सौराहामा पुस ११ देखि हात्ती महोत्सव हुने



सौराहाको बाघमारा चौरमा आगामी पुस ११ गते देखि पुस १५ गतेसम्म १५ औं हात्ती महोत्सव हुने भएको छ ।

आन्तरिक तथा बाह्य पर्यटन प्रर्वद्दन गर्दै लोप हुँदै गएको हात्तीहरुको संरक्षण र यसको महत्वबारे जानकारी दिनु, वन्यजन्तु संरक्षणमा एकजुट हुन आग्रह गर्नु र समाजमा जनचेतना अभिवृद्धि  गराउनु यो महोत्सवको मुख्य उद्देश्य रहेको महोत्सवका मुल संयोजक सुमन घिमिरेले जानकारी दिए।

क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुने महोत्सवमा हात्ती वनभोज कार्यक्रम, हात्ती फास्ट वाक प्रतियोगिता, हात्तीको छावाहरुको रोचक फुटबल प्रतियोगिता, हात्तीको सुन्दरी प्रतियोगिता, हात्ती पोलो, हात्ती पेन्टिङ, तथा राष्ट्रिय तथा स्थानीय कलाकारको विविध सांस्कृतिक कार्यक्रम हुनेछ।

सघंका अध्यक्ष एवम् महोत्सव मूल आयोजक समितिका संयोजक सुमन घिमिरेका अनुसार महोत्सवका क्रममा साहित्य र पर्यटन विषयक विशेष कार्यक्रमसमेत आयोजना गरिने भएको छ।

घिमिरेका अनुसार पशु अधिकारकर्मीले गत वर्ष गरेको अनुगमनपछिको सुझावलाई अधिकतम स्वीकार गरी हात्तीलाई दबाब नभएर मनोरञ्जन दिँदै कार्यक्रममा सहभागी गराउन लागिएको छ। पशु अधिकारकर्मीले हात्तीलाई दबाबमूलक काम लगाएको भन्दै विरोधसमेत गरेका थिए ।

स्थानीय युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था, बाघमारा सामुदायिक वन, सौराहा बचत तथा ऋण सहकारी संस्था, रेवान सौराहा, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतको सहकार्यमा महोत्सव हुँदै आएको छ ।

 

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics