हराउँदै सारस 

A+ A-



अग्लो खुट्टा र लामो घाटी हुने सारसहरू मुलत सिमसारमा बस्ने पन्छी हुन । विश्वमा पाइने १५ प्रजातीका सारसहरू मध्ये नेपालमा चार प्रजातीका सारसहरू कालो टाउके सारस, लक्ष्मण सारस, कर्याङ–कुरुङ सारस र सारस पाईन्छन । आईयुसीएनको रातो सुचीमा संवेदनशील प्रजातीमा राखिएका कालो टाउके सारस र सारस विश्वमै दुर्लभ पन्छी हुन । सारस नेपालको पश्चिम तराईमा वर्षभरी पाइने रैथाने पन्छी हो भने कालो टाउके सारस नेपालको अन्य क्षेत्रमा आक्कल झुक्कल देखिने तर हुम्लाको लिमी उपत्यकामा प्रजनन अभिलेख गरिएको पन्छी हो ।

लक्ष्मण र कर्याङ–कुरुङ सारस हिउँदे आगन्तुक तथा बटुवा पन्छी हुन जो उत्तरी धुर्वमा हिमपातको सुरुवातसँगै अनुकूल मौसम, सुरक्षित वासस्थान र चरनको खोजिमा वर्षेनी नेपालको बाटो हुँदै दक्षिणाी मुलुक भारत र श्रीलङ्का तिर जाने गर्दछन् । नेपाल पन्छी संरक्षण संघको विगत दुई वर्षको मुस्ताङमा गरिएको अध्ययन अनुसार वर्षेनी करिब १५ हजार कर्याङ–कुरुङ सारस कालिगण्डकिको आकाश हुँदै नेपाल भित्रिने गरेको देखाएको छ ।

सारसहरू सिमसार क्षेत्रको सूचक प्रजाती मान्न सकिन्छ फलत यसको उपस्थिती त्यस सिमसार क्षेत्र र पारस्थितीय प्रणाली स्वस्थताको प्रतिक हो । यिनीहरूले सर्पहरूको सख्या नियन्त्रण गर्नुका साथै बालीनालिका लागि हानिकारक शङ्खे किरा र अन्य साना जीवहरूलाई खाइदिएर हाम्रो अन्न उत्पादनमा सहयोग गरिरहेका हुन्छन् । त्यसैगरी सारसले बाघ, चितुवा जस्ता जनावरहरू नजिक आउन लागे कराएर जानकारी दिने हुँदा ति जनावरहरूको आक्रमण बाट बच्न सघाई रहेको हुन्छन् । सारसको बयान र महत्व हिन्दु र बौद्ध धर्मगन्थ्रहरुमा पनि गरेको पाइन्छ । लुम्बिनी आसपासका क्षेत्रमा सारसहरूको वासस्थान छ जसलाई बौद्ध दर्शनसँग जोडेर पनि हेरिन्छ ।

प्रजनन समयमा देखिने सारसको विशेष आकर्षक नृत्य र बसाई सराइका क्रममा आकाशमा देखिने सुन्दर ताती अत्यन्तै मनमोहक हुन्छन् । यसर्थ सारस खाद्यसृङखला र जैविक विविधताको महत्वपूर्ण सूचक मात्र होइन लाखौँ मानिसहरूको धार्मिक र सांस्कृतिक आस्थाको धरोहर र आकर्षणको केन्द्र पनि हुन ।

दुर्लभ र नेपालको वन्यजन्तु ऐनद्धारा संरक्षित पन्छी सारस विश्वकै सबै भन्दा अग्लो उड्ने चरा हो । कुनै बेला नेपालको तराई क्षेत्रमा प्रचुर मात्रमा पाइने सारस हाल नेपालको चितवन पश्चिमका जिल्लाहरू नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा अतिकम अभिलेख गरिएका छन् । सारसको कुल संख्याको करिब ८५ प्रतिशत संख्या दुई जिल्ला रुपन्देही र कपिलवस्तुमा मात्र वितरण छ । करिब पाँच फिट अग्लो हुने सारसको तौल दश के.जी सम्म हुन्छ । सारसले खुल्ला सिमसार क्षेत्र, सिंचित धान खेत, पोखरी र ताल आसपासका क्षेत्रमा बच्चा कोरल्ने गर्दछ । नेपालमा सारसको अनुमानित कुल सख्या ४५० देखी ७०० सम्म रहेको छ । सारसको सन् २०१४ देखी २०१७ को अनुगमनमा रुपन्देही जिल्लामा ८० देखी १८७, कपिलवस्तुमा ४० देखी ६३, बाँकेमा १२ देखी २३, बर्दियामा २ देखी ४, कैलालीमा २ देखी ७ र कञ्चनपुरमा ४ देखी ११ को सख्यामा वयस्क सारसहरू अभिलेख गरिएको सारस अनुसन्धानकर्ता सिजन ज्ञावली बताउछन । प्रजनन समयमा जोडीमा बस्ने सारसले एक प्रजनन अवधिमा २ वटा र विरलै ३ वटा सम्म अण्डा पार्ने गर्दछन् । करिब ३० देखी ३२ दिनको ओथारो बसाई पछि सारसले चल्ला कोरल्छ । चल्ला ५ देखी ६ महिना सम्म माउ सँग नै बस्छन् भने त्यस पश्चात अन्य सारसको झुन्डमा सहभागी भई आजीवन जोडी बनाई बस्दछन् ।

कृषि उत्पादनमा किटनाशक विषादीको प्रयोग र जलक्षेत्रको अव्यवस्थित तथा अत्याधिक उपयोगका कारण सिमसारहरू नासिदै गएका छन् । सिमसार क्षेत्रहरू प्रयास अतिक्रमण भई कतै खेत र कतै घडेरीमा परिणत भएका छन् भने कतै माछा पोखरीमा सीमित छन् । पछिल्ला वर्षहरूमा सिमसार क्षेत्र नासिदै जाँदा त्यसको प्रत्यक्ष वा परोक्ष असर हाम्रो कृषि उत्पादन, जीविकोपार्जनमा सँगै सारस जस्ता दुर्लभ चराहरूमा पनि परेको छ । खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीका साथै ढल तथा प्लास्टिक र शिशाजन्य नसड्ने पदार्थको सिमसारहरूमा विसर्जनले पनि सारसको वासस्थान बिग्रँदो छ । बाह्य तथा मिचाहा प्रजातिहरू जलकुम्भी, कुम्भीका, बेशरम, करौते, लहरे वनमारा आदि वनस्पतिहरुको संक्रमणले सिमसारहरू गम्भीर संकटमा परीरहदा यसको असर सारसमा नपर्ने कुरै भएन ।

जनसंख्या वृद्धिसँगै बढ्दो शहरीकरण, सडक, बाधनिर्माणले गर्दा सारसको वासस्थान खण्डिकरण र नष्ट भइरहेको छ । वासस्थान विनाश नै सारसको लागि प्रमुख चुनौती हो भने अण्डा चोर्ने र शिकार गर्ने कार्यले पनि सारसलाई अप्ठ्यारोमा पारिरहेको छ । यसरी कृषिभूमिमा बढ्दो विषादीको प्रयोग र अवैज्ञानिक ढंगबाट विस्तार गरिएका विद्युत तारले पनि जीवित सानो संख्यामा रहेका सारसहरूलाई झन् संकटमा पारिरहेको छ । जलवायु परिवर्तन र मौसम परविर्तन जस्ता विश्व व्यापि समस्याहरूले बसाईसराई गरी आउने सारसहरूलाई अप्ठ्यारोमा पारेको छ ।

सारसको वासस्थान संरक्षित क्षेत्र बाहिर मुलत निजी कृषिभूमि , सार्वजनिक वन र सिमसार क्षेत्रमा अवस्थित छन् अत संरक्षणका लागि स्थानीय समुदायको सक्रियता, जनसहभागिता र अपनत्व आवश्यक छ । प्रकृतिको अभिन्न अङ्ग सारस र तिनको वासस्थान संरक्षणका लागि स्थानीय सरोकारवाला सरकारी तथा गैर सरकारी निकाय, राजनीतिक नेतृत्व, समुदाय, सामुदायिक वन, संरक्षणकर्मी, संघसस्था तथा क्लब सबैले हातेमालो गर्न जरुरी छ ।

सिमसार क्षेत्र आफैमा बहुआयामिक र सर्वपक्षिय सरोकारको क्षेत्र भएकोले यसको दिगो संरक्षण र समुचित व्यवस्थापनको लागि राष्ट्रिय नीति तथा योजनाहरूमा यसको महत्व स्थापित गर्दै स्थानीय तहसम्म एकीकृत रूपमा आर्थिक प्राविधिक एवं संस्थागत क्षमता अभिवृद्धि गर्नु जरुरी देखिन्छ । बसाईसराई गर्ने सारसहरू एक देशबाट अर्को देशमा पनि जाने आउने गर्ने हुँदा संरक्षणका लागि अन्तरदेशीय सहकार्यको पनि अपरिहार्यता छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सारसलाई मार्ने वा अण्डा नष्ट गर्ने वा व्यापार गर्नेलाई ५ सय देखी १ लाख सम्म जरिवाना वा ३ महिना देखी २ वर्षसम्म कैद अथवा दुवै सजाय हुने कानुनी प्रावधान छ । त्यसैले यस्ताकार्यहरुलाई निरुत्साहित गरौँ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics