गर्मी बढ्यो – रोगबाट बचौँ



देशैभरी गर्मी बढेको छ । धुलो धुँवाका कारण यसैपनि सर्वसाधारण विरामी भइरहेकै छन् । गर्मी बढेसँगै झाडापखाला, आउँ, टाइफाइड, मलेरिया, कालाजार, डेन्गु, हेपाटाइटिसलगायतका विरामी बढ्ने गर्छन् । सामान्य रुघाखोकीदेखि गर्मी मौसममा जाडोको मौसममा भन्दा धेरै किसिमका इन्फ्ल्युएन्जा भाइरल रोगले धेरैलाई सताउने गर्छ । यो समयमा खाना, पानी, बसाइ तथा कपडा प्रयोग गर्दा समेत सचेत हुनुपर्ने सुझाव चिकित्सकहरुले दिएका छन् ।

सामान्यतया जाडो मौसमको तुलनामा गर्मीमा बढी विरामी हुने गर्दछन् । राष्ट्रिय ट्रमा सेन्टरका डाक्टर विक्रान्त मेहताले भने ‘गर्मीमा सबैभन्दा बढी भाइरल फेबर, झाडापखाला र छालासम्बन्धी रोगका विरामी हुने गर्दछन् ।’ गर्मीको समयमा पानीमा हुने प्रदुषणले बढी झाडापखाला र छालामा हुने समस्याका विरामी हुन्छन् ।


गर्मीको सुरुवातसँगै झाडापखाला, टाइफाइट लगायत सर्पको टोकाइले हुने विरामीको संख्या देखा पर्न थालेको छ ।



शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेर बहादुर पुनका अनुसार गर्मीमा सबैभन्दा बढी संक्रमण पानीबाट हुने गर्दछ । त्यो संगसंगै गर्मी मौसममा बढी हावा चल्ने हुन्छ । हावाले उडाएर ल्याउने धुलोका कारण छालामा र आँखामा पनि समस्या देखा पर्ने गर्दछ । उनले भने ‘गर्मीको सुरुवातसँगै झाडापखाला, टाइफाइट लगायत सर्पको टोकाइले हुने विरामीको संख्या देखा पर्न थालेको छ ।’ गर्मी बढ्दै जाँदा यस्ता विरामीको संख्या बढ्दै जाने गर्छ । पुनले भने ‘अस्पतालमा यो समयमा झाडापखालाको विरामीको संख्या बढ्छ ।’

काठमाडौंमा वायुप्रदुषणको डरलाग्दो अवस्था देखिन्छ । दैनिक उपत्यकामा उड्ने धुलोको कारण छालासम्बन्धि रोगका विरामी बढ्न सक्ने अनुमान विशेषज्ञहरुले गरेका छन् । गर्मी मौसममा बढी पसिना आउने गर्छ । जसका कारण बाहिर उडेको धुलो मानिसको छालामा टाँसिन्छ । यसले गर्दा छालामा एलर्जी हुने, चिलाउने, फोका उठ्ने र खटिरा आउनेजस्ता समस्या देखा पर्दछन् । काठमाडौंमा धुलोको अति सानाकणहरु भएकाले शरीर बाहिर छालामा मात्र नभई श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा समेत जान्छ र यसले गम्भीर असर निम्त्याउँछ । गर्मीको समयमा इन्फ्ल्युएन्जा भाइरल ए, बी र सीले सबैभन्दा धेरै सताउने गर्छ । सरुवा रोग धेरैजसो पानी र खानाबाट धेरै सर्ने भएकाले पनि सचेत हुनु आवश्यक छ ।

बालबालिकालाई बढी असर


गर्मी मौसममा धेरैजसो बालबालिका रोगको सिकार हुने गर्दछन् । डा. पुनले भने ‘गर्मी मौसममा खाएको खाना राम्रोसँग पच्दैन जसले बालबालिकाहरूमा झाडापखाला, आउँ, दादुराजस्ता समस्या देखा पर्छन् ।’ अत्याधिक गर्मीका कारण बढीजसो चिसो खानेकुराहरु खाने गरिन्छ, बच्चाहरुमा यसको छिटो असर पर्नेहुनाले चिसोले लाग्ने रोगको असर समेत देखा पर्न सक्छ । वायुमण्डलमा भएको धुलो र प्रदुषित पानिका कारणबाट टाइफाइड, हैजा, निमोनिया, घाउखटिरा तथा मेनेन्जाइटिसजस्ता रोगहरुले पनि बालबालिकालाई सताउने गर्छ ।

बालबच्चाहरु घरको खानाभन्दा बजारमा पाइने पानीपुरी, चटपटे खुल्ला खानेकुरा खान रुचाउँछन् । फलस्वरुप यस्ता खानेकुराले खाँदा पेट दुख्ने, डायरिया हुने, बान्ता हुने जस्ता समस्या देखा पर्छ । त्यस्तै फोहोर तथा धुलोका कारण शरीर चिलाउने अनि हातखुट्टामा घाउ हुने सम्भावना पनि उत्तिकै हुन्छ ।

कसरी बच्ने ?


गर्मी मौसममा बान्ता तथा झाडापखाला लाग्ने कारण भने दूषित खानपान तथा पानी नै हो । त्यसैले बासी, सडेगलेका तथा झिंगा भन्किएका खानेकुरा, फोहोर पानी अनि फोहोरी हातबाट बनाइएका खानेकुराबाट पनि रोग लाग्नसक्छ । खाना राख्ने तथा खाने भाँडा फोहोर भएर पनि रोग लाग्छ । बजारमा काटेर राखिएका फलफूल नधोई खानु  हुँदैन  । यसैगरी सागसब्जी तथा सलाद पनि सफा पानीले पखालेरमात्र खाने गर्नु पर्दछ । यो मौसममा झिंगा, लामखुट्टे, फट्यांग्रा तथा भुसुना बढी सक्रिय हुने, जताततै पानी जम्ने अनि खानेकुरा छिट्टै गल्ने भएकाले खानपान एवं रहनसहनमा विशेष ध्यान पुर्याउनु आवश्यक छ ।

पानी उमालेर पिउने गर्दा गर्मीमा ८० प्रतिशत सम्भावित रोगबाट बच्न सकिन्छ । यो मौसममा रोगहरु फैलिने हुनाले यी सबै बिमारीको आधारभूत रोकथामका लागि उमालेर सेलाएको पानी पिउनु जरुरी छ । हल्का, खुकुलो र छरितो लुगा, सनग्लास, घामबाट छालाको सुरक्षा गर्ने क्रिम आदिको प्रयोग आवश्यक छ । घाममा छाता ओडेर हिँड्ने, हाते पंखा चलाउने, सकेसम्म पिउने पानी आफैँसँग बोकेर हिँड्ने जस्ता धेरै उपाय अपनाएर पनि गर्मीमा लाग्ने रोगबाट बच्न सकिन्छ ।

गर्मी मौसममा थोरै खाएपनि अपच हुने हुन्छ । त्यसैले एकैपटक धेरै खानेकुरा नखाने विस्तारै समय समयमा थोरैथोरै खाइरहने, पानी प्रशस्त पिउने गर्नुपर्दछ । बरफयुक्त र गुलियो पेयले झन् छिटो तिर्खा लगाउने हुनाले अति चिसो र अति गुलियो नखानु उपयुक्त हुन्छ । गर्मी भयो भनेर गुणस्तरहीन बरफ, दूषित पानी, सडकमा जथाभावी बेचिएका फलफूल खानु बिमारी हुने खतरा बढाउनु हो । चिल्लो, भुटेको वा तारेको, सुख्खा खानेकुरा यो मौसममा सकेसम्म खानु हुँदैन ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics