चीनमा कृषि पढ्नेको कोटा बढाउन कृषिमन्त्रीको आग्रह



कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले चीनमा कृषि पढ्न जाने विद्यार्थीको कोटा बढाउन चीन सरकारसँग आग्रह गरेका छन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यांकीसँग बिहीबार मन्त्रालयमा भएको भेटमा उनले अहिले निकै थोरै संख्यामा नेपाली विद्यार्थी कृषि पढ्न चीन जाने गरेको भन्दै संख्या बढाउन आग्रह गरेका हुन् ।

चीनका विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीको संख्या बढाउन सके अन्य मुलुकमा रोजगारी गर्न जानेको संख्या घट्ने र त्यसले कृषिलाई नै टेवा पुर्याउने मन्त्री खनालको विश्वास छ । नेपालका हिमाली र पहाडी जिल्लामा प्रयोग हुने कृषि औजारहरु चीनमै बनेका हुने भएकाले त्यसको अध्ययनका लागि पनि पढाइ र तालिम फलदायी हुने मन्त्री खनालको भनाइ छ ।

उनले नेपालका कृषकका लागि आधुनिक कृषि तामिलको व्यवस्था गर्न पनि आग्रह गरेका छन् । चीनले नेपालको कृषि क्षेत्रको अनुसन्धान र प्रविधि विस्तारमा सहयोग गर्ने गरी यसअघि नै ९पुष ४ गते० सहमति भइसकेको छ । उक्त परियोजनाका लागि नेपालका किसान र प्राविधिक कर्मचारीका लागि ६० जनालाई चीन लगेर र अन्य २४० जना कसिानलाई नेपालमै तालिम दिइने सहमति भएको थियो ।

जवाफमा राजदूत होउले थप छलफल गरेर छिट्टै नेपालले प्रस्ताव गरेअनुसार सहमति गर्ने बताइन् । उनले नेपाल र चीनबीच पुरानो मैत्रीपूर्ण सम्बन्ध रहेको भन्दै आफ्नो कार्यकालमा त्यसलाई थप उचाइमा पुर्याउने प्रतिवद्धता जनाइन् । चीनले कृषि र प्रविधिमा निकै फड्को मारेको सुनाउँदै राजदूत होउले एक असल छिमेकीको नाताले त्यो सीप नेपालका लागि पनि फलदायी हुने बताइन् ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics