हिमपातले हिमाली जिल्लाको जनजीवन प्रभावित

A+ A-



आइतबार राति देखि परेको हिमपातले हिमाली जिल्लाको जनजीवन प्रभावित भएको छ ।

हिमपातले सदरमुकाम सिमकोटदेखि माथिको तापक्रम माइनस १५ भन्दा माथि पुगेपछि स्थानीयवासीलाई घरबाहिर निस्कनसमेत समस्या भएको छ ।

गएको तीन दिनदेखि बादल लाग्ने र सामान्य हिमपात हुने हुम्लामा आइतबार रातिदेखि अझै निरन्तर परेपछि अहिले सिमकोटमा झण्डै एक फिट हिउँ जमेको छ भने सिमकोटभन्दा उत्तरी क्षेत्रका गाउँमा दुई फिटसम्म हिउँ जमेको बताइएको छ ।

हिमपातले जिल्ला सदरमुकाम सिमकोटदेखि उत्तरी क्षेत्रका सबै गाउँको तापक्रम माइनस झरेको छ । निरन्तर परेको हिमपातले जिल्लाको उत्तरी क्षेत्रका लिमी, मुचु, खगालगाउँ, स्याँडा, हेप्क्का र बरगाउँ, सिमकोटलगायतका गाउँमा जाडो निकै बढेको छ ।

यो वर्ष दोस्रो पटक परेको हिमपातले उत्तरी छिमेकी देश चीनसँग सीमा जोडिएको नाम्खा गाउँपालिकाको लिमी र मुचुका बासिन्दालाई घरबाट बाहिर निस्कनसमेत समस्या परेको नाम्खा गाउँपालिकाको मुचुका लाप्का लामाले जानकारी दिए ।

उनका अनुसार मुचुमा अहिलेसम्म झण्डै दुई फिट जति हिउँ जमेकाले घरबाट बाहिर निस्किनसमेत समस्या भएको छ ।

हिमपातसँगै बढेको जाडोले हुम्लाको उत्तरी क्षेत्रमा पशुवस्तुलाई समेत घरमै घाँस हालेर राखिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी रवीन श्रेष्ठले यो पटक परेको हिमपातले अहिलेसम्म कुनै अप्रिय घटना नघटे पनि अत्यधिक चिसोले जनजीवन भने निकै प्रभावित बनाएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics