रुप फेरिरहने राराको सौन्दर्य (फोटोफिचर)

तस्वीर : भास्कर खनाल



कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो, रारा ताल । प्रकृतिको अनुपम सुन्दरताले भरिपुर्ण यो ताल स्वदेशी तथा विदेशी पर्यटकको आकर्षण को केन्द्रको रुपमा स्थापित हुन पुगेको छ । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईमा अवस्थित रहेको छ ।



मुगु जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि पुग्न सकिने राराताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । यो तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर रहेको छ भने गहिराई १६७ मिटर छ ।



प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियालीले झन शोभायमान बनाएको छ । यहाँ पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत राराको शोभा बढाउन सहयोग गरेका छन् ।


नेपालको सबैभन्दा सानो जिल्लाको रुपमा स्थपित छ मुगु । मुगुमै पर्ने देशकै सबैभन्दा सानो निकुञ्ज, रारा राष्ट्रिय निकुञ्ज । तर यहि निकुञ्जको आडैमा सुतिरहेको छ देशकै सबैभन्दा ठूलो ताल, रारा ताल । यसको वरिपरि विस्तारित भएर १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ रारा राष्ट्रिय निकुञ्ज ।



जैविक विविधताले भरिपुर्ण यस निकुञ्जमा नेपालमा रहेका ८ सय ६७ प्रजातिका चराहरूमध्ये रारामा २ सय ३६ प्रजातिका पाईन्छन् । यहाँ भारत र तिब्बतहुँदै साइबेरिया ओहोरदोहोर गर्ने हाँसहरू पाइन्छन् ।



हाँस, जलेवा, क¥याङकुरुङजस्ता चरा जलक्रिडामा मग्न भएको देख्दा आफ्नो मन पनि उनीहरुकै आनन्दको महसुस गर्दै जलक्रिडा गर्न हतासिन्छ । उनिहरुकै आनन्द चोर्न मन लाग्छ रमाउन मन लाग्छ ।



रारामा पाईने तीन प्रजातिका असला माछा संसारमा अन्त कतै भेटिंदैनन् । रंग बदलिरहने राराको कञ्चन पानीमा माछाको गतिबिधी नांगो आँखाले नियाल्दा साँच्चै स्वर्ग पुगेको अनुभुति हुन्छ । सन् १९७६ मा रारा राष्ट्रिय निकुञ्जको स्थापना भएको हो । रारा तालको नामबाट नै नामाकरण गरिएको यो निकुञ्ज १८०० मिटर देखि ४०४८ मिटर सम्मको उचाईमा रहेको छ।



विशेषगरी रारातालको आफ्नो छुट्टै विशेषता रहेको छ । दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठ देखि आश्विन महिना सम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ। यस तालमा सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य समेत देख्न सकिन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics