किन विग्रियो एकसातादेखि मौसम ?



गत सातादेखि मौसममा आएको खराबी यो सातासम्म रहने जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार स्थानिय बायुको चापका कारण मौसममा खराबी आइरहेको छ । महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन् ‘मौसम अझै केहीदिन यस्तै रहन्छ यद्यपि ठूलो पानी पर्ने सम्भावना भने छैन ।’ उनका अनुसार विहान हलुका बादल लागेपनि दिउसो खुल्दै जाने हुन्छ । उपत्यका सहित पहाडी भेगका केही ठाउँमा सामान्य वर्षात् भएपनि ठूलो पानी पर्ने सम्भावना भने देखिदैन ।

महाशाखाका अनुसार प्रिमनसुनको समयमा स्थानीय रूपमा बनेको जलवाष्पबाट बनेको एउटा बादलको पानी धेरैबेरसम्म रहन सक्दैन । यस्तो अवस्थामा घाम लाग्ने र पानी पर्ने भइरहन्छ । स्थानीय जलवाष्पले हिमाली तथा पहाडी क्षेत्रमा बेलुकाको समयमा पानी पर्ने सम्भावना धेरै हुन्छ ।

मौसमविद्का अनुसार दिनभरको तातोले जलवाष्प बन्छ र बेलुका बादल लागेपछि मेघगर्जनसहित बिस्तारै पानी पर्छ । प्रिमनसुनको समयमा सामान्य वर्षाहुनु स्वभाविक मानिन्छ ।
गत साताको सुरुदेखि नै मौसममा खराबी आएको भएपनि शुक्रबार उपत्यका सहित मुलुकका विभिन्न भागमा मेघ गर्जन सहित असिना र पानी परेको थियो । बाक्लो असिनाका कारण किसानको बालीमा क्षति समेत पुगेको छ ।

सामान्यतया बढ्दो तापक्रमसँगै जाडो घट्दै गएपनी मौसममा आएको खराबीका कारण सर्वसाधारणले चिसो अनुभव गरिरहेका छन् । मौसमविद्का अनुसार यो चिसोले आगामी मनसुनमा राम्रो वर्षा हुने संकेत गर्छ। अहिले मौसमको त्यति ठूलो प्रणाली छैन तर पनि छिनमै घाम लाग्ने छिनमै पानी पर्ने भइरहन सक्छ ।

दिउसो दिउसो लागेको बादल का कारण सूर्यको प्रकाश पृथ्वीमा आउन सक्दैन जसले गर्दा जमिन चिसो हुन्छ र तात्न पाउँदैन। यसले गर्दा पनि चैत्रको मध्य हुँदासम्म पनि हामीले त्यतिधेरै गर्मीको महसुस गर्न सकेका छैनौं, कँडेलले भनिन् ।

मौसमविदहरुका अनुसार वायु प्रदूषणले पनि जमिन तात्नमा असर पुर्याइरहेको छ । उपत्यका लामो समयदेखि धुलाम्मे बनेको छ । यसैगरी सवारीसाधनबाट फाल्ने कार्बनको धुलो पनि आकाशमै गएर बस्ने हुनाले प्रकाश मधुरो हुने र जमिन तात्न समय लाग्ने हुन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics