भारतमा जडीबुटीको निर्यात बढ्दो



मध्यपश्चिमका पहाडी तथा हिमाली जिल्लाहरूमा यातायातको पहुँच पुगेपछि भारतमा निर्यात हुने जडीबुटी बढ्दै गएको छ । आजको कान्तिपुरमा खबर छापिएको छ । नेपालगञ्जको क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालयका अनुसार ८ महिना अवधिमा ३७ करोड ९६ लाख ५१ हजार मूल्यको जडीबुटी भारत निकासी भएको हो । कार्यालयले चालु आर्थिक वर्षमा मात्रै ३ हजार ७६ टन जडीबुटी भारत निर्यात भएको जनाएको छ ।

तराईका जिल्लाहरूमा पनि केही जडीबुटी उत्पादन हुने भए पनि पहाडी र हिमाली जिल्लाको उत्पादन बढी छ । करिब ६० प्रतिशत जडीबुटी पहाडी र हिमाली जिल्लाबाट आउने गरेको कार्यालयले जनायो । चालु आवको पहिलो चार महिनामा ७ करोड ९३ लाख र दोस्रो चौमासिकमा ३० करोड ३ लाखको जडीबुटी भारत निकासा भएको हो । १ हजार ९७ टन पहिलो र १ हजार ९ सय ७९ टन दोस्रो चौमासिक अवधिमा भारत गएको कार्यालयले जनाएको छ ।

यस अवधिमा करिब ५ सय टन रिठा, ५ सय टन टिम्मुर, २ सय ५० टन तेजपात, ५० टन कुरिलो र ४ सय ५० टन काउलाको बोक्रा भारत निर्यात भएको क्वारेन्टाइनका वरिष्ठ अधिकृत थमनबहादुर काकीले बताए । उनका अनुसार दालचिनी, सतावर, चिराइतो, जटामसी, कुडी, पाखनबेदलगायतको जडीबुटी बढी मात्रामा भारत जाने गरेको छ ।

कार्यालयका अनुसार नेपालबाट मसुरोको गेडा, मसुरो दाल, पीठो, धानको भुस पनि निर्यात हुने गरेको छ । त्यस्तै कत्था, पिना, बेसार र भुसी पनि भारत निर्यात हुने गरेको छ ।

भारतका विभिन्न औषधि कम्पनीहरू र डिपार्टमेन्ट स्टोरमा जडीबुटी र खाद्यान्न जाने गरेको वरिष्ठ क्वारेन्टाइन अधिकृत कार्कीले बताए । जडीबुटीको निर्यात बढेसँग किसानहरूको आयस्तरमा पनि वृद्धि भएको छ । हिमाली र पहाडी जिल्लामा आर्थिक स्थिति उकासिएको छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics