स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय रूपमा पुर्‍याउन : कृषि मन्त्री



कृषि तथा पशुपन्छी बिकास मन्त्री चक्रपाणी खनालले सरकारले स्थानीय किसानको समस्या समाधान गर्न लागि परेको बताएका छन् । सिन्धुलीमा आयोजना भएको एक भेलालाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले सिन्धुलीको स्थानीय उत्पादनलाई राष्ट्रिय तथा  अन्तर्राष्ट्रिय रूपमा पुर्‍याउन सरकारले प्रधानमन्त्री आधुनिकीकरण परियोजनाका रूपमा जुनारका लागि सुपरजोन क्षेत्र तोकेको बताए ।

कार्यकर्तासँगको अन्तर्क्रियामा उनले आफूले कृषि क्षेत्रको बिकासका लागि ठोस योजनाका साथ काम गर्ने उल्लेख गरे । उनले अहिले देश नयाँ संघीय संरचनामा गएकाले प्रदेश र स्थानीय सरकारले गर्ने काममा केही अन्योलता देखिएपनि त्यसको समाधानका लागि मन्त्रिपरिषदमा निरन्तर छलफल भइरहेको उल्लेख गरे ।

पाँच बर्षका लागि आएको स्थायी सरकारबाट जनताले केही बढी अपेक्षा राखेकाले पहिलो बर्षमा नै केही अन्योलताले निराश हुने स्थिति आए जस्तो देखिए पनि नआत्तिन कार्यकर्ता तथा नागरिकलाई आग्रह गरे ।

सरकारले सुरुवातमा राम्रो काम गर्न नसकेको उनको स्वीकारोक्ति थियो । तर अहिलेको सरकारले राम्रा कामको जग बसाल्दै गरेको भन्दै प्रधानमन्त्रीले भने जस्तै तीन वर्षमा वाह भन्ने काम गरेर देखाउने उनको दाबी थियो । ‘पहिलो वर्षमा राम्रो काम भएन भनेर  नआत्तिनुस्, कार्ययोजना बनाउनुस् र दोस्रो वर्षमा कार्यान्यनमा ल्याउनुस्, तेस्रो वर्षमा वाह वाह भन्ने गरी काम गर्नुस् भन्ने प्रधानमन्त्रीको निर्देशन छ, उनले भने ।

कृषि क्षेत्रको विकास लागि आफूले केही राम्रा योजना तथा कार्यक्रमहरु सुरु गरेको उनले बताए ।मन्त्री खनालले पहिले अस्थिर सरकारलाई जस्तो आलोचना गर्ने अवस्था अहिले नरहेको भन्दै अधिकतम उत्पादनमा जोड दिन आग्रह गरे ।

पूर्व कृषि मन्त्री हरिबोल गजुरेलले  आफूले किसानका पक्षमा केही राम्रा कार्यक्रम ल्याए पनि त्यसको कार्यान्वयन हुन नसकेको बताए । उनले किसान पेन्सन, प्रधानमन्त्री आधुनिकीकरण लगायतका कार्यक्रमहरु आफूले अघि सारेको बताए । उनले अहिलेको स्थायी सरकारले पनि किसानमूखी कार्यक्रम ल्याएकाले त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । गजुरेलले कृषि, पर्यटन र उर्जाका माध्यमबाट देशको आर्थिक समृद्धि र विकास सम्भव रहेको बताए ।

सो कार्यक्रममा कार्यकर्ताहरुले पनि जिल्लामा देखिएको समस्या, सम्भावना र सरकारले केही क्षेत्रमा सहयोग गर्नुपर्ने बारेमा सुझाव राखेका थिए ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics