चितवनमा बाघ घट्नुको कारण खोज्दै सरकार

A+ A-



चितवनमा बाघको संख्या अनपेक्षित रुपमा घटेपछि त्यसको कारण खोज्न सरकारले सुरु गरेको छ ।

दुर्लभ पाटेबाघको सङ्ख्यामा कमी देखिएपछि बाघ र गैँडाको सङ्ख्या बहन गर्नसक्ने क्षमता (क्यारिङ क्यापासिटी)को अध्ययन गरिन लागिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चितवनमा बाघ किन घटे भन्ने बारेमा अध्ययन गर्न विज्ञहरुसँग छलफल सुरु गरेको  छ  ।

चितवन राष्ट्रिय निकुञ्जमा बाघ सँगै गैंडाको पनि अध्ययन गरिदै छ । पछिल्लो समय प्राकृतिक रुपमा यस निकुञ्जमा धेरै गैंडा मर्ने गरेको पाइएको छ । गत आर्थिक वर्ष २०७४/७५ मा मात्रैे  २६ वटा गैँडा मरेका  थिए ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक गोपाल प्रकाश भट्टराइले अहिले विज्ञहरु  सँग छलफल भइरहेको  बताए । उनले भने, ‘यहि आर्थिक वर्षमा बाघ र  गैंडाको अध्ययन सक्ने योजना  छ । ’

हालैको प्रतिवेदनअनुसार यहाँ पाँच वर्षमा २७ बाघ घटेको देखिएपछि निकुञ्जमा पहिलोपटक यसरी अध्ययन गर्न लागिएको हो । चितवन राष्ट्रिय निकुञ्जमा कुन वन्यजन्तुको कति बहन गर्नसक्ने क्षमता छ भनेर अहिलेसम्म अध्ययन भएको छैन । चितवन निकुञ्ज करीब ९५३ वर्ग किलोमिटरमा फैलिएको छ ।

यहाँको मध्यवर्ती क्षेत्र भने करीब ७२९ वर्ग किलोमिटरमा फैलिएको छ । सन् २०१३ को अनुगमनमा चितवन निकुञ्जमा १२० बाघ थियो । यसपटक ९३ मात्रै बाघ पाइएको छ । सन् २०२२ सम्ममा बाघको सङ्ख्या दोब्बर बनाउने सरकारी लक्ष्य रहेकाले पनि क्षमताको अध्ययन जरुरी रहेको निकुञ्ज विभागको भनाइ छ ।

पछिल्लो गणनामा चितवन निकुञ्जमा ६०५ गैँडा रहेको तथ्याङ्क छ । निकुञ्जमा हात्ती, भालु, गौरीगाई, चितुवा, जरायो, चित्तललगायत ठूला जनावरको समेत महत्वपूर्ण वासस्थान हो । नेपालकै पहिलो संरक्षित क्षेत्र चितवन राष्ट्रिय निकुञ्ज बाघ र गैँडाको सबैभन्दा ठूलो वासस्थान हो ।

अध्ययनका क्रममा बाघ, गैँडाका आहारा प्रजाति, वासस्थान, पानी, सुरक्षा, चोरी शिकारका चुनौती, चरीचरण भौगोलिक अवस्थालगायत सबै कुराको विश्लेषण हुनेछ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics