वातावरण पत्रकारिता पुरस्कार पत्रकार राजेश घिमिरेलाई

नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार पत्रकार राजेश घिमिरेलाइ प्रदान गर्ने निर्णय गरेको छ । स्थानीय कायाकैरन र सेतोपाटी अनलाइनमा कार्यरत भरतपुर निवासी पत्रकार घिमिरेलाई पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरिने छ ।

समूहले प्रत्येक वर्षको जुन ५ (विश्व वातावरण दिवस) मा पत्रकारहरुको प्रोत्साहनका लागि वातावरण पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ । सन् २०२० भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रमहरु मध्येबाट छनौट गरी विषयगत विविधता, तथ्य–तथ्याङ्क, भाषा, जनसरोकार र मौलिकताका आधारमा मूल्याङ्कन गरेर यो पुरस्कार प्रदान गर्ने निर्णय भएको हो ।

पुरस्कारका लागि समूहले पत्रकारहरुलाई सन् २०२० भरिका आफ्ना लेख–रचना तथा कार्यक्रम समावेश गरी आवेदन दिन आह्वान गरेको थियो । समूहका पूर्व अध्यक्ष लक्ष्मण उप्रेतीको संयोजकत्वमा समूहका पूर्व महासचिव राजेश घिमिरे र विज्ञ सदस्य मन्जित ढकाल सम्मिलित तीन सदस्यीय निर्णायक मण्डलको शिफारिसका आधारमा पुरस्कारको निर्णय गरिएको हो ।

समूहद्वारा स्थापित ‘वातावरण पत्रकारिता पुरस्कार–२०२०’ पाउने उहाँ ३४ औँ पत्रकार हुनुहुन्छ । यो पुरस्कार समूहको आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने छ

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics