अर्नाको वंश विस्तार अघि बढ्दै

Arna

कोशीटप्पु वन्यजन्तु आरक्षबाट यो वर्ष १३ ओटा अर्ना (भाले ३ र पोथी १०) स्थानान्तरण गरिएको छ ।

कोशीटप्पु वन्यजन्तु आरक्षबाट १२ वटा चितवनमा र एउटा सदर चिडियाखानामा अर्ना सारिएको हो । सदर चिडियाखानाका भेटरीनरी डा.गणेश कोइरालाका अनुसार चिडियाखानामा साँढे २ वर्षको भाले अर्ना ल्याइएको छ ।
चितवन राष्ट्रिय निकुन्जमा १५ वटा अर्ना रहेका छन् । जसमध्ये १२ वटा पोथी छन् भने ३ वटा भाले छन् । यस अघि चिडियाखाना बाट २ पोथी र एउटा भाले पनि चितवन निकुन्जमा लगिएको थियो । चिडियाखानामा अहिले ४ ओटा अर्ना (३ पोथी र १ भाले) रहेका छन् ।
नेपाल सरकारको २०७१ सालमा गरिएको निर्णय स्वीकृत कार्यक्रम अन्तर्गत अर्ना स्थानन्तरण गरिएको हो ।
लोप भएको झण्डै आधा शताब्दीपछि चितवनमा जङ्गली भैंसी (अर्ना) देखिएका छन् । १९५०को दशकमा चितवनमा पनि अर्ना अस्तित्वमा रहेको अध्ययनले देखाए पनि पछिल्लो समयमा नेपालको कोसी टप्पुमा मात्र अर्ना पाइने गरेको छ । करिब ६० वर्षभन्दा पहिले अस्तित्वमा रहेको र हाल पुन–स्थापना गरिएकाले अर्ना स्थानान्तरण कार्यलाई ‘अर्ना पुन स्थापना कार्य’ भनेर विभागले घोषणा गरेको छ ।

पहिलो पटक माघ १३ गते एक जोडी अर्ना चितवनमा स्थानान्तरण गरिएको थियो । कोशिटप्पु आरक्षक प्रमुख संरक्षण अधिकृत श्याम शाहका अनुसार एकपटकमा एक÷ दुईओटा गरेर ८ पटकमा अर्ना चितवनमा लगिएको थियो । शाहले भने ‘स्थानान्तरण भएका अर्नाहरु १ वर्ष देखी ७ वर्षसम्मका रहेका छन् ।’ स्थानान्तरण गरिएका अर्नालाई निकुञ्जको पूर्वी सेक्टरस्थित पदमपुरमा निर्माण गरिएको ‘इन्क्लोजर’मा राखिएको छ ।
निकुञ्जको पुर्वी सेक्टर स्थित पदमपुर ब्लकमा ३० हेक्टर जमिन छुट्याएर ‘ईनक्लोजर’ (सुरक्षित विशेष क्षेत्र) यस अघि नै तयार पारिएको थियो । निकुञ्जले पानीका श्रोत, ताल, घाँसे मैदान लगायत आवश्यक सबै व्यवस्थापन गरेर ‘ईनक्लोजर’ तयार पारेको हो ।

निकुञ्जमा ल्याइएका अर्नाले मानवीय क्षती नपुर्याओस भनेर केही समय इन्क्लोजरमा राख्न लागिएको हो । कुनै वन्यजन्तु एउटै वासस्थानमा रहँदा विपद् वा माहामारीमा कारण वंश विनाश हुन सक्ने भएकाले तिनको पुस्ता संरक्षणका लागि तिनिहरुलाई अन्यत्र पनि फैलाउन लागिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा सुचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार अहिले अर्नाहरु इन्क्लोजरको घासे मैदान र पोखरीमा रमाइरहेका छन् । अर्ना घाँसे मैदान, स्वच्छ पानी र दलदले भूमिमा बस्न रुचाउँछ ।
चितवनमा अर्ना स्थानान्तरण गर्नका लागि पशु चिकित्सक, वन्यजन्तु प्रविधिक, हत्तिसार, राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता सरक्षण केन्द्र ,डब्लु डब्लु एफ नेपाल हरियो वन, जुलोजिकल सोसाइटी अफ लण्डन, चितवन राष्ट्रिय निकुञ्ज र कोशीटप्पु वन्यजन्तु आरक्ष परिवारका करिब ७० जना परिचालन भएका थिए ।

घरपालुवा भैँसिको पूर्वज अर्ना नेपाल, भारत, भुटान, कम्बोडिया र थाइल्यान्डमा पाइन्छन । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ ले यसलाई संरक्षित वन्यजन्तु सुचिमा राखेको छ ।
अर्नाको सरदर आयु २५ वर्षको हुन्छ । यिनिहरुले आफ्नो जिवनकालमा ५ ओटासम्म बच्चा जन्माउन सक्छन् । भाले अर्ना ३–४ वर्षमा र पोथी अर्ना २ देखी ३ वर्षको उमेरमा प्रजनन योग्य हुन्छ । २०३२ सालमा कोशीटप्पु वन्यजन्तु आरक्षको घोषणासँगै अर्नाको सख्या बृद्धि हुने क्रम बढिरहेको छ । आरक्षको मुख्य उद्देश्य नेपालमा अति दुर्लभ मानिएको अर्ना को संरक्षण गरी अर्नाको संख्या बृद्धि गराउनु हो ।
पहिलोपटक सन् १९७३ मा गरिएको अर्नाको गणनामा ६३ वटामात्र भेटिएका थिए । पछिल्लो तथ्याक अनुसार कोशिटप्पुमा अहिले ४३२ वटा अर्ना रहेका छन् ।

काँस, सिरु, नर्काेट, बन्सो लगायतका घाँस प्रमुख चरनका रुपमा अर्नाले उपयोग गर्ने गरेको छ । केही वर्षपहिले कोसी नदीमा आएको ठूलो बाढीमा परी दुई दर्जन अर्ना मरेको थिए ।

विश्वभरी अर्नाको कुल सख्या तीन हजारको हाराहारीमा रहेको अनुमान छ । दक्षिण एसियामा अर्ना नेपाल र भारतमा पाइन्छ । नेपालको कोसी टप्पुमा मात्र पाइने यो वन्यजन्तु भारतको सिक्किम, आसाम र मध्य प्रदेशका संरक्षित क्षेत्रमा समेत पाइने गरेको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics