पश्चिमी वायुका कारण फेरी पनि वर्षा हुने



पश्चिमी वायु कारण उच्च क्षेत्रमा हिमपात तथा पहाडी क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।

नेपालमा केही हप्ता अघि मात्र कमजोर भएको पश्चिमी वायु फेरी पनि केही दिन सक्रिय हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार कमजोररुपमा विकसित भएको पश्चिमी वायुको प्रभावले तीन दिनसम्म बदलीसँगै हल्का वर्षा गराउने छ।

अघिल्लो पटक देखा परेको पश्चिमी वायुले तीन दिनसम्म देशैभर बदली र वर्षा गराएको थियो । उक्त प्रणाली कमजोर भएको चारदिनमै पुनःपश्चिमी वायु नेपालको आकाशमा देखापरेको हो ।

यसैबिच महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन जारी गर्दै आज राति देशको अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भेगका अधिकांश स्थानमा र मध्य तथा पूर्वी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना औँल्याएको छ । उच्च पहाडी र हिमाली भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

शुक्रवार देशभर सामान्यतया बदली रहनेछ भने पश्चिमी भेगका अधिकांश र मध्य र पूर्वका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ । आगामी ४ गते शनिवार पनि देशका अधिकांश स्थानमा बदली र पश्चिम, पूर्वी तथा मध्य नेपालका पहाडी भेगका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

नेपालमा हिउँदे वर्षा गराउने पश्चिमी वायू भूमध्य सागरदेखि आउँछ। भूमध्य सागरको माथि बन्ने यो प्रणाली सतहदेखि झन्डै पाँच किलोमिटर माथि हुन्छ।

निकै माथि हुने भएकाले यो प्रणाली मनसुनजस्तो बलियो हुँदैन। तर यसले उच्च क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बर्खा गराउँछ।मनसुन सकिनासाथ सुरु हुने यो प्रणाली मनसुन सुरु नभइउन्जेल आउन सक्छ। कुनै वर्ष धेरै आउँछ, कुनै वर्ष थोरै आउँछ। यसपालि धेरै आइरहेको छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics