सिमसारः जीवनको आधार

A+ A-



सामान्यतया हामीले दलदल सिम, घोल, ताल, तलाउ, पोखरी, दह, कुण्ड, नदीनाला, बाढी क्षेत्र, जलाशय, सिञ्चित क्षेत्र, जलक्षेत्रको घाँसे मैदान जस्ता सिमसार क्षेत्रलाई त्यति महत्वका साथ हेर्ने गर्दैनौ । तर अन्य पारिस्थितिकीय प्रणाली भन्दा अतुलनीय एवम् विशिष्ट यी सिमसार क्षेत्रहरू विश्वकै सबैभन्दा बढी उत्पादनशील र जैविक महत्त्वको क्षेत्र हुन ।

कृषि उत्पादन, जैविक विविधताको संरक्षण, जल विज्ञान, पर्यटन प्रवर्द्धन, मनोरञ्जन, आर्थिक, सांस्कृतिक तथा पर्यावरणीय दृष्टिकोणले समेत सिमसारलाई महत्त्वपूर्ण मानिन्छ । जलवायु, भौगोलिक स्वरूप, भूगर्भ र जल परिचालन लगायत भौतिक एवम् रासायनिक प्रक्रियाहरूले गर्दा सिमसारहरूमा लाखौँ रैथाने तथा घुमन्ते चरा, माछा, उभयचर, स्तनधारी, किराहरू र बोटबिरुवाको उच्चतम विविधता पाइन्छ । सिमसारमा जल परिचालन र शुद्धिकरण निरन्तर चलिरहने हुनाले यसलाई ‘प्रकृतिको मृगौला’ पनि भनिन्छ ।

कृषि उत्पादनका साथै वातावरणीय सन्तुलनमा अहम् भूमिका निर्वाह गरिरहेको सिमसार क्षेत्रहरू सम्पूर्ण मानव, प्राणी एवम् वनस्पती जगत्को अस्थित्व जोगाउने आधारभूत तत्त्व भएकोले यसलाई पर्यावरणीय सन्तुलन र जैविक विविधताको पर्यायको रूपमा हेरिन्छ । नेपालका सिमसार क्षेत्रहरू मूलतः ताल र नदीकिनारहरु धार्मिक, सांस्कृतिक एवम् परम्परागत आस्थाका केन्द्रको रूपमा पनि प्रचलित छन् ।

नेपालमा झन्डै ५४ सयको हाराहारीमा सिमसार क्षेत्र रहेको बताइन्छ जसले कुल क्षेत्रफलको २.६ प्रतिशत भु–भाग ओगटेका छन् । नेपालमा करिब ५००० ताल, १३८० जलाधार र ५१८३ पोखरीहरू छन् । पोखरा र आसपासका नौ तालहरू, गोक्यो ताल समूह, गोसाईकुन्ड ताल समूह, शे–फोक्सुन्डो ताल, रारा ताल, कोशिटप्पु वन्यजन्तु आरक्ष, वीसहजारी ताल, जगदीशपुर जलाशय, घोडाघोडी ताल क्षेत्र र माइपोखरी गरी दश क्षेत्रहरू विश्व रामसार सूचिमा सूचिकृत भइसकेका छन् ।

सिमसार क्षेत्रहरू आपैmमा बहुआयामिक र जैविक महत्वको क्षेत्र हुँदा हुदैपनि सबैभन्दा बढी ह्रास हुँदै गएको सम्पदा हो । सिमसारको अतिक्रमण, वरपरका खेतबारीमा प्रयोग गरिने रासायनिक मल र विषादीको चुहावट, ढल तथा धार्मिक पर्वहरुमा पुजाका सामान विसर्जन, बाह्य तथा मिचाह प्रजातिहरुका संक्रमण, भु–क्षय र वरपरबाट बगेर आउने भलसँगै ढुङ्गा, बालुवा, पांगोमाटो थुप्रिनुका साथै पछिल्ला दिनहरूमा पर्यटन प्रवद्धनका नाममा ताल तलैयामा डुङ्गा सञ्चालन, भौतिक संरचनाको निमार्ण र वनभोज जस्ता पर्यावरण अमैत्री क्रियाकलापले सिमसारको गुणस्तर र आयु छोट्टाइदिएको छ ।

उदारणको लागि काठमाडौँको टौदह र कपिलवस्तुको जगदिशपुर ताललाई हेर्न सकिन्छ । टौदह आज सिमेन्टी पिढि र वरिपरि कटेजले सिँगारिएको त छ तर यहाँको जैविक विविधता हराएको छ भने कुनै समय हजारको सङ्ख्यामा साईवेरीया क्षेत्रबाट आउने पाहुना चरा आउनै छाडी सकेका छन् । जगदिशपुर जलाशय देशकै सबैभन्दा उत्कृष्ट पाहुना चराको आरक्ष क्षेत्र थियो तर पछिल्ला दिनहरूमा तालमा बन्दै गरेका भौतिक संरचना र डुङ्गा चलाउने कार्यको सुरुवातले पाहुना चराहरु विस्थापित भएका छन् । यसले पानी चरालाई मात्र होइन त्यस क्षेत्रको समग्र जैविक विविधता संरक्षण, दिगो विकाश र पर्यावरण मैत्री दिगो पर्यटन प्रवद्धनमा ठुलो चुनौती दिईरहेको छ ।

रामसार क्षेत्र र महत्त्वपूर्ण चरा तथा जैविक क्षेत्र जस्तो अन्तर्राष्ट्रिय महत्वको यस ठाउँमा पछिल्ला दिनहरूमा विकसित क्रियाकलापहरूले विश्वव्यापिरुपमा चिन्ता जाहेर भएको छ । सिमसार क्षेत्रको जैविक विविधता जोगाउन दशकअघि वाणगंगा जल उपभोक्ता संस्थाले लगाएको माछा पालनको ठेक्का सर्वोच्च अदालतले बदर गरेपछिका दिनहरूमा सिमसारको गुणस्तर सँगै चराका प्रजाती र सङ्ख्या उल्लेख्य रूपमा बढेको जगदिशपुरमा यी क्रियाकलापले पुरानो अवस्थाको पुनरावृती गर्दैछ।

सिमसार सँग हामीहरुको दैनिक जीवन जोडिएको हुन्छ । हामीहरुको प्रमुख खाद्यान्न बाली धान, दलहन र प्रोटिनको उत्तम स्रोत माछा सिमसार क्षेत्रका उत्पादन हुन् । नेपालको ११ प्रतिशत जनसङ्ख्या पुर्णत सिमसार क्षेत्रमा निर्भर छन् । बोटे, दनुवार, माझीजस्ता २१ आदिवासी जनजाति समुदायहरू जीविकोपार्जनका लागि सिमसार क्षेत्रमा नै आश्रित छन् । विश्वका लोपोन्मुख प्रजातिहरू एकसिंगे गैँडा, साँेस, घडियाल गोही, अर्ना, ओत नेपालका सिमसारहरूमा आश्रित र संरक्षित छन् ।

क¥याङ्गकुरुङ्ग, चखेवा, खोया हाँस, आइविस चरा जस्ता सयौँ घुमन्ते पंक्षीहरु पनि हिउदयाममा उत्तरी मुलुकहरु रुस, चीन, मङ्गोलीयाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रहरुबाट अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा नेपालका सिमसार क्षेत्रहरुमा बसाई सरी आउने गर्दछन् । सिमसार आश्रित यस्ता दुर्लभ प्रजाती अवलोकनका लागि मात्र पनि नेपालमा बर्षेनी हजारौँ पर्यटकहरु आउने गर्दछन् जसले पर्यापर्यटनमा टेवा पु¥याउनुका साथै स्थानियको जीविकोपार्जनमा समेत मद्दत गरिरहेको छ ।

सिमसारको विशिष्ट महत्त्व, दिगो उपयोगिता र खतराका विषयमा बहस गर्दै आगामी रणनीति चयनका साथ सन् १९७१ फेब्रुअरी २ मा इरानको रामसार सहरमा सम्पन्न विश्व सिमसार सम्मेलनको आज ४८ वर्ष पुगेको छ । सो सम्मेलनमा विश्वका महत्त्वपूर्ण सिमसारको संरक्षण तथा दिगो व्यवस्थापनमा जोड दिनुपर्ने अभिसन्धि पारित गरेको थियो जसलाई रामसार सन्धि भनिन्छ । हालसम्म १६९ देशहरू उक्त महासन्धिको पक्ष राष्ट्र भैसकेका छन् ।

नेपालले सन् १९८७ मा उक्त महासन्धिमा हस्ताक्षर गरेको थियो । यही रामसार सन्धि भएको दिनको सम्झना स्वरूप सन् १९८५ फेब्रुअरी २ देखि सुरु गरिएको विश्व सिमसार दिवस आज ‘सिमसार तथा जलवायु परिवर्तन’ भन्ने मूल नाराका साथ विश्वभर मनाईदै छ । पछिल्लो समयमा सिमसारको भुमिकालाई जलवायु परिवर्तनका प्रभाव न्यून गर्ने आधारका रूपमा हेर्न थालिएको छ ।

हरितगृह ग्यासहरुको सोचन, तापक्रम नियमन र वर्षा लगायत जलवायु प्रक्रिया परिचालनमा सिमसारको महत्त्वपूर्ण भूमिका हुन्छ । सिमसार क्षेत्रहरुमा सबै भन्दा बढी जल सोचन हुने हुँदा बाढी लगायतका प्रकोप न्युनीकरणमा समेत उल्लेख्य भूमिका निर्वाह गरीरहेका हुन्छन् । अतः भविष्यको स्वच्छ तथा सन्तुलित पर्यावरणका साथै जलवायु परिवर्तनका असरहरूको न्युनीकरणका लागी सिमसारको संरक्षण आज प्राथमिक आवश्यकता हो ।

सिमसार क्षेत्र आफैमा बहुआयामिक र सर्वपक्षिय सरोकारको क्षेत्र भएकोले यसको दिगो संरक्षण र समुचित व्यवस्थापनको लागि राष्ट्रिय तथा स्थानीय तहका पनि नीति तथा योजनाहरुमा यसको महत्त्व स्थापित गर्दै एकीकृत रूपमा आर्थिक प्राविधिक एवं संस्थागत क्षमता अभिवृद्धि गर्नु जरुरी देखिन्छ । मुलुकभर रहेका सिमसार क्षेत्रहरुको पूर्ण विवरण सङ्कलन गरी प्राथमिकता र सम्भाव्यता अनुसार तिनको अध्ययन, संरक्षण र सदुपयोगका लागि सम्बन्धित सबै निकाय सक्रिय हुनु अत्यावश्यक छ ।

सिमसार संरक्षण र यसको दिगो उपयोगमा रैथाने समुदाय, सरोकारवाला निकाय, संरक्षणकर्मी र आम सर्वसाधारणसँग सहकार्य गरी पुर्णरुपमा सिमसारमा आश्रित समुदायलाई वैकल्पिक आयआर्जन तर्फ पनि उन्मुख गराउनु पर्दछ । हामीले अन्तर्राष्ट्रिय समुदाय सँग गर्व गर्ने कुरा समुदायमा आधारीत संरक्षण र त्यसको सफलता नै हो । तर देशको बदलिदो संरचनामा स्थानीय निकायहरू स्वायत्त र शक्ति सम्पन्न भएको वर्तमान अवस्थामा कतिपय स्थानहरुमा पर्यावरण मैत्री दिर्घकालीन योजना र नेपाल पक्ष राष्ट्र भएका वातावरण सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, अभिसन्धि तथा सम्झौताहरुको प्रभावकारी कार्यान्वयनमा ख्याल गरेको देखीदैन ।

स्थानीय निकायले स्थानीय स्तरमा सिमसार क्षेत्रको संरक्षणलाई सहभागितामुलक जैविक विविधताको संरक्षण तथा दिगो व्यवस्थापन एवम पर्यटन उधोग र विकास सँग सँगै लैजान समन्वयकारी तथा अभिभावकिय भूमिका निभाउनु पर्दछ । सिमसार रहे जीवन रहन्छ ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics