यस्तो छ राजधानी प्रदूषणमुक्त कार्ययोजना



सरकारले राजधानी सहर काठमाडौं उपत्यकामा व्याप्त वायु प्रदूषण न्यूनीकरण गर्न बृहत कार्ययोजना प्रस्ताव गरेको छ। नागरिकमा दीपक दाहाल लेख्छन्, स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको एकीकृत कार्ययोजनालाई सरोकारवाला विभिन्न मन्त्रालयसँग सहकार्य गरी तत्काल कार्यान्वयनमा लैजाने समझदारी मंगलबारको मन्त्रिपरिषद् बैठकमा भएको छ। बैठकमा प्रस्तावमाथि लामै छलफल भएको थियो।

स्वास्थ्यमन्त्री गगन थापाले उपत्यकामा वायु प्रदूषणको समस्या विकराल बन्दै गएको र त्यसले जनस्वास्थ्यमा गम्भीर असर पारिरहेकाले न्यूनीकरणका लागि कार्ययोजना प्रस्ताव गरेको बताए। नेपालको संविधानको धारा ३५ ले समेत स्वच्छ वातावरणको हक सुनिश्चित गरिसकेको अवस्थामा वायु प्रदूषणबाट जनस्वास्थ्यमा परेको असर घटाउन यो कार्ययोजना लागू गर्नुपर्ने थापाले बताए।

सुरक्षित वायुमा सास फेर्न पाउने जनताको अधिकार सुनिश्चित गर्न, जनताको स्वास्थ्य रक्षा गर्न आवश्यक कदम चाल्नु आवश्यक छ र यो सरकारको दायित्व पनि हो, उनले भने।

उनले कार्ययोजनामा वायु प्रदूषण न्यूनीकरणसँग सरोकार राख्ने निकायको जिम्मेवारी र दायित्व निर्धारण गरेर सोअनुसार कार्यान्वयनमा जानुपर्ने प्रस्ताव गरिएको बताए। मन्त्रिपरिषद् मा प्रस्ताव तत्काल कार्यान्वयन लैजाने समझजारी भएको छ, मन्त्री थापाले भने।

स्वास्थ्य मन्त्रालयले पेस गरेको राजधानीलाई सफा, स्वच्छ र प्रदूषणमुक्त बनाउने कार्ययोजनामा वायु प्रदूषण कारकमध्ये भौतिक निर्माणसँग जोडिएका विषयलाई नियमन र अनुगमनमा प्राथमिकता दिइएको छ। कार्ययोजनामा सार्क शिखर सम्मेलनको समयमा नेपालले अनुपम क्षमता प्रदर्शन गरिसकेको भन्दै नियमित विकासमा समेत त्यही मोडालिटी अपनाउने उल्लेख छ। प्रस्तावमा वायु प्रदूषण कम गर्ने उपाय खोज्ने र समयमा निर्माणका काम नसक्ने ठेकेदारप्रति कठोर हुने उल्लेख छ।

वायु प्रदूषण रोक्न कुनै एक मन्त्रालय वा विभागले मात्र जिम्मा लिएर वा जिम्मा बोकाएर सम्भव नहुने प्रस्तावमा उल्लेख छ। प्रस्तावअनुसार वायु प्रदूषण कम गर्न मन्त्रालय र विभागसहित २३ निकायको सहकार्य हुनुपर्नेछ। मन्त्रिपरिषद्ले कार्ययोजना कार्यान्वयनका लागि तत्काल सरोकारवालाको बैठक डाकेर अघि बढ्ने निर्णय गरेको छ।

कार्ययोजना प्रस्तावमा मेलम्ची खानेपानीको पाइप बिछ्याउन जथाभाबी सडक खन्दा पनि समस्या भएको भन्दै जुनसुकै प्रयोजनका लागि सडक भत्काएपछि तत्काल ग्राबेल वा पिच गर्न लगाउने उल्लेख छ। विकास निर्माणस्थल प्लाष्टिकको टनेलले घेर्नुपर्ने, काम भइरहेको स्थानमा अनिवार्य दिनको दुईपटक पानी छर्किने व्यवस्था गर्ने, कार्ययोजनामा छ।

सरकारले सडक विस्तार क्षेत्रमा विद्युत्, टेलिफोनको पोल सार्ने र खानेपानी तथा ढललगायत संरचनाको काम समयमा नहुँदा समस्या आएको भन्दै अब एउटै निकाय र एउटै स्टिमेटबाट काम गर्ने व्यवस्था मिलाउने भएको छ।

वायु प्रदूषण अर्को ठूलो कारक यातायातका साधनको इमिसन परीक्षणलाई प्रभावकारी बनाउने र धुलो तान्ने मेसिन प्रयोगमा ल्याउनेसमेत कार्ययोजनामा छ। हाल सवारी साधनको स्टिकर वितरण प्रणालीसमेत प्रभावकारी हुन नसकेको भन्दै तत्काल ५ देखि १० वटा परीक्षण उपकरण ट्राफिक प्रहरीलाई उपलब्ध गराउने र १० देखि १५ वटा धुलो तान्ने मेसिन खरिद गरेर कम्तीमा दिनको एकपटक सडकको धुलो तान्ने कार्ययोजनामा उल्लेख छ। सवारी साधनबा हुने प्रदूषण मापन मेसिन ठाउँठाउँमा राख्ने योजना पनि सरकारले बनाएको छ।

त्यसैगरी कार्ययोजना प्रस्तावमा फोहोर जलाउँदा पनि ठूलो मात्रामा प्रदूषण भइरहेको भन्दै जलाएमा दण्डित हुने व्यवस्था गरिने उल्लेख छ।

कार्ययोजनामा प्रदूषणबाट बच्न गुणस्तरीय मास्क प्रयोग बढाउन अनुदान दिने, सातामा एक दिन शुक्रबार अत्यावश्यकबाहेक अन्य सवारी साधन चलाउन रोकेर प्रदूषण न्यूनीकरणका लागि साझा अभियान चलाउन प्रस्ताव गरिएको छ।

त्यसैगरी कार्ययोजनामा दीर्घकालीन रुपमा यातायातको संख्या घटाउने र पैदलयात्रीलाई प्रोत्साहन कार्यक्रम र संरचनामा निर्माणमा ध्यान दिने, व्यापारिक प्रतिष्ठानलाई अनिवार्य वृक्षरोपण गर्न लागाउने उल्लेख छ। काठमाडाैमा विद्युतीय सवारीमात्रै चलाउन पेट्रोलबाट चल्ने सवारी साधनलाई विस्तारै विस्थापित गर्ने उल्लेख छ।

त्यसैगरी दीर्घकालीन योजना बनाएर ठूला सार्वजनिक सवारी प्रवर्द्धन, औद्योगिक क्षेत्र निर्माण, विकास निर्माणको उचित व्यवस्थापन, पार्क तथा हरियाली निर्माण, इँटाभटा तथा अन्य उद्योगलाई व्यवस्थित गर्ने सोच सरकारले बनाएको छ। कार्ययोजनामा प्रत्येक योजनाको विस्तृत व्याख्यासमेत छ। प्रस्तावमा वायु प्रदूषण उपत्यकासँगै लुम्बिनी, चितवन जस्ता सहरमा पनि विकराल बन्दै गएको उल्लेख छ।

काठमाडौं उपत्यकाको हावामा पिएम २.५ माइक्रोनभन्दा मसिना कणको मात्रा विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणा बढी भएको अध्ययनले देखाएको छ। वायु प्रदूषणका कारण राजधानीमा टाउको दुख्ने, आँखा, नाक, घाँटी र श्वासप्रश्वास प्रणालीसम्बन्धी रोग थपिँदै गएपछि प्रदूषणमुक्त सहर बनाउने कार्ययोजना मन्त्रालयले प्रस्ताव गरेको हो। मन्त्रालयका अनुसार वायु प्रदूषणले मुटु रोग, मष्तिस्कघात, फोक्सोको क्यान्सर, दम र प्रजनन प्रणालीमा समेत गम्भीर असर पारिरहेको छ।

पछिल्लो अध्ययनअनुसार करिब ३८ प्रतिशत वायु प्रदूषण गाडीको धुवाँले, २५ प्रतिशत सडकको धुलोले, १९ प्रतिशत फोहोर र कृषिजन्य अवशेष बाल्नाले र ११ प्रतिशत इँटा भट्टाका कारणले हुन्छ। प्रस्तावमा काठमाडौंलगायत सहरको प्रदूषण मानव सिर्जित भएको र यो अदुरदर्शीता, अस्पष्ट नीति, कमजोर कार्यक्षमता तथा व्यवस्थापकीय कमजोरीका परिणति भएको भन्दै सच्याउन तत्परता लिनुपर्ने उल्लेख छ।

कार्ययोजना प्रस्तावमाथि मन्त्रिपरिषद् मा छलफल भएपछि प्रधानमन्त्री पुष्पकमल दाहालले कार्यान्वयन तहमा जान थप अध्ययन गर्न एक साताको समय दिएका छन्। दाहालले वातावरण र निर्माणसँग सम्बन्धित सरोकारवाला निकायले हाल गरिरहेका काम अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न मुख्य सचिव सोमलाल सुवेदीलाई निर्देशन दिएका छन्। मुख्य सचिवले प्रतिवेदन दिएपछि प्रस्तावित एकीकृत कार्ययोजना अघि बढाइने छ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics