कार्यान्वयन भएन राजनीतिक दलहरुको वातावरणीय प्रतिवद्धता

A+ A-



नेपाल जलवायु परिवर्तनको जोखिमका हिसाबले अति संवेदनशील राष्ट्रहो तर नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनको ०.०२७% मात्र उत्सर्जन गर्दछ ।भर्खरै प्रकाशित इसिमोड को प्रतिवेदनअनुसार विश्वव्यापी तापक्रम वृद्धिलाई १.५० सेल्सीयसमा सिमित गर्दा पनि हिन्दकुश हिमालय क्षेत्रका एक तिहाई हिमनदीहरू पग्लने अनुमान गरिएको छ ।यसले नेपालमा मात्र नभई एसिया महाद्वीपको उत्तरीभेगका राष्ट्रहरूमा समेत खाद्य सुरक्षा र पानी सुरक्षा जस्ता क्षेत्रमा दीर्घकालीन असर पर्दछ।विश्वव्यापी राजनीतिक वृतमा जलवायु परिवर्तनले राम्रै महत्व ओगट्न सफल भइरहेको पाईन्छ ।

बेलायत लगायत केही अन्य राष्ट्रहरूले जलवायु परिवर्तनसँग जुध्न र त्यसका लागि आवश्यक राजनीतिकसरसहयोग जुटाउन “जलवायु आपतकाल” भनेर घोषणा गरिसकेका छन्।नेपालले जलवायु परिवर्तनसँग सम्वन्धित पेरीस सम्झौता तथा दिगो विकास लक्ष्यमा समेत हस्ताक्षर गरिसकेको छ।

तथापि राजनीतिक दलहरूले वातावरण र जलवायु परिवर्तनको मुद्धालाई मूल राजनीतिक मुद्धाको रुपमा अझै आत्मसात् गरेका छैनन् र प्रतिवद्धताको अझै कमी भएको स्पष्ट देखिन्छ।यद्यपि वि.सं. २०७४ को चुनावी घोषणापत्रमा भने प्राय सबै राजनीतिक दलहरूले वातावरणीय मुद्धा/विषय समावेश गरेको
पाइन्छ।

विश्व वातावरण दिवस २०१९ का दिन सार्वजनिक गरिएको यस पत्रमा नेपालमा क्रियाशील राजनीतिक दलहरूका चुनावी घोषणापत्रहरूमा वातावरण संरक्षण र जलवायु परिवर्तन सम्बन्धी उल्लेख भएका प्रतिवद्धताहरूको लेखाजोखा राख्ने प्रयास गरिएको छ ।

यस पत्रले नेपालका मुख्य राजनीतिक दलका वातावरण र जलवायु परिवर्तन सम्बन्धी बुझाई र अवधारणाका विषयमा प्रकाश पार्दछ।मुख्यगरि नेपालका निम्नलिखित ५ मुख्य राजनीतिक दलहरूका वि.सं. २०७४ को चुनावी घोषणापत्रको समीक्षा तथा तल उल्लेखित राजनीतिक दलका प्रतिनिधिहरूसँग अन्तरवार्ता पश्चात यो पत्र तयार पारिएको हो ।

हाम्रो बुझाई

१) विकासका मुद्धाहरूमध्ये वातावरणको विषय सबैभन्दा कम प्राथमिकतामा परेको देखिन्छ । जलवायु परिवर्तनको एजेण्डा कुनै पनि दलको प्राथमिकतामा परेको छैन ।

२) वातावरणसँग सरोकार राख्ने विषयहरूलाई राजनीतिक नेतृत्वले विकासको अवरोधको रुपमा लिने र यी सवालहरूलाई वेवास्ता गर्ने गरिएको देखिन्छ । राजनीतिक नेतृत्वमा वातावरणका विषयहरूलाई विकासको मूलप्रवाहमा ल्याउने बुझाई, तरिका र क्षमताको अभाव देखिन्छ ।राजनीतिक दलका वैठकहरूमा वातावरण र जलवायु परिवर्तनका विषयहरूबारे छलफल हुने गरेको देखिँदैन ।

३)वातावरण र जलवायु परिवर्तका विषयमा पार्टीको अवधारणा निर्माण गर्नका लागि राजनीतिक दलहरू भित्र विषयगत विज्ञहरूको संरचना वासमितिहरू छैनन् । जसका कारण पार्टी नेतृत्वहरूमा दिगो विकासको महत्वपूर्ण धारणा बनाउने तर्फ ध्यानाकर्षण हन सकेको देखिँदैन ।

४)राजनीतिक दलका चुनावी घोषापत्रहरूमा वातावरणीय मुद्धा समावेश भएतापनि त्यसको कार्यान्वयनका लागि कुनै योजना तथा रणनीति छैन र त्यसको समीक्षा तथा पुन छलफल गरिँदैन ।

राजनीतिक दलहरूका लागि सुझाव

१)वातावरण र विकासलाई एकीकत रुपमा अगाडि नबढाई दिगो विकास लक्ष्य प्राप्त गर्न सम्भव नहुने भएको हुँदा राजनीतिक दलका
नेताहरूमा वातावरणको विषय खउठान हुनु विकास विरोधी कार्य होइन भनेर सचेत गराउनु अत्यन्त जरुरी भइसकेको छ ।

२)वातावरण र जलवायु परिवर्तनका विषयमा पार्टीको अवधारणा बनाउनका लागि राजनीतिक दलहरूले पार्टीहरू भित्र जिम्मेवार समितिको स्थापना गरेर उक्त समितिलाई सहि तरीकाले परिचालन गर्न जरुरी छ ।

३)नागरिक संघ संस्था र राजनीतिक दलहरूले वातावरण र जलवायु परिवर्तनका विषयमा साझा बुझाईको विकास गर्नका लागि एक आपसमा अर्थपुर्ण छलफललाई अगाडि बढाउनु पर्दछ ।

४) वातावरण र जलवायु परिवर्तनसँग सम्बन्धित नीति, विधेयक तथा रणनीतिहरूका विषयहरूमा राजनीतिक दलका बैठक, संसद तथा सम्बन्धित संसदीय समितिहरूमा अर्थपुर्ण छलफल हुन जरुरी छ ।

५) जलवायु परिवर्तन जस्ता विश्वव्यापी विषयहरूमा तथा अन्य मुख्य वातावरण सम्बन्धी विषयहरूमा साझा राष्ट्रिय धारणा निर्माणका लागि पार्टीहरूका बिचमा छलफल तथा समन्वय गर्नु अत्यन्त जरुरी भइसकेको छ ।

यो लेख क्लाइमेट एक्सन नेटवर्क,(कान्सा नेपाल) दक्षिण एशिया नेपाल द्वारा प्रकाशित गरिएको हो । कान्सा नेपाल जलवायु परिवर्तनका विषयमा काम गर्ने नागरीक संघ संस्थाहरूको सञ्जाल हो । नेपालका लागि यो पत्र तयार गर्न गीता पाण्डे (किर्डाक) र प्रविन मान सिंह (पि.आर.सि) ले अध्ययन तथा समन्वय गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस

sidebar2
sidebar3
sidebar4
sidebar5
sidebar6
sidebar6
web
analytics