जब ‘सोल्टी’ र ‘मितिनी’ ले पहिलो पटक देखादेख गरे

 सोल्टी र मितिनी नाम गरेको एक जोडी गैँडा पहिलो पटक चीनियाँ भूमिमा एक अर्कालाई नजिकबाट देखादेख गर्न पाएका छन् । देखादेख मात्रै होइन, परदेशी भूमिमा एक अर्कासँग चिनजान पनि गरेका छन् ।

नेपालले पछिल्लो पटक पुनः दोस्रो चरणमा एक जोडी गैँडा चीनलाई उपहारमा पठाएको हो । एक जोडी सोल्टी र मितिनीको नामक गैँडा पहिलो पटक चीनमा पुगेर एक अर्कासँग घुलमिल गरेका छन् ।

पशु प्राविधिक पुरुषोतम पाण्डेले सोल्टी र मितिनी दुबै फरक फरक खोरमा भएकाले एक अर्कासँग  चीनियाँ भूमिमा नै पहिलो देखादेख भएको  जानकारी दिए । सोल्टी र मितिनी शुत्रबार साँझ साढे आठ बजे काठमाडौँबाट चीनका लागि उडेका थिए ।

 



टाइफ़ूनका कारण तोकिएको समय भन्दा एक दिन ढिलो शनिबार बिहान ४ बजे एयरपोर्टमा अवतरण भएको उनीहरूलाई चीनियाँ समय दिउसो सवा तीन बजे संघाईको वाइल्ड एनिमल पार्कमा उतारिएको थियो ।

चीन पुगेका सोल्टी र मितिनीलाई अबको ३० दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको छ । ३० दिनसम्म उक्त पार्कमा क्वारेन्टाइन हाउसमा अरू जनावर भन्दा फरक ठाउँमा राखिनेछ ।

उनीहरूलाई नेपालमा जस्तै एकै स्थानमा फरक फरक खोरमा राख्ने व्यवस्था गरिएको छ । चीन पुगेका पशु प्राविधिक पुरुषोत्तम पाण्डेले अहिले नै सोल्टी र मितिनीलाई सँगै राख्न नमिल्ने नेचर खबरलाई जानकारी दिए । अबको केही समयपछि मात्रै सँगै राख्ने व्यवस्था गर्न लागिएको उनले बताए ।



उपहार स्वरूप चीन पुगेको सोल्टी र मितिनी २ वर्ष मुनिको उमेरका छन् । गैँडालाई गत वैशाखमै नियन्त्रणमा लिएर बूमामा राखिएको थियो ।

गैँडाको रेखदेख र चिनियाँ प्रतिनिधिलाई सिकाउन केही समय अघि राष्ट्रिय प्रकृति संरक्षण  कोषका पशु चिकित्सक अमिर सडौंला , चितवन राष्ट्रिय निकुञ्जका पशु प्राविधिक पुरुषोत्तम पाण्डे, केयर टेकरहरु हर्कमान लामा, ओम चौधरी र रमेश दराई पनि चीन पुगेका छन् ।

२०७३ सालमा पहिलो पटक प्रधानमन्त्री भएको समयमा ओली नेतृत्वको सरकारले २ वटा भाले र २ वटा पोथी गैँडा चीनलाई उपहारस्वरुप दिने निर्णय गरेको थियो । यस अघि गत असार २८ गते प्रधानमन्त्री के.पी शर्मा ओलीले भद्र र रुपसी नामका एक जोडी गैँडा चीनलाई हस्तान्तरण गरेका थिए । यस अघि चीन पुगेका भद्र र रुपसी गोन्जाओ स्थित चेमेलोङ सफारी पार्कमा रमाइरहेका छन् ।

 

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics