जलवायु परिवर्तनको उपाय खोजी गरौं : मन्त्री बस्नेत



वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनका कारण जनजीवनमा परेको असरको समाधानका उपायहरू खोज्ने बेला आएको बताएका छन्।

वन तथा वातावरण मन्त्रालयले बिहीबार राजधानीमा आयोजना गरेको नेपालमा जलवायु परिवर्तन सम्बन्धी छलफल कार्यक्रममा मन्त्री बस्नेतले जलवायु परिवर्तन सम्बन्धी धेरैभन्दा धेरै अध्ययन गरेर अनुकुलको उपाय खोज्नु पर्ने आजको आवश्यकता रहेको उल्लेख गरे ।

वन तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले नेपालले उत्पादन गरिरहेको कार्बन उत्सर्जन न्यून रहेपनि विकसित राष्ट्रहरूले अधिक रूपमा उत्सर्जन गर्दा त्यसको प्रत्यक्ष असर नेपाल जस्ता अल्पविकसित एवं विकासोन्मूख राष्ट्रमा परेको बताए।

जलवायु परिवर्तन व्यवस्थापन महाशाखा प्रमुख डा.महेश्वर ढकालले जलवायु परिर्वतन अनुकुलनका लागि सबै निकायबाट भूमिका खेल्नुपर्ने बताए । उनले भने , ‘जलवायु परिर्वतन स्वास्थ्य, निजी क्षेत्र, सामुदायिक वन र अन्य धेरै क्षेत्रहरुले मिलेर अघि बढ्नु पर्छ ।’ भोलीको पुस्तालाई जलवायु परिवर्तनको कारणले गर्दा खतरा हुन नदिने जिम्मेवारी हाम्रो भएको उनको भनाइ थियो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा. कृष्णप्रसाद ओलीले पेरिस सम्झौतामा पृथ्वीको तापक्रम १ दशमलव ५ डिग्री सेल्सीयसभन्दा बढ्न नदिने उल्लेख भएपनि त्यसको कार्यान्वयनका लागि नेपालजस्ता मुलुकले घचघच्याउनु पर्ने बताए।

नेपालका लागि युरोपियन युनियनका (ईयू) राजदूत भेरोनिका कोडीले नेपालमा भौगोलिक विविधता भएकोले भूगोलअनुसार जलवायु परिवर्तनसम्बन्धी समस्याहरूको पहिचान गरेर प्राथिमिकता दिनुपर्ने बताइन्। ‘नेपालले जलवायु परिवर्तन अनुकुलनको धैरै काम गर्ने सक्छ। जलवायु परिवर्तनको एजेण्डा पहिचान गरेर कोप–२४ उठाउन आवश्यक छ,’ उनले भनिन्।

अन्तर्राष्ट्रिय र राष्ट्रिय रुपमा जलवायु परिवर्तन सम्बन्धी नीतिहरू कार्यान्वयन गर्न आवश्यक रहेको उल्लेख गर्दै उनले दीर्घकालिन रुपमा अनुकुलन हुने जलवायु परिवर्तन रणनीति अपनाउनु पर्ने बताइन्।

युरोपियन इन्भेष्टमेन्ट बैंकका उपाध्यक्ष एन्ड्यु म्याकडोवेलले जलवायु परिवर्तन न्यूनीकरणका लागि सहयोग पु¥याउनेमध्ये युरोपेयिन युनियन एउटा रहेको बताए।
युरोपियन बैंक नेपालमा पनि जलवायु परिवर्तनको समस्या न्यूनीकरण र प्रभावहरुलाई अनुकुलन हुने गरी कामका लागि सरकारलाई सहयोग गर्न इच्छुक रहेको जानकारी दिए।

आगामी डिसेम्बर २ देखी १४ गते  सम्म २४ औँ अन्तर्राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन पोल्यान्डमा हुँदैछ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics