विभिन्न प्रजातिका अवैध काठ बरामद



जनकपुरधाममा विभिन्न प्रजातिका अवैध काठ प्रहरीले बरामद गरेको छ ।

प्रदेश मातहतका स्थानमा अवैधरुपमा काठको ओसारपसार तथा प्रयोग भइरहेको सूचनाको आधारमा खटिएको प्रहरीले विशेष सक्रियतामा सर्लाही, सिराहा, सप्तरी, महोत्तरी र बाराका विभिन्न स्थानमा काठ फेला पारी बरामद गरेको हो।

प्रहरी कार्यालयहरूबाट खटिएको छुट्टाछुट्टै प्रहरी टोलीले फरक फरक स्थानहरूबाट गत ३ महिनाको अवधिमा विभिन्न प्रजातिका अवैध काठ बरामद गर्ने क्रम तीव्र बनाएको थियो।

सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार काठ व्यावसायिक प्रयोजनका लागि काठ तस्करी हुने गरेको छ । तस्करीको काठ स्थानीय फर्निचरमा लगेर फर्निचर बनाउने र बजारमा विक्री वितरण गर्ने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ । सानो सानो परिमाणमा खरिद गर्ने र ठुलो परिमाण बनाई बिक्री गर्ने गरेको पाइन्छ ।

अवैध रुपमा बरामद काठ

प्रहरीको सक्रियतामा सर्लाही लालबन्दी नगरपालिका ११ सेतीभिरस्थित खोलाको बगरबाट करिब ७ लाख रुपैयाँ मूल्य बराबरको सालको काठ र सर्लाहीकै बरहथवा नगरपालिका ७ मा २ वटा ट्रयाक्टरबाट करिब २ लाख रुपैयाँ मूल्य बराबरको सपेताको काठ ७० थान बरामद गरेको छ।

यसैगरी सिराहा लहान नगरपालिका १८ सोभापुरस्थित स्माईल मियाको गोठमा लुकाई छिपाई राखेको साल, मुरकुट, अस्मा, सतिसाल, सिसौ गरी ३० किबि अवैध काठ बरामद भएको हो । सिराहाकै गोलबजार नगरपालिका ६ गोलबजार नजिक ४ वटा साईकलमा ल्याएको सालको काठ १० गोलिया साईकल सहित बरामद भएको छ ।

बरामद भएकामध्ये सप्तरी डाकनेश्वरी नगरपालिका ३ बाट स.१ त २०५९ नम्बरको ट्रयाक्टरबाट करिब ५० हजार रुपैयाँ बराबरको सखुवाको काठ १ सय ५० थान रहेको छ । महोत्तरी बर्दिबास नगरपालिका ३ पाटुबाट करिब ४० हजार रुपैयाँ मूल्य बराबरको १८ थान सखुवाको काठ समेत रहेको छ ।

यसैगरी बारा आदर्शकोतवाल गाउँपालिका ५ स्थित सडकबाट ना.५ त ८९६५ नम्बरको ट्रेक्टरमा रहेको ७१ क्यूफिट सिमलको काठ बरामद भएको छ । बाराकै निजगढ नगरपालिका ६ वाईवा टोलस्थित सार्वजनिक स्थलमा चोरी पैठारी गरी लुकाई छिपाई राखेको खयरको ४ वटा गोलिया काठ समेत बरामद भएको छ ।

बरामद काठ आवश्यक थप कारवाहीको लागि सम्बन्धित वन कार्यालयहरुमा बुझाइएको छ। काठ तस्करी हुने सम्भावित ठाउँहरूमा विशेष निगरानी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics