलाई हस्तान्तरण गरेका थिए ।

२०७३ सालमा पहिलो पटक प्रधानमन्त्री भएको समयमा ओली नेतृत्वको सरकारले २ वटा भाले र २ वटा पोथी गैँडा चीनलाई उपहारस्वरुप दिने निर्णय गरेको थियो ।
सोल्टी र मितिनी चीनको सांघाइ पार्कमा बस्ने छन् । यस अघि चीन पुगेका भद्र र रुपसीलाई गोन्जाओ स्थित चेमेलोङ सफारी पार्कमा रमाइरहेका छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics