आठौँ नेपाल हब्र्स एक्स्पो सुरु

“गुणस्तरीय जडिबुटी दिगो अन्तर्राष्ट्रिय बजार, प्रोत्साहन र सम्मान जिम्मेवार उद्यमको आधार” भन्ने मूल नाराका साथ आठौँ नेपाल हब्र्स एक्स्पो २०१९सुरु भएको छ ।

एक सय भन्दा बढी उद्यमी र व्यवसायी आबद्ध रहेको नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घ, नेहपाले यही अवसर दिलाउन किसान, उत्पादक, संकलक, व्यापारी, अन्तर्राष्ट्रिय स्तरबाटै प्रमाणिकरण गरिएका कृषि र हर्बल क्षेत्रका साना तथा मझौला उद्यमीहरुलाई एकै ठाउँमा जम्मा पार्न यो एक्स्पोको आयोजना गरेको हो ।

शुत्रबारदेखि काठमाडौँ ठमेलको छायाँ सेन्टरमा सुरु हुने मेला तीन दिनसम्म चल्नेछ । मेलामा ५० वटा स्टल राखिने आयोजकले जनाएको छ । नेपाल हब्र्स तथा हर्बल उत्पादक सङ्घ अध्यक्ष गोविन्द घिमिरेले नेपालको हिमालदेखि तराइसम्म पाइने जडिबुटीको सचित्र जानकारी दिने आकर्षक स्टल मेलाको मुख्य आकर्षण रहेको बताए ।

आठौँ नेपाल हब्र्स एक्स्पोमा ७ वटा कृषि र अन्य प्राकृतिक उत्पादनहरु, १२ वटा प्रमाणिकरण गरिएका अर्गानिक उत्पादनहरु, ५ वटा प्रविधि र गुणस्तर सम्बन्धी जानकारी दिने स्टल राखिएको छ।

१२ वटामा कस्मेटिक, स्पा र मसाज सम्बन्धी उत्पादन तथा जानकारी, ४ वटा आयुर्वेद तथा क्लिनिक, ७ वटा सुगन्धित वनस्पति सहितका बिरुवा र फूलहरुका स्टल र परम्परागत रूपमा जडिबुटी राखिएको छ । मेलामा ४ वटा स्टल नेपाल बाहिरका उद्यमी र खरिदकर्ताका छ।

यो वर्षको नेपाल हब्र्स एक्स्पोमा नेपालभित्रै तथा नेपाल बाहिरका क्रेता र बिक्रेतालाई एकै ठाउँमा जम्मा पारि उत्पादन विस्तार, गुणस्तर सुधार तथा व्यापार बृद्धिका लागि विभिन्न काम गरिंदैछ ।

यो वर्ष फ्रान्स, बेल्जियम, क्यानडा, जर्मनी लगायतका युरोपियन देश र भारत, बङ्गलादेश तथा चिन जस्ता छिमेकी मुलुकबाट दुई दर्जनभन्दा बढीको सङ्ख्यामा नेपालको जडिबुटी प्रवर्द्धन तथा खरिदका लागि विभिन्न व्यावसायिक कम्पनीका प्रतिनिधिहरू आउँदैछन ।

उनीहरूले नेपाली उत्पादन हेर्नेछन, थप सुधारका लागि गर्न सकिने काम तथा अन्तर्राष्ट्रिय बजारमा कस्ता वस्तुको बढी माग हुन्छ भन्ने कुरा नेपाली उत्पादक, उद्यमी र संकलक सँग राख्नेछन ।

एक्स्पोमा नीति तथा मूल्य श्रृङ्खला, अर्गानकि र निर्यात, प्रविधि र गुणस्तर गरी तीन वटा विषयमा तीनै दिन छलफल कार्यक्रम हुनेछ । छलफलमा सम्बन्धित विषयमा काम गरिरहेकाहरू, विषय विज्ञहरू र सरकारी निकायका प्रतिनिधिहरूले यो क्षेत्रका अवसर, चुनौती तथा सुधार गर्नुपर्ने कुराहरू राख्नेछन् । छलफलमा सर्वसाधारणले समेत सहभागिता जनाउन सक्नेछन् । आफ्ना विचार राख्न र विज्ञहरूसँग प्रश्न सोध्न सक्नेछन् ।

यो वर्ष  एक्स्पोमा आउन चाहने स्कुलका विद्यार्थीहरूका लागि विशेष व्यवस्था गरिएको छ । हिमालदेखि तराइसम्म पाइने औषधिजन्य र सुगन्धित वनस्पतिहरूको फोटो सहितको विवरण भएका सामग्रीहरू मेलामा प्रशस्त हुनेछन् । छोटो समयमा पैसा खर्च नगरिकनै उनीहरूले हाम्रा जडिबुटी र तिनीहरूको परम्परागत प्रयोगका बारेमा जान्न सक्नेछन् ।

एक्स्पोमा स्वास्थ्यलाई हानी नगर्ने खानेकुराहरू, रसायन प्रयोग नगरिएका सौन्दर्य बढाउने सामग्रीहरू, वैकल्पिक औषधि उपचार पद्धति र आयुर्वेद तथा अन्य स्वास्थ्य सम्बन्धी परामर्श पनि उपलब्ध हुनेछ । साथै प्रमाणिकरण गरिएका र अर्गानिक खाद्य तथा पेय पदार्थहरूको खरिद बिक्री समेत हुनेछ ।

जडिबुटी उद्यमीहरूले चाहिँ आफ्नो सामानको गुणस्तर कसरी बढाउने, तेल तथा अन्य औषधिजन्य जडिबुटीको भण्डारण कसरी गर्ने, बजारमा लैजाने सामान आकर्षक प्याकेजिङ सहित लैजाने र आफ्नो छुट्टै ब्रान्ड कसरी बनाउने भन्ने सिक्ने र हेर्ने मौका पाउनेछन् । यो भन्दा अगाडि ६० हजार भन्दा बढी मानिसले एक्स्पो भ्रमण गरे । यो वर्ष अगिल्ला वर्षहरूमा भन्दा बढी मानिस आउने अपेक्षा गरिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics