खोटाङमा आठौँ लाटोकोसेरो उत्सव मनाइँदै


लाटोकोसेरो तथा हुचील संरक्षणमा हातेमालो गरौं भन्ने मुल नाराका साथ खोटाङको जालपामा आठौँ लाटोकोसेरो उत्सव मनाइने भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरोे महोत्सवको अवसर पारेर ‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव २०७५’ उत्सव माघ १८ र १९ गत दुई दिन सम्म हुने छ ।

नेपालमा यस लाटोकोसेरो तथा हुचील उत्सव मनाउन थालिएको ७ वर्ष भएको छ । यसअघि यो उत्सव धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु र दोलखा जिल्लामा सम्पन्न गरिसकिएको छ । यस किसिमको उत्सव नेपालबाहेक अमेरिका र इटालीमा पनि मनाइन्छ । यसवर्षदेखि भारतको पुनामा पनि मनाउन थालिएको छ ।

किसानको साथी भनेर चिनिने तर संरक्षणको हिसाबले ओझेलमा परेको लाटोकोसेरो तथा हुचीलहरुको संरक्षणका लागि यो उत्सव आयोजना गर्न लागिएको हो ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालीका वडा नम्बर १२ जालपा तथा प्रकृतिका साथीहरू संस्थाको आयोजनामा खोटाङमा आठौँ लाटोकोसेरो उत्सव मनाउन लागिएको हो ।

प्रकृतिका साथीहरू संस्थाका कार्यकारी निर्देशक राजु आचार्यका अनुसार पूर्वी नेपालमा चरा संरक्षणमा कम काम भएकोले यस वर्ष लाटोकोसेरो महोत्सव खोटाङमा मनाउन लागिएको हो । उनले भने,‘पूर्वी नेपालबाट लाटोकोसेरोका तस्कर र अवैध व्यापार हुने भएकोले खोटाङबाट लाटोकोसेरो संरक्षणको सन्देश फैलाउन लाटोकोसेरा महोत्सव खोटाङमा मनाउन लागेका हौँ । ’

यस लाटोकोसेरो  उत्सवमा पाँच हजारको सहभागी रहने अनुमान गरिएको छ ।

‘नेपाल लाटोकोसेरो तथा हुचील उत्सव’ आयोजक मूल समिति विकास राईको संयोजकत्वमा गठन गरिएको छ । तेसैगरि टंक राईको अध्यक्षतामा सल्लाहकार समिति र कार्यक्रमलाई सफल बनाउन थप ११ वटा उपसमीतीहरु समेत गठन गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा सबै पालीका प्रमुखहरू सदस्य रहनेगरि उत्सव संयोजन समिति समेत गठन गरिएको छ । उक्त उत्सवको लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, प्रकृतिका साथीहरू, १ नम्बर प्रदेश सरकार तथा अन्य पालिकाहरू लगायत विभिन्न सङ्घ संस्थाहरूले आर्थिक सहयोग गरेका छन् ।स्थानीय सांस्कृतिक कार्यक्रम तथा खेलहरूको माध्यमबाट पर्यापर्यटन प्रवर्द्धन गर्ने उद्देश्य  राखिएको छ ।

यसरी लाटोकोसेरो उत्सव मनाइँदै

आयोजकका अनुसार  उत्सव सुरु हुनु दुई हप्ता अघि नै विभिन्न विद्यालयहरुमा लाटोकोसेरो चेतना शिवीरहरु सञ्चालन गरिने छ। उत्सवको पहिलो दिन चरा अवलोकन , प्रकृतिको फोटो खिच्ने कार्यक्रम, लाटोकोसेरा सम्बन्धी लघु म्युजियम प्रदर्शनी, स्थानीय लोपोन्मुख खेलहरू (घिर गाडे, झुलो चकमक, लाथ्रो काट्ने) को प्रर्दशनी तथा प्रतियोगिता गरिने छ भने राती लाटोकोसेरोकोे महत्त्व दर्शाउने खालका स्लाइड तथा भिडियो प्रदर्शनी गरिने  कार्यक्रम रहेको  छ ।

दोस्रो दिन संरक्षण, संस्कृतिलाई विशेष जोड दिइने छ । उत्सवलाई जिवन्त बनाउन स्थानीय डम्फु र सेलो (तामाङ), सेब्रु (शेर्पा), साकेला (तोसी) र मारुनी (राई), सँगिनी नाच (हिन्दु महिलाहरूको), सालैजो (गुरुङ), बालन, सडक नाटक, हाक्पारे गीत (बुढा बुढीहरुको लयमा गाईने नेपाली भाषाको गीत), स्थानीय बाजाहरू (एकैसाथ मुचुङ्गा, पीपीरी, यलम्बर, मादल, बाँसुरी) को प्रदर्शनी समेत गरिने छ । वन विज्ञान अध्ययन संस्थान पोखराका विद्यार्थीहरूले लाटोकोसेरो संरक्षण सम्बन्धी नाच समेत प्रर्दशन गर्ने  आयोजकले जनाएकाे छ ।

उक्त अवसरमा विद्यालयस्तरीय लाटोकोसेरो चित्रकला, निबन्ध, कथा तथा कविता प्रतियोगिता समेतको आयोजना र प्रदर्शनी गरिने छ । सोही प्रदर्शनीमा लाटोकोसेरोको जानकारी भएको सूचनाहरु, चित्रहरु, तथा फोटोहरूको प्रदर्शनी समेत गरिने छ । गँहुको छ्वालीबाट, चुराबाट तथा माटोबाट बनाइएका लाटोकासेरोहरु समेत प्रदर्शनीमा राखिने छन् । आठवटा लाटोकोसेरोको आवाज सुन्न मिल्ने व्यवस्था मिलाइएको छ । उत्सवमा सहभागी हुने जो कसैका अनुहारमा तथा नङमा लाटोकोसेरो तथा हुचीलको चित्रसमेत बनाइने व्यवस्था गरिएको छ । उत्सवमा लाटोकोसेरोको एक फिट अग्लो रोबोट समेत प्रदर्शनी गरिनेछ । त्रिभुवन विश्वविद्यालय अन्र्तगत प्राकृतिक विज्ञान सङ्ग्रहालयबाट लाटोकोसेरोको नमुनाहरुपनि प्रदर्शनीमा राखिने छ ।लाटोकोसेरो तथा हुचील उत्सवको सम्झनामा एक महोत्सव स्तम्भ समेतको निर्माण सम्पन्न भएको छ । सो अवसरमा स्थानीय रूपमा उत्पादन भएका सामाग्रीहरूको प्रदर्शनी तथा विक्रीवितरणको समेत व्यवस्था गरिएको छ ।

 

 

नेपाल लाटोकोसेरो तथा हुचील उत्सव किन ?

गैँडालगायतका वन्यजन्तुहरूकै हाराहारीमा सिकार तथा अवैध व्यापार हुन थालेपछि यिनको संरक्षणमा पनि चासो बढेको हो । औषधी, झारफुक तथा घरमा पाल्नका लागि भारत, चीन लगायत विभिन्न खाडी मुलुकहरूमा यिनको अवैध कारोबार हुने गर्दछ । प्रकृतिका साथीहरू नामक संस्थाले ४६ वटा जिल्लामा गरेको प्रारम्भिक अध्ययनको आधारमा नेपालबाट वार्षिक कम्तीमा २००० वटासम्म लाटोकोसेराहरु तथा हुचीलहरु मारिने तथा विभिन्न मुलुकहरूमा अवैध रूपमा पठाइने गरेको भेटिएको छ । यसका अतिरिक्त गुलेलीको प्रयोग गरी लाटोकोसेरोलगायत चराहरू मार्ने गरेको भेटिएको छ । अहिलेसम्मको अध्ययनले २५ प्रतिशत विद्यार्थीहरूले गुलेली प्रयोग गर्ने गरेको भेटिएको छ । मानिसहरूले लाटोकोसेरोको बच्चाहरूलाई गुँडबाट निकालेर पाल्ने गरेको पनि भेटिएको छ । यसका अतिरिक्त लाटोकोसेरोको वासस्थान विनास समेत तीव्र रूपमा भइरहेको छ । नेपालमा कानुनी रूपमा लाटोकोसेरोलाई पाल्न, दुःख दिन, बेच्न नपाइने बारे स्थानीयलाई जानकारी कम रहेको भेटिएको छ । साथै यसले कृषि क्षेत्रमा गर्ने महत्त्वपूर्ण योगदानबारे पनि उनीहरू अनभिज्ञ नै देखिएका छन् । स्थानीय तथा अन्य सरोकारवालाहरूलाई यसबारेमा जानकारी दिई लाटोकोसेरो तथा हुचील संरक्षणमा टेवा पुगोस् भनेर यो उत्सव गर्न लागिएको हो ।

लाटोकोसेरोको के महत्त्व छ ?

मुसाहरूको सङ्ख्या नियन्त्रण गरेर किसानलाई सहयोग गर्ने भएकोले यसलाई किसानको वास्तविक साथी भनिन्छ । यिनको एक परिवारले (भाले, पोथी र बच्चाहरू) एक सिजनमा ३००० वटासम्म मुसाहरू खाने गर्छन् । मुसाबाहेक यिनले किरा फट्याङग्रा, सर्प, भ्यागुताको सङ्ख्या पनि नियन्त्रण गर्दछन् । धार्मिक हिसाबले समेत लाटोकोसेरोहरुलाई देवी लक्ष्मीको वाहन मानिन्छ । पर्यावरणलाई सन्तुलित राख्न पनि यिनको मुख्य भूमिका रहन्छ । यिनको उपस्थितिले प्रकृति स्वस्थ छ भन्ने सङ्केत गर्दछ । लाटोकोसेरोसहित सम्पूर्ण चरामा आधारित पर्यापर्यटन विकासमार्फत मानवीय जीविकोपार्जनमा समेत सहयोग पुग्दछ । यिनीहरूको आवाजले साँझ परेको तथा बिहान भएको सङ्केत समेत गर्दछ ।

लाटोकोसेरो कस्तो चरा हो ?

लाटोकोसेरा प्राय राती तथा बिहान सक्रिय हुने र सिकार गर्ने चरा हो । त्यसो त यसले दिउँसो पनि आँखा देख्दछ । यिनीहरुकोे देख्ने तथा सुन्ने दुवै क्षमता अत्यन्तै राम्रो हुन्छ । यिनीहरूले रुखको टोड्को, भुइँमा तथा पहराहरूमा फुल पार्छन् र बच्चा कोरल्छन् । यिनको शरीरको तौल ३१ ग्रामदेखि लिएर ४ किलो ५०० ग्रामसम्मको हुने गर्दछ । लाटोकोसेराको शरीर अत्यन्तै हलुका तथा नरम भुवाहरूले ढाकेको हुनाले उड्दाखेरि आवाज आउँदैन । यिनीहरूले आपm्नो टाउकोलाई एकापट्टिमात्रै पनि २७० डिग्रीसम्म घुमाउन सक्छन् । नेपालमा यिनीहरूको वासस्थान तराइदेखि हिमालसम्म फैलिएको छ । यिनको सङ्ख्याको बारेमा नेपालमा अध्ययन नभए पनि हालसम्म २३ प्रकारका लाटोकोसेरोको प्रजातीहरु अभिलेख गरिसकिएको छ जसमध्ये ८ प्रजातीहरु नेपालमा दुर्लभ मानिन्छन् । यसमध्य दुईवटा प्रजातीहरुलाई लामो समय देखि नेपालमा अभिलेख गरिएको छैन । विश्वमा करिब २२५ प्रजातीका लाटोकोेसेराहरु पाइन्छन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics