कता हराए तन्ना मैलो पार्ने गौंथली ?



म बस्ने कोठाकै दलिन बिचमा गौंथली बस्यो
पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो ।
मलाई त्यो देखी हृदयबिच लाग्यो किरकिरी
चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।।

कवि शिरोमणी लेखनाथ पौड्यालले गौंथलीको विशेषता बर्णन गर्दै ८० वर्ष अगाडी यसरी कविता लेखे । आजभोली न दलिनमा देखिन्छन् न त कोठामा नै भेटिन्छन् । कता हराए ती गौंथली ? घरको दलिन, खड्प्वालमा माटोको आकर्षक गुँड बनाएर बस्ने गौँथली आजभोली देख्न मुस्किल छ ।

गौंथली हराउनुका थुप्रै कारण भएको विज्ञहरुको भनाइ छ । २०७२ सालमा गएको विनाशकारी भुकम्पले माटोका घरहरु भत्किएपछि भुकम्पबाट प्रभावित जिल्लाहरुमा गौँथली देखिनै छोडेको छ । वासस्थानको अभावका कारण गौँथली लोप हुने अवस्थामा पुगेको छ । ‘केही बर्ष अगाडि घरैपिच्छे देखिने गौँथली अहिले देखिँदैनन् ।’ सिन्धुपाल्चोकका हरी कोइरालाले भने । पहिला त घरैपिच्छे एउटा एउटा गौँथलीका गुँडहरु हुन्थे अहिले कहाँ गए होलान् ? उनको मनभरी जिज्ञासा छ ।

मानवबस्तीको विस्तार, पक्की घरको निर्माण, चरन क्षेत्रको अभावलगायतका विविध कारणले गर्दा गौंथलीको संख्या विस्तारै घट्दै गइरहेको चराविद् ज्योतेन्द्र ठकुरीे बताउँछन् । उनी भन्छन्, ‘गौंथली घट्नुको प्रमुख कारण वासस्थानको अभाव नै हो ।’ हामीले निर्माण गरेको भौतिक संरचना गौँथलीका लागी उपयुक्त नभएकाले पनी यसको संख्यामा कमी आएको छ ।

सामान्यतया आकाशमा धेरै बेर सम्म उडिरहन सक्ने यो चरा देख्नमा लगभग भँगेरा जत्रै हुन्छ । यसको जिउको रङ्ग खैरो र कालो हुन्छ भने पेट तिरको भागको रङ्ग सेतो हुन्छ । गौँथलीको गुँड बनाउने तरिका अरु चराहरूको भन्दा बेग्लै किसिमको हुन्छ । अरु चराहरूले सुकेका साना तिना त्यान्द्रा रुखका पात आदीको प्रयोग गरेर रुखको हाँगामाथी अथवा माटोको दुलो भित्र आफ्नो गुँड बनाउँछन् भने गौँथलीले भिजेको लेसिलो माटोको प्रयोग गरेर आफ्नो गुँड बनाउँछ । यसले घरको छत, घरको दलिन तथा ओढारको ढुङ्गामा झुण्डाएर गुँड बनाउने गर्छ । गौंथलीहरु प्रायः जोडी बनाएर बस्ने गर्छन् ।

मानव वस्तीको विस्तार र वातावरण संरक्षणमा ध्यान नपुर्याउदा यिनीहरुको संरक्षण हुन सकेको छैन । किसानहरुले बाली संरक्षण गर्न विषदीको प्रयोग गर्दा यिनीहरुको खानामा समेत असर परेको देखिन्छ । गौँथली चराको विशेषता र सुन्दरतालाई बर्णन गर्दै धेरै साहित्यकारहरुले साहित्यको रचना समेत गरेका छन् । सँधै जोडी बनेर बस्ने गौंथली घर वरीपरीनै बस्न रुचाउने गर्छन् ।

उपत्यकामा गौंथली गणना हुने


गौंथली चराको अवस्था बुझ्न र यसको अध्ययन गर्न आगामी बैशाख दोस्रो सातादेखि उपत्यकामा गौँथली गणना गरिने भएको छ । उपत्यकामा गौंथलीको संख्या बुझ्न पंक्षी संरक्षण संघ (बिसिएन)ले गौथली गणना गर्ने जानकारी दिएको छ ।

उपत्यका भित्रको गौंथलीको अवस्था र यसको संख्या बुझ्न यसको गणना गर्न लागिएको विसिएनका कार्यक्रम अधिकृत तथा चराविद् ठकुरीले जानकारी दिए । उनले भने, ‘यसअघि गौँथली चराको गणना नभएकाले उपत्यकामा यसको संख्या घटीबढी भएको भन्न सकिदैन ।’ यद्यपि वासस्थानको अभाव र प्रदुषणका कारणले भने यो चरा संकटमा पर्दै गएको विज्ञहरुको निष्कर्ष छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics