किन रुन्छ न्याउली?

A+ A-



“न्याउली रुँदै के भन्छ, आधा सन्चो आधा बिसन्चो !”

स्वर्गीय लोक बहादुर क्षेत्रीले गाएको यो गीत श्रोताहरू माझ निकै लोकप्रिय छ । यो गीत धेरैले निकै गुनगुनाउने गरेको पाइन्छ । अझ संरक्षणकर्मीहरू माझ यो गीत निकै प्रिय बनेको छ । यो गीत मार्फत न्याउलीले वनमा रुँदै आफ्नो भाखा मानिसलाई सुनाएको हो । अन्य साहित्यकार तथा सर्जकहरूका हरफहरू हेर्दै जाने हो भने पनि न्याउलीले बिरहगाथा सुनाएको प्रसङ्ग भेटिन्छ ।

न्याउलीले वन पाखामा स्वरले घँसिनीहरुको भाव बोलेको त होइन? सर्जकहरूको बुझाई अनुसार यस्तै देखिन्छ । न्याउलीको स्वरलाई बिरहको पर्यायको रूपमा अर्थ्याउने आम जनसमुदायले प्राय आफ्नो सामाजिक मानसिक अवस्था अनुसार बिरहको सन्देश सुनेको देखिन्छ ।

नेपाली परिवेशमा न्याउलीको स्वरलाई बिरहको प्रतीकको रूपमा लिने गरेको पाइन्छ । प्रियतम बिदेशीेएर सन्देशको पर्खाइमा रहेकोका प्रियसीहरुलाई चैतेमासको उराठ लाग्दो जङ्गलमा न्याउलीको स्वर आफ्नै परिवेश अनुसार बिरहको सन्देशको अनुभूति हुन्छ ।

उनीलाई त न्याउली कराएको मात्र होइन संगीसाथी मस्केको वा खुसी भएको क्षणले उनैलाई नै गिज्याएजस्तो लाग्दछ । चाहे वास्तविकता पृथक् नै किन नहोस् । अर्थात् भनौ बियोगमा रहेको मानिसको लागी सबैकुरा बिरही नै लाग्दछ । चैतमा न्याउली कराएको सुन्ने भनेकै पीडामा रहेका मानिसहरूले हो । सर्वसाधारणको लागि यो घटना खासै विशेष नलाग्न पनि सक्दछ ।

के त्यसो भए न्याउलीले बिरहको गीत नै गाएको हो त? प्रश्न उठ्न सक्छ । बिरह नगाएको भए चैत बैशाखको उराठ लाग्दो मौसममा उसले के भन्न खोजेको हो त? साहित्यकार तथा पीडामा रहेका मानिसहरूको लागि वास्तविकता बिरह नै होला । तर स्वयं न्याउलीको लागि भने यसले फरक अर्थ राख्दछ । वास्तवमा गीत कवितामा देखिने भावको उल्टो न्याउलीको भाखा बिरहको होइन, प्रणयको हो, संचारको हो, अझ यस मौसममा गाउने गीत द्वन्दको हो ।

संसारभरी वन, बुट्यान, सिमसार तथा लेकमा विभिन्न प्रकारका चराचुरुङ्गीहरूले गाउने गर्दछन् । चराको गायकीमा मानिसले आ–आफ्नै परिवेश अनुसार अर्थ लगाउने गरेको पाइन्छ । नेपाली जङ्गलमा न्याउलीसँगै कराउने काफल पाक्यो चराको स्वर नेपालीको लागि काफल पाकेको सन्देश लाग्छ । विशेषगगरी काफल पाक्ने समय र उक्त चरा कराउने समय पनि मिलेकोले पनि मानिसहरूले काफल पाकेको सन्देश बुझेको देखिन्छ ।

सायद श्रृष्टिकर्ताले काफल पाकेको जानकारी गराउन त्यस चरालाई जिम्मा पो दिएको हो कि? तर अचम्म के छ भने त्यही शब्द पश्चिमा नागरिकहरूलाई पृथक् लाग्छ । अंग्रेजहरु भारतवर्षमा प्रवेश गरेदेखि नै उनीहरूलाई यो चराको स्वरले “वान मोर बोटल”भनेको लाग्यो । मैले पनि अङ्ग्रेजी बोल्नेहरुको परिप्रेक्ष्य सुन्ने प्रयत्न गरेँ, हो जस्तो पनि लाग्यो । यस्तै वैशाख जेठमा कराउने अर्को चरा “बीउ कुहियो“ को स्वरलाई नेपालीले बीउ कुहियो भन्ने सन्देश दिएको सम्झन्छन् । संयोग यहाँ पनि कस्तो छ भने असारे रोपाइँको लागि वैशाख अन्त्य वा जेष्ठ पहिलो हप्तामा बीउ राख्ने गरिन्छ । किसानको त्यस समयको सवाल बीउ कस्तो होला भन्ने हुन्छ । ठिक त्यही समयमा कराउने बीउ कुहियो चराको स्वरलाई किसानले बीउ कुहियो नै सुन्ने भए ।

पृथक् परिवेश के छ भने त्यही स्वरलाई विदेशीहरूले “ब्रेन फिभर” भन्ने बुझ्दछन् । मैले नि त्यसै गरी सुन्ने प्रयत्न गरे, फेरीपनि हो जस्तो लाग्यो । त्यस्तै जङ्गलमा हिँडेको नेपालीलाई कोईलीको स्वरले “को हो“ भनेर जिज्ञासा राखेको जस्तो लाग्छ । अन्यलाई के लाग्छ सोध्दै गरौंला । के त्यसो भए न्याउलीले बिरह गाएजस्तै यी चराहरुले पनि काफल पाकेको, बीउ कुहेको वा को हो भनेर सोधेको वा मस्तिष्क ज्वरोको सङ्केत गरेका हुन त?

वसन्त ऋतु भनेको सम्भावनाले भरिएको समय हो । यस समयमा विरुवाले पालुवा फेर्छन । किट पतंगले फुल पार्छन् । विरुवाले फल दिन थाल्दछन् । आफ्नो वंश विस्तारको लागि वन्यजीवहरुलाई उचित मौसमको पर्खाई रहन्छ ।वसन्त ऋतु तथा तत्पश्चात्को समय आहारको पर्याप्तताको समय हो । चराचुरुङ्गीहरूको वंश बढाउने उत्तम समय हो । यस समयमा सामान्यरुपमा चिरबिर गर्ने चराहरूले पनि विशेष हल्ला कुल्ला गरेको पाइन्छ ।

वास्तवमा आफ्नो वासस्थानको रक्षा, शिकारी जनावरहरूको सूचना संप्रेशणको अलावा चराहरूको गीतमा प्रणय द्वन्द्व लुकेको हुन्छ । जीव विकासको क्रममा हाल अस्तित्वमा रहेका जीव जन्तुहरूको आफ्नो अस्तित्व, जीवन रक्षा, बाँच्ने आधार तथा प्रणयका लागि विभिन्न उपाय अवलम्बन गरेका हुन्छन् । यो आफ्नो अस्तित्वको लागि प्रजाति प्रजाति वा आफ्नै प्रजातिबिच हुने द्वन्द्व पनि हो । प्राय भाले जीव आफ्नो क्षेत्र रक्षा तथा बंश विस्तारको लागि लडाइँ गरिरहेका हुन्छन् भने पोथीहरूको आम जिन्दगी, बच्चा पाउने र हुर्काउनेमा खर्च हुन्छ । तसर्थ भालेहरू ठुलो, सुन्दर र गहनाधारी (ओरनामेन्टल) हुन्छन् भने पोथीहरू अलिक साना, फुस्रो वा धमिलो रङ्गका हुन्छन् ।

प्राणी अर्थशास्त्रको नजरबाट हेर्ने हो भने भालेले उपभोग गरेको श्रोत जैविक कार्यको अलावा सुरक्षा र आफ्नो शारीरिक विकासमा खर्च हुन्छ भने पोथीको जैविक कार्य र बच्चा स्याहार गर्ने कार्यमा खर्च हुन्छ । धेरै प्रजातिका भालेहरूले भरसक धेरै पोथीहरूसँग संसर्ग गर्ने र थप साथी खोज्दै जाने हुन्छ भने पोथीहरूले वासस्थानको सुरक्षा गर्न सक्ने र राम्रो, ह्रष्टपुष्ट, र स्वस्थ साथीको खोजीमा रहेका हुन्छन् । चराहरूको परिप्रेक्ष्य भने धेरैजसो जोडीमा रहने हुनाले सुरक्षा र राम्रो गुणस्तरको भाले छान्नु नै पोथीको बुद्धिमानी हो ।

“जो जीता वही सिकन्दर” भन्ने उक्ती यहाँ सान्दर्भिक देखिन्छ । मतलब जोसंग वर्तमान परिवेशसंग जुध्ने जैविक क्षमता वा श्रोत छ वा जसले परिवर्तित सन्दर्भमा आफूलाई सामञ्जस्य बनाउन सक्छ त्यो अस्तित्वमा रहन्छ ।

प्रकृतिमा द्वन्द्व शारीरिक भिडन्त मात्र हुँदैन । जीवजन्तुहरूले विभिन्न रणनैतिक अस्त्रहरू प्रयोग गरेका हुन्छन् । कतिपय जीवले शारीरिक सुन्दरता र यसको प्रयोगको कलालाई आफ्नो हतियार बनाएको पाइन्छ । मयुरको प्वाँखमा हुने बुट्टा, यसको क्षेत्रफल, रङ्गको समिश्रण र उसको नाच्ने कलाले अन्य भाले भन्दा आफू परिपक्व रहेको, स्वस्थ रहेको र भावी सन्ततीको वंश विस्तार गर्न सक्षम छ भन्ने गुणस्तरको विज्ञापन गर्दछ । हुन पनि हो, राम्रो नाच्ने र सुन्दर प्वाँखधारी भालेमा धेरै पोथीहरु आकर्षित हुन्छन् । अर्को अर्थमा हेर्ने हो भने राम्रो बुट्टा भएको मयुर स्वस्थ र जैविकरुपमा बलियो मानिन्छ । मयुरजस्ता चरा तथा अन्य जनावरहरू एक ठाउँमा भेला हुने र आफूमा रहेको गुण देखाउने प्रथा रहेको हुन्छ । जसलाई लेकिङ भन्ने गरिन्छ ।

कतिपय जीव वा चराचुरुङ्गीहरूले आफ्नो यौनसाथीको लागि घर बनाउने, उपहार दिने, आहारा तथा वासस्थानको सुरक्षाको व्यवस्था गरेका हुन्छन् । राम्रो गुँण बनाउन सक्ने भाले स्वभावत परिपक्व र उच्चकोटीको मानिन्छ र अधिकांश पोथीहरू उसको पछि लाग्दछन् । त्यस्तै जीवजन्तुहरूमा शारीरिक भिडन्त, आफूमा रहेको गहनाको प्रदर्शनको अलावा आफ्नो गाउने कलालाई पनि हतियार बनाएको पाइन्छ । वसन्त ऋतुमा चराहरूको चिरबिराहट अधिक सुनिन्छ । यस मौसममा हुने अधिक चिरबिराहटमा पनि प्रणय द्वन्द्व रहेको पाइन्छ ।

विशेषगरि प्रजननको समयमा चराका भालेहरूले आफ्नो गुण प्रदर्शनका लागि गाएका हुन्छन् । कुनै प्रजातिका चराका पोथीहरूलाई आफ्नो साथीको सुरिलोपनले आकर्षण गर्दछ त कुनै प्रजातिका पोथीलाई चर्को स्वर । कसैको गहना तथा सुन्दरता त कसैको कलाकारिता भने कुनै प्रजातिमा स्वरको विविधताले आकर्षण गर्दछ ।

न्याउली, कोईली, काफल पाक्यो वा वीउ कुहियो भनेर कुर्लने चराहरुले मानिसहरूको सोचाई अनुसार बिरह व्यक्त गरेको वा कसैकोबारे जानकारी लिन लागेको वा सन्देश संप्रेशण गर्न गाएका होइनन् तर प्रसङ्गवश मानिसले प्रजाति पहिचानका लागि अवलम्बन गरेका उपायहरू हुन् । रूखो शब्दमा भन्ने हो भने कुन चरालाई के मतलब, आफ्नो वासस्थान समेत विनाश गर्न बाँकी नराख्ने मानिसहरूको मन कुँडियोस् या खुसी रहोस् वा काफल पाकोस नपाकोस वा बीउ कुहियोस कि उम्रियोस भन्ने सन्देश दिन?

वास्तवमा वसन्त ऋतुमा हुने यस प्रकारको गायकी चराहरुले आफ्नो जीवनसाथी वा यौन साथीको खोजिको लागि हो । न्याउलीमा रहेको सुरिलोपनले उसको घाँटीको नापसाईज वा कण्ठको विकाससंगै उसको परिपक्वताको विज्ञापन हो । जङ्गलमा चारैकुनाबाट आउने यसप्रकारको स्वरमध्येबाट पोथीहरुले आफ्नो प्रणय साथी छान्दछन् । यसबिच राम्रो गुणस्तर प्रति पोथीहरुमा समेत द्वन्दको स्थिति पैदा हुन्छ । पोथीबिच पनि राम्रोसँग को बस्ने द्वन्द्व हुन्छ । यसै गरी कोईलीको स्वरमा हुने विविधता वा बीउ कुहियो चराको तिखोपन सबैले आ-आफ्नो गुणस्तर देखाउन प्रयास गरेका हुन जहाँ अक्सर भालेहरुले गाउने र पोथीहरुले सुन्ने, विवेचना गर्ने र जीवनसाथी छान्ने प्रक्रिया जीव विकाससँगै यो अवस्थामा आईपुगेको हो ।

न्याउलीको बिरह गाथा, कोईलीको उत्सुकता, काफल पाकेको सन्देश, बीउ कुहेको वा मस्तिष्क ज्वरोको ब्यहोरा श्रोता वा मानिसको अवस्थाले देखाएको कुरा हो । आफ्नो संस्कृति तथा परिवेश अनुसार गरेको व्याख्या हो तर यो कार्य चराहरूले आ-आफ्ना तरिकाबाट गरेको सञ्चार र द्वन्दको हो । समय अनुसार उनीहरूको अवस्था, शत्रु प्रजातिको सूचना, तथा प्रणयको लागि तयार रहेको सूचना आदि तथ्यहरू नै चराहरूको गायकीको अर्थ हो । वसन्त ऋतुमा हुने चिरविराहटले साहित्यकार वा वियोगीहरुका लागि भलै यसले अर्कै अर्थ राख्ला, तर त्यस समयमा देखिने उग्र प्रकृतिको गायकीको वास्तविकता प्रजननको लागि नै हो ।

पाण्डे राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत हुन्

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics