२० वर्ष पुराना गाडी कवाडी

वातावरण प्रदूषण र सडक दुघर्टनाका प्रमुख कारक बनेका २० वर्ष पुराना गाडी फागुन १८ पछि काठमाडौं उपत्यकामा प्रतिबन्ध लगाइने भएको छ । ती गाडी सडकमा गुडाए सरकारले जफत गरी कारवाही गर्ने यातायात व्यवस्था विभागले तयारी गरेको छ ।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा गुड्दै आएका २० वर्ष पुराना कालो नम्बर प्लेट (भाडा) का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेम्पो फागुन १८ पछि सडकमा ल्याउन पाइने छैन । ‘सबैलाई अनुरोध गरेका छौं । तयार छन् । अब कसैले अटेर गर्नुहुदैन,’ श्रेष्ठले भने । २० वर्ष पुराना गाडीको सरकारले नवीकरण, कर लिने तथा दर्ताका सबै प्रकृया बन्द गर्नेछ । उपत्यका बाहिर भने यो निर्णय २०७४ फागुन ३० पछि लागु हुने छ । पुराना गाडी हटाएपछि दुर्घटनामासमेत कमी आउन सक्ने अपेक्षा सरकारको छ ।


काठमाडौं उपत्यका तथा बाहिर सबैभन्दा धेरै दुर्घटना र क्षती यस्तै पुराना गाडीका कारण हुने गरेको छ । उपत्यकामा आधाभन्दा बढी २० वर्ष पुराना गाडी छन् । सरकारले धेरै प्रदूषण गर्ने तीन पांग्रे बिक्रम टेम्पो भने यसअघि हटाएको थियो । २०५५ सालमा सरकारले पुराना माइक्रोबस हटाएर सहुलियतमा नयाँ ल्याउने व्यवस्था मिलाएको थियो । २०५८ सालमा सरकारले २० वर्ष पुराना गाडी काठमाडौंमा चलाउन नदिन निर्णय गरेपनि कार्यान्वयन भएन । बीस वर्ष पुराना गाडी सडकमा गुडे नगुडेको विभाग र महानगरीय ट्राफिक प्रहरी महाशाखाको अधिकारसम्पन्न टोलीले अनुगमन गर्नेछ । २०७१ भदौ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले २० वर्ष पुराना सवारीसाधन विस्थापित गर्ने निर्णय गरेको थियो । २०७१ फागुन १८ गतेको राजपत्रमा २० वर्ष पुराना गाडी विस्थापन गर्ने निर्णय छापिएको थियो । तर कार्यान्वयन हुन सकेको थिएन । महानिर्देशक श्रेष्ठले पुराना सवारीसाधनले ट्राफिक जाम तथा दुर्घटना धेरै निम्ताएको बताए ।

विभागका मेकानिकल इन्जिनियर मोहन भट्टराईका अनुसार पनि पुराना सवारी साधनले दुर्घटना धेरै निम्त्याएका छन् । ‘धेरै समय चल्दा गाडीका पार्टपुर्जा नै खिइएका हुन्छन्। नटबोल्ट मेत टाइट हुदैंनन’ उनले भने, ‘सामान्य मर्मतसम्भार र सर्भि्सिङ गरेर कामै लाग्दैन ।’ विभागले पहिलो चरणमा २० वर्ष नाघेका कालो नम्बर प्लेटका गाडीमात्रै हटाउने निर्णय गरेको हो । विस्तारै निजी गाडीतर्फ पनि यो निर्णय लागु गर्ने सरकारी तयारी छ । त्यस्तै रातो नम्बर प्लेट राखेर विद्यार्थी ओसार्न प्रयोग भइरहेको गोत्रा गाडीसमेत बन्द गर्न सरकारले पत्राचार गरिसकेको छ । यातायात व्यवसायीले भने २० वर्ष नाघेका पुराना सवारीसाधन विस्थापित गर्दा सहुलियत दिनुपर्ने माग राखेका छन् ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघले पुराना सार्वजनिक सवारीसाधनलाई हटाए नयाँ खरिद गर्दा सहुलियत वा भन्सार छुट दिनुपर्ने माग लामो समयदेखि गरिरहेको छ । महासंघका महासचिव सरोज सिटौलाले भने, ‘सरकारले व्यवसायीसँग पर्याप्त छलफल नगरी पुराना सवारी साधन हटाउने निर्णय गरेकाले कार्यान्वयनमा समस्या हुन्छ,’ २० वर्षसम्म गाडी चलाएर नाफा कमाएका व्यवसायीले नाफा खोज्न नहुने सरकारी तर्क छ । नयाँ गाडी ल्याउदासमेत ब्लु बुकमा बीस वर्षभन्दा बढी चलाउन नपाइने उल्लेख गर्ने सरकारी तयारी छ ।

पुराना गाडीले फाल्ने धुवाँका कारण सर्वसाधारणको ज्यानसमेत जोखिममा परिरहेको छ । सरकारले तोकेको प्रदूषण मापदण्डभन्दा सयौं गुणा धेरै धुवाँ फाल्ने पुराना गाडी पनि निर्वाध रुपमा गुडिरहेका छन् । पुराना गाडीले फाल्ने धुवाँका कारण काठमाडौंको वायु प्रदूषणको अवस्था डरलाग्दो छ । विभिन्न अध्ययनले ६० प्रतिशत प्रदूषण गाडीकै कारण हुने तथ्य सार्वजनिक गरिसकेका छन् । विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा सात गुणा बढी प्रदूषण काठमाडौंमा छ ।

विश्व बैंकले पिएम १० को मात्रा एकसय २० हुनुपर्ने भनेको छ तर काठमाडौंमा आठसयभन्दा बढी पुगिसकेको छ । पछिल्लो पाँंच वर्षमा प्रदूषणको मात्रा ४० प्रतिशतले बढेको तथ्य हालै सार्वजनिक भएको छ ।

हाइलाइट्स यातायात व्यवस्था कार्यालयका अनुसार, बागमतीमा ९ लाख २२ हजार ९ सय दर्ता सवारीसाधन दर्ता छन् । जसमध्ये ८ हजार २ सय ७४ वटा २० वर्ष भन्दा पुराना सवारीसाधन छन् । यसमध्ये एक हजार ६ बस, एक हजार चारसय २३ मिनीबस, चार हजार तीनसय ५४ मिनिबस, ट्रक र मिनीट्रक र नौ सय ९१ वटा टेम्पो छन् । हाइलाइट्स पुराना गाडीले क्षमताभन्दा धेरै यात्रु बोक्दा दुर्घटना हुने गरेको ट्राफिक प्रहरीको प्रतिवेदनमा उल्लेख छ । ‘दुर्घटनाको प्रमुख कारणमध्ये एक थोत्रा गाडी हुन्,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख डिआइजी प्रकाश अर्यालले भने । पुराना गाडीमा ‘ब्रेकिङ सिस्टम’लगायतको प्रविधि कमजोर हुन्छ र दुर्घटना बढ्छ ।

हटाउनुपर्ने तीन कारण

१. दुर्घटना न्यूनीकरण गाडी थोत्रो हुनु दुर्घटनाको प्रमुख कारण रहेको प्रहरीको भनाइ छ । गाडी पुरानो भएकै कारण ब्रेक नलाग्दा तथा अन्य नट बल्टुले काम नगर्दा दुर्घटना भइरहेका छन् ।

२. प्रदूषण नियन्त्रण नेपालमा ३० वर्षभन्दा पुराना गाडी सञ्चालनमा छन् । पुराना गाडीले धेरै धुँवा फाल्ने भएकाले प्रदूषण बढाउँछ । नयाँ गाडीमा प्रदूषण नियन्त्रणको प्रविधिसमेत हुने भएकाले प्रदूषण कम हुन्छ ।

३. जाम न्यूनीकरण पुराना गाडी हटाउनेबित्तिकै राजधानीको जाम घटाउन सहयोग पुग्ने ट्राफिक प्रहरीको विश्वास छ ।

पिताम्बर सिग्देल

प्रतिक्रिया दिनुहोस

web
analytics