दिनभरी घाम – साँझमा पानी



केहीदिनदेखि राजधानी लगायत देशभरी अपरान्ह्सम्म घाम लाग्ने र त्यसपछि पानी र हावाहुरी आउनेक्रम चलिरहेको छ । यो क्रम अझै केहीदिन जारी रहने देखिन्छ । मौसमविदहरुका अनुसार, स्थानीय वायुको प्रभावको कारण बिहान र दिउसो आकाश खुल्ला भएपनि अपरान्ह् पछि बदली हुने क्रम अझै केहीदिन जारी रहनेछ ।

अहिले प्रिमनसुनको समय हो । जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार प्रिमनसुनको समयमा क्षणिक वर्षा हुन्छ । एकैछिनमा बादल लागेर पानी परेपनि लामो समयसम्म भने यो प्रणाली रहँदैन । यस किसिमको प्रणाली प्रिमनसुनको अवधिभर पनि रहन सक्छ । महाशाखाका मौसमविद् सुवास रिमालले भने, ‘प्रिमनसुनको समयमा क्षणिक वर्षा हुनु स्वभाविक हो । अपरान्ह् पछि हावाहुरी सहित छिटफुट वर्षा हुन्छ ।’ रिमालका अनुसार ‘यो प्रणाली अब केही दिनमा हटेर जान्छ । यद्यपि प्रिमनसुनको समय भएकाले एक्कासि बादल लाग्ने र वर्षा हुने क्रम भने रहिरहन्छ ।’

प्रिमनसुनको अवधी सुरुभएसँगै तापक्रम बढ्दो अवस्थामा रहेको हुन्छ । तापक्रम बढ्दै गएपछि वायुमण्डलमा बनेको बाफ बादलमा मिसिन पुग्छ । यसरी बनेको बादलका कारण साँझपरेपछि पानी पर्छ । ‘पानी पर्दा मेघ गर्जने, पानीसँगै असिना पर्ने, चट्याङ पर्ने सम्भावना बढी रहन्छ ।’ मौसमविद् रिमालले भने ।

यो अवधीमा पानी पर्दा हावाहुरीको जोखिम समेत बढी हुने गर्छ । महाशाखाका अनुसार प्रिमनसुनको समयमा स्थानीय रूपमो जलवाष्पबाट बनेको पानी धेरैबेरसम्म रहन सक्दैन । यस्तो अवस्थामा घाम लाग्ने र पानी पर्ने भइरहन्छ । स्थानीय जलवाष्पले हिमाली तथा पहाडी क्षेत्रमा बेलुकाको समयमा पानी पर्ने सम्भावना धेरै हुन्छ ।

छिनमै पानी पर्ने, मेघगर्जन र चट्याङ पर्ने प्रक्रिया प्रि–मनसुनको गतिविधि हो । सामान्यतया चैत दोस्रो सातादेखि जेठसम्म प्रि–मनसुनको अवधि रहन्छ । यस अवधिमा हरेक दिनजसो मध्यान्ह्पछि हावाहुन्डरी सहित हल्का वर्षा हुन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics