शिवपुरीमा यो वर्ष मात्रै ६७७ वन्यजन्तु पीडित



शिवपुरीमा चालु आर्थिक वर्ष २०७५/ ७६मा मात्रै ६ सय ७७ जना वन्यजन्तुबाट पीडित भएका छन् । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका अनुसार ११ वटा राहत वितरण सिफारिस समितिले ६ सय ७७ जना वन्यजन्तु पीडितलाई राहतको लागि सिफारिस गरेको हो ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जकी रेन्जर दुर्गा चौधरीको अनुसार यो आर्थिक वर्षमात्रै ३ सय १६ जना पीडितले राहत पाइसकेका छन् । ३ सय १६ जनालाई १५ लाख ४७ हजार तीन सय रुपैयाँ निकुञ्जले वितरण गरिसकेको छ । ३ सय ६१ जनालाई भने राहत दिन बाँकी रहेको चौधरीले बताइन् । उनले भनिन, ‘हामी जति सक्दो छिटो राहत दिने गरेका छौँ । शुक्रबार र शनिबार बाँकीलाई राहत वितरण गर्ने कार्यक्रम रहेको छ । ’

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा यो आर्थिक वर्षमा ६ सय ७७ जना पीडितलाई समितीद्धारा ३२ लाख ३९ हजार ७१ रकमको सिफारिस आएको छ ।

निकुञजका अनुसार यो आर्थिक वर्षमा मात्रै राहत वितरणको लागि ७० लाख रुपैयाँ विभागबाट आइसकेको छ ।

गुर्जेभञ्ज्याङ, गोलढ्ङ्गा जितपुर, विषणु चपली, सुन्दरीजल शिवपुरी, ईचंगुनारायण, मणिचुड कागेश्वरी, सिन्धु शिवपुरी, बौडेश्वर महादेव, रामकोट भिमढुङगा छत्रेदेउराली, शिवपुरी चिसापानी र ककनी ओखरपौवा समितिहरूले राहतको लागि सिफारिस गरेका हुन ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जका अनुसार गुर्जेभञ्ज्याङ, गोलढ्ङ्गा जितपुर, विषणु चपली, ईचंगुनारायण, राम कोट भिमढुङगा र कंकनी ओखरपौवामा राहत वितरण भइसकेको छ ।

यस निकुञ्जमा सबै वन्यजन्तु पीडितले राहत पाउने व्यवस्था रहेको छ । शिवपुरीमा चितुवा बाँदर रु दुम्सीले धेरै दुख दिने गरेको निकुञ्जले जनाएको छ ।

चितुवा,भालु, बाँदर,बँदेल,दुम्सी,मृग,सर्प वन्यजन्तुबाट पीडितलाई पनि राहत दिइने व्यवस्था रहेको छ । नेपालमा १४ किसिमका वन्यजन्तुले क्षति र्पुयाएमा वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकामा हात्ती, गैँडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, मगर गोही, अर्ना, गौरीगाई र अजिङ्गर रहेका छन् ।

उक्त सूचीमा बाँदर, दुम्सी लगायतका वन्यजन्तु उल्लेख छैनन्। तर यसका लागि शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जले छुट्टै निर्देशिका “मध्यवर्ती क्षेत्र व्यवस्थापन निर्देशिका, २०७३ “ वन तथा वातावरण मन्त्रालय मार्फत पारित गरी यो प्रयासको थालनी गरेको हो ।

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन निर्देशिका, २०७३ अनुसार प्राप्त रकम मध्ये सबैभन्दा धेरै अर्थात् २५ प्रतिशत रकम मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा क्षति राहतमा उपलब्ध गराउन सक्ने व्यवस्था रहेको छ । उक्त निर्देशिकामा यस निकुञ्ज र मध्यवर्ती क्षेत्रमा पाइने बाँदर, दुम्सी, रतुवा, मलसाप्रो, स्याल, चराचुरुङ्गी लगायतका कुनै पनि जनावरले क्षति पु¥याएमा राहत उपलब्ध गराउन सक्ने व्यवस्था रहेको छ ।

२०७२ चैत्र १५ गते घोषणा भएको यस निकुञ्जको मध्यवर्ती क्षेत्र काठमाडौँ जिल्लाका शंकरापुर, कागेश्वरी मनोहरा, गोकर्णेश्वर, बूढानीलकण्ठ, टोखा, तारकेश्वर, नागार्जुन, धादिङ जिल्लाको धुनीवेशी, सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका र नुवाकोट जिल्लाको शिवपुरी र ककनी दुई गाउँपालिकाको कूल ११८.६१ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ ।

सबै वन्यजन्तुबाट भएको क्षतिको राहत पाउन थाले पश्चात् किसानहरूले निर्वाध रूपमा वालीनाली लगाउने र वन्यजन्तु तथा निकुञ्जप्रति स्थानीय बासिन्दाको सकारात्मक धारणाको विकास हुन निकुञ्जको अपेक्षा छ ।

२०३२ सालमा शिवपुरी जलाधार संरक्षण क्षेत्र, २०५८ सालमा शिवपुरी राष्ट्रिय निकुञ्ज र २०६५ सालमा नागार्जुन वन क्षेत्र पनि समावेश गरी शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको रूपमा संरक्षण र व्यवस्थापन हुँदै आएको छ । यो निकुञ्ज शिवपुरी क्षेत्रको १४४ वर्ग किमि र नागार्जुन क्षेत्रको १५ वर्ग किमि गरी जम्मा १५९ वर्ग किमि क्षेत्रफलमा फैलिएको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics