चिया ‘अक्सन सेन्टर’ नहुँदा नेपाली किसानलाई मर्का

सरकारले नेपालमा उत्पादित तयारी चियाका लागि 'अक्सन  सेन्टर' निर्माणलाई थाती राखेको भन्दै चिया किसान तथा उद्योगीले त्यसलाई अगाडि बढाउन माग गरेका छन्।

वर्षौँदेखि चियाको उचित मूल्य नपाएर ठगिएको भन्दै किसानहरूले 'अक्सन सेन्टर' स्थापना चाँडो गरिदिन सरकारसँग आग्रह गरेका हुन्।

नेपालमा वार्षिक करिब दुई करोड ५० लाख किलो तयारी चिया उत्पादन हुने गरेको छ।

त्यसको करिब ६० प्रतिशत बजार हिस्सा भारतले लिइराखेको सन्दर्भमा नेपालमा नै तयारी चिया विक्रीका लागि 'अक्सन सेन्टर'स्थापना गर्ने योजना अलपत्र परेपछि किसानहरू चिन्तित बनेका हुन्।

खटपट
एकजना चिया किसान युवारत्न राईले भनिन्, अक्सन सेन्टर स्थापना भए कम्तीमा हामीले हाम्रो चिया अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन सक्छौँ।

चिया किसान र उद्योगीबीच चियापत्तीको मूल्य निर्धारण गर्ने विषयमा विगतदेखि नै खटपट रहँदै आएको छ।चिया किसान भन्छन्, अक्सन सेन्टर  स्थापना भए उद्योगीले चियापत्तीको मूल्यमा किसानलाई मर्कामा पार्ने थिएनन्अर्की चिया किसान लीला प्रसाईंले भनिन्, हामीले चियापत्तीको मूल्य यति पाऊँ भनेर कसैलाई ढोग्नुपर्ने थिएन। हाम्रो चिया कतिमा विक्री हुनेरहेछ भन्ने कुरा पनि हामीले थाहा पाउने थियौँ।

तर चिया उद्योगीहरूको कुरा अर्कै छ। भारतीय चिया खरिदकर्ताका लागि नेपालबाट चिया किनेर लैजाँदा सहुलियत दिए मात्र उनीहरू आउन सक्ने चिया उद्योगी आदित्य पराजुली बताउँछन्।

सहुलियत

अहिले हामीले भारतीय व्यापारीको घर(घरमा लगेर चिया बेचिरहेका छौँ। अक्सन सेन्टर भएपछि भारतीय व्यापारीलाई नेपालमा आएर चिया किन्नका लागि सहुलियत दिनुपर्ने हुन्छ।

तर चालु आर्थिक वर्षमा अक्सन सेन्टर निर्माणका लागि सरकारले कुनै बजेट निकासा नगरेकोले सो विषय अन्योलमा परेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक दिपक खनालले बताए।

उनले भने, हामी सरकारलाई घचघच्याउन छोड्दैनौँ। तर अहिलेलाई स्थापनाको कुरा थाती राखिएको जस्तै छ।

नेपालमा उत्पादित अर्थोडक्स चियाको केही हिस्सा तेस्रो मुलुकमा निर्यात हुने गरेको छ।

तर अधिकांश चिया भारतमै लगेर सस्तो मूल्यमा बेच्नुपर्ने बाध्यता रहेको किसान तथा चिया उद्योगीहरूको गुनासो छ।

बीबीसी

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics