सगरमाथा राष्ट्रिय निकुञ्ज व्यवस्थापन समितिको अध्यक्षमा सोनामग्याल्जेन शेर्पा निर्वाचित


सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा सोनामग्याल्जेन शेर्पा पुनः निर्वा्चित भएका छन् ।

विश्वको सबैभन्दा अग्लो स्थानमा रहेकोसगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेमा भएको कार्यक्रममा अध्यक्ष शेर्पा सहित सदस्यहरुमा छिमीछिरिङ शेर्पा, ल्हाक्पागेल्जेन शेर्पा र सदस्य सचिवमा प्रमोद भट्टराईलाई सर्वसम्मत चयन गरिएको स्थानीय लामाकाजी शेर्पाले जानकारी दिए।

सगरमाथ राष्ट्रिय निकुञ्ज भित्र विश्वको सर्वोच्च शिखर सगरमाथा (८८४८ मि.)लाई समेटेर फैलिएको छ । ६ हजार मिटर भन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कु जस्ता हिमचुचुराहरूले यस निकुञ्जको गौरवलाई अझ बढाएका छन्। स्थानीय बासिन्दा र पर्वतारोहीहरूले प्रयोग गर्दै आएका गोक्यो, खुम्बु, छुकुम र नाङ्गपा मुख्य चारवटा उपत्यकाहरू रहेका छन् ।

यस निकुञ्ज भित्रको गोक्यो र सम्वद्ध तालहरूलाई सन २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो। उच्च पर्वतीय वातावरण रहेको यस राष्ट्रिय निकुञ्जमा गोव्रे सल्ला, ठिंग्रे सल्ला, हेमलक, धुपी, भोजपत्र, गुराँस जातका रुखहरू पाइन्छन् ।

वसन्त ऋतुमा लालीगुराँसका फूलहरूले निकुञ्ज भित्रको जंगललाई अति मनोरम र सुन्दर बनाउँछन् । कस्तुरी मृग, हिमाली भालु, हिउँ चितुवा, थार, घोरल, झारल जस्ता वन्यजन्तुहरूका साथै डाँफे, चिलिमे, कालिज, हिम कुखुरा, लालचुच्चे काग (टुंगा) र पहेंलो चुच्चे काग टेमु लगायत १९३ प्रजातिका चराहरू यस राष्ट्रिय निकुञ्जका प्राकृतिक गहना हुन् ।

सगरमाथा राष्ट्रिय निकुञ्ज सांस्कृतिक महत्वको क्षेत्र पनि हो । यहाँका तेङ्वोचे, पाङ्वोचे तथा थामे गुम्बाहरूमा बौद्ध धर्मको शिक्षा–दीक्षा प्रदान गरिन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics