बसाँइ सर्दै गैंडा, ३० वर्ष ९२ सारिए

सरकारको प्राथमिकतामा गैंडा स्थानान्तरण




विश्वमै दुर्लभ एकसिंगे गैंडाको मुख्य केन्द्र चितवन राष्ट्रिय निकुञ्जबाट ३० वर्षको अवधिमा ९२ गैंडा मुलुकका विभिन्न निकुञ्जमा स्थानान्तरण गरिएको छ ।

अहिले सम्म चितवन निकुञ्जबाट ९२ वटा गैंडा स्थानान्तरण भएका छन् । चितवनबाट बर्दिया निकुञ्जमा ८८ वटा गैंडा स्थानान्तरण गरिएको छ भने शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ८ वटा स्थानान्तरण भएको छ । सरकारले यो महिनामा चितवनबाट फेरी ५ वटा गैंडा सूदूरपश्चिमको शुक्लाफाँटा निकुञ्जमा सार्ने तयारी गरिरहेको छ । गत वर्ष ५ वटा गैंडा स्थानान्तरण गरेको राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले यही महिनामा शुक्लाफाँटा निकुञ्जमा ५ गैँडा सार्दैछ ।

एसियामानै भारतको काजिरंगा नेशनल पार्कपछि चितवन निकुञ्जमा सबैभन्दा बढी एकसिंगे गैंडा रहेका छन् । बर्दिया र शुक्लाफाँटालाई एकसिंगे गैंडाको ‘दोस्रो केन्द्र’ बनाउने भन्दै दाताहरुको आर्थिक र प्राविधिक सहयोगमा वन मन्त्रालयले गत वर्षदेखि गैंडा स्थानान्तरणलाई प्राथमिकता दिँदै आइरहेको छ । राष्ट्रिय निकुञ्ज विभागका पूर्व महानिर्देशक तथा वन्यजन्तु विज्ञ श्याम बजिमयका अनुसार पहिला गैंडाको भएको तर पछिल्लो समयमा वंश विनास भएका ठाँउमा गैँडा स्थानान्तरण गरिन्छ । उनले भने ‘गैँडा स्थानान्तरणले गैंडाको संख्या बढाउन मद्दत गर्छ ।’

विभिन्न ठाउंमा गैंडा स्थानान्तरण गर्दा भविष्यमा निम्तिन सक्ने कुनै महामारी वा प्राकृतिक विपत्तिबाट हुनसक्ने वन्यजन्तुको विनाशबाट गैंडा जोगिने विज्ञहरुको बताउँछन् । उस्तै वासस्थान, हावापानी र घाँसेमैदान भएको निकुञ्जमा गैंडा रमाउन सक्ने विशेषज्ञको भनाई छ । विभिन्न समयमा गरिएको अध्ययन अनुसार गैंडाले खोला छेउछाउको जंगल र घाँसे मैदान अत्याधिक रुचाउछ ।

स्थानान्तरण गरिएको गैंडा
बर्दिया राष्ट्रिय निकुञ्जमा

सन् १९८६ - १३ वटा
१९९१ - २५ वटा
१९९९ - ४ वटा
२००० - १६ वटा
२००१ - ५ वटा
२००२ - १० वटा
२००३ - १० वटा
२०१६ - ५ वटा
शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा

सन् २००१ मा ४ वटा

पछिल्लो तथ्यांक अनुसार नेपालमा पर्सा वन्यजन्तुमा आरक्ष र वरीपरीका वन क्षेत्रमा ३ वटा, चितवन राष्ट्रिय निकुञ्ज र वरिपरिका वन क्षेत्रमा ६०५ वटा, बर्दिया राष्ट्रिय निकुञ्ज र वरिपरिको वन क्षेत्रमा २९ वटा र शुक्लाफाटा निकुञ्जमा ४ वटा गैँडा रहेका छन् । हाल नेपालमा ६ सय ४५ वटा गैंडा छन् । ६ सय ४५ गैंडा मध्ये १ सय ७८ वटा भाले, २ सय ३७ पोथी छन् भने भाले र पोथि नछुट्टिएका ६० अर्धवयस्क र १ सय २३ बच्चा गैंडा रहेका छन् ।

सन् १९६०को दशकमा घना वन जंगल वासस्थान हुँदा गैंडाको अधिकतम संख्या राप्ती नदी र टिकौलीको जंगल क्षेत्रमा रहेको थियो । त्यतिबेला उक्त क्षेत्रलाई केन्द्र मानी नेपालमा वन्यजन्तु संरक्षणको पहिलो पहल गरिएको थियो ।

नेपालमा सन १९८६ देखी गैंडा स्थानान्तरण थालिएको हो । त्यसपछि सरकारले एकसिंगे गैंडा स्थानान्तरणलाइ रोकेको थियो । सरकारले फेरी एकसिंगे गैंडा स्थानान्तरण कार्यलाई प्राथमिकता दिएको हो ।

नेपालको एक सिंगे गैंडा लोप हुने सर्वाधिक खतरामा रहेको एक सय प्रजातिको बन्यजन्तुको सूचिबाट हटेको छ । लन्डनको जुलोजिकल सोसाइटी र आइयुसिएनले सार्वजनिक गरेको लोप हुने खतरामा रहेका बन्यजन्तुको सूचिमा इन्डोनेसियामा पाइने गैंडा परेका छन् ।

एकसिंगे गैंडाका लागि नेपाल उपयुक्त मानिएपनि जलवायु परिवर्तनको असरले गैँडा संरक्षणमा चुनौती थपिएको विज्ञहरु ब्ताउँछन् । विश्वमै नेपाल र भारतमा मात्र पाइने एकसिङे गैँडाको संख्या नेपालमा पछिल्ला वर्षमा वृद्धि हुँदै आएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार सन् २०११ मा गरिएको गणनामा ५ सय ३४ रेकर्ड गरिएको थियो भने सन् २०१५ मा आइपुग्दा गैडाको संख्यामा बृद्धी भई ६ सय ४५ पुगेको छ ।

सुजाता कार्की

प्रतिक्रिया दिनुहोस

web
analytics