वर्षाकै झल्को दिँदै प्रि–मनसुन

क्षणभरमा मौसम बदलिने, अपरान्ह्रपछि मेघ गर्जदै हल्का र क्षणिक वर्षा हुने मनसुन पूवाद्र्ध अर्थात् ‘प्रि–मनसुन’ को लक्षण हो । तर यसपटकको प्रि–मनसुन मध्य वर्षाद्को समयझै सक्रिय भएको छ ।

हरेक दिन बिहान, दिउँसो, बेलुका जुनसुकै समयमा पनि वर्षा भइरहेको छ । स्थानीय वायु, बंगालको खाडी र अरब सागरको वायुको प्रभावले हिजोआज प्रि–मनसुन निकै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलले बताउनुभयो । ‘सामान्यतया स्थानीय वायुको प्रभावले प्रि–मनसुन सक्रिय र निस्क्रिय हुन्छ’, उहाँले भन्नुभयो– ‘यसपटक बंगालको खाडी र अरब सागरबाट पनि पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा सजिलै नेपाल प्रवेश गरिरहेकाले प्रि–मनसुन सक्रिय भइरहेको छ ।’

नेपालभित्रै विकास भएको न्यून चापीय रेखाले शनिबार बिहान सबेरैदेखि मुलुकका अधिकांश भेगको मौसम प्रभावित भएको कँडेलले बताउनुभयो । उच्च वायुमण्डलमा रहने यस्तो रेखाले जलवाष्पयुक्त हावालाई सहजै वायुमण्डलमा पु¥याएर पानी पार्ने प्रकृतिको बादल बन्न सहयोग पु¥याउँछ । त्यस्तो प्रभावले फराकिलो भूगोललाई समेट्ने प्रकृतिको भएमा ‘रेखा’ र सीमित क्षेत्रमा प्रभाव पार्ने प्रकृतिको भएमा ‘क्षेत्र’ भन्ने गरिन्छ । शनिबार न्यून चापीय रेखाको प्रत्यक्ष प्रभाव मुलुकको पूर्वी, मध्यभागमा परेको थियो भने अपरान्ह्रपछि पश्चिमी भू–भागतर्फ पनि सरेको थियो ।

मौसमविद्हरु अंग्रेजी महिनाका मार्च, अप्रिल र मेलाई प्रि–मनसुनका रुपमा बुझ्ने गर्छन् । हिजोआज प्रि–मनसुन सक्रिय भए पनि गत मार्च महिनामा वर्षाको मात्रा औसतका हाराहारीमा रहेको मौसमविद् कँडेलले बताउनुभयो । ‘यसपटक मार्चमा पनि प्रि–मनसुन केही सक्रिय नै थियो, ताप्लेजुङ, विराटनगर, काठमाडौं, पोखरालगायतको स्थानलाई नियाल्दा औसत वर्षा नाघेको छैन’, उहाँले भन्नुभयो– ‘अप्रिलमा भने औसत वर्षा नाघ्ने सम्भावना बलियो छ ।’

महाशाखाका अनुसार हल्का र क्षणिक वर्षा अझै केही दिन जारी रहनेछ । पश्चिमी वायुको प्रभावले आज आइतवार पश्चिमी भेगमा छुट्टै न्यून चापीय रेखा विकास हुने र अन्यत्रको तुलनामा पश्चिमी भेगमा वर्षासहित मौसम प्रभावित बन्ने महाशाखाले जनाएको छ । अंग्रेजी महिनाको जुन, जुलाई, अगस्ट र सेप्टेम्बर नेपालसहित दक्षिण एसियाका लागि मनसुन अवधि हो । आगामी मनसुन कस्तो हुन्छ भन्ने पूर्वानुमान भने मनसुन शुरु हुनुभन्दा करिव एक महिना अघि गर्ने प्रचलन छ ।

नेपाल सहित दक्षिण एसियाली मौसमविद्हरुको साझा फोरम (सास्कोप) ले मनसुनको भविष्यवाणी गर्दै आएको छ । आगामी वैशाख दोस्रो साता काठमाडौंमा हुने सास्कोपको ३ दिने जमघटले यसवर्षको मनसुनको पूर्वानुमान गर्नेछ । हरेक वर्ष एक अर्को मुलुकमा हुँदै आएको सास्कोप जमघटमा विश्व मौसम संगठन र अन्य युरोपेली मुलुकका विज्ञसमेत सहभागी रहने गर्छन् ।

नेपाल समाचारपत्र

टीका बन्धन

प्रतिक्रिया दिनुहोस

web
analytics