प्लाष्टिक झोलाको विकल्प नहुँदा प्रतिबन्ध फितलो

वातावरण सफा राख्नु हामी सबैको दायित्व हो । हामी सबैले वातावरण संरक्षण गर्नुपर्छ । भन्दै सानै उमेरदेखि वातावरण संरक्षणमा जनचेतना फैलाउदै आएकी प्रियाशा महर्जन पछिल्लो समय समर्थ नेपाल संस्थाको स्थापना गरेर सामाजिक काममा लागेकि छिन् । प्लाष्टिक झोला उपयोगले हुने नकारात्मक असरको बारेमा जनचेतना फैलाउने अभियानकर्ताको रुपमा निकै लामो समय कार्यरत भइन् । नेचर नेपाल अनलाइनका लागि प्रियाशा ममहर्जनसँग गरिएको कुराकानि :

प्रियाशा महर्जन


प्लाष्टिक झोला मुक्त गर्ने अभियानमा कसरी लाग्नुभयो ?
कलेज पढ्दा देखी नै सडक नाटक, फोहोर व्यवस्थापन जस्ता कुरामा निकै अभिरुचि थियो । विभिन्न संस्थामा स्वयम सेविकाका रुपमा आवद्ध भएर मैले काम सुरु गरेकी हुँ ।

प्लाष्टिक झोलामुक्त अभियानमा रहदा कस्तो अनुभव हुन्थ्यो ?
सुरुमा त रमाइलोको लागि जनचेतना मुलक कायक्रम नेतृत्व गर्दै सहभागि हुन्थेँ भने बुझ्दै गएपछि यसलाई निरन्तरता दिँदै निकै लागी परेर काम गरेँ । तर सबै हामीले सोचेको जस्तो हुँदैन थियो । निराशा भन्दापनि सफल भइन्छ होला भन्ने सोचले कामलाई निरन्तरता दिइरह्यौँ ।

आफुले गरेको कामको सफलताको श्रेय कसलाई मान्नुहुन्छ ?
एचसिआईमा आवद्ध भएर हामीहरु प्लाष्टिक वातावरणीय असर को अनुसन्धान गरेर यसको प्रयोगको नियन्त्रणमा लागि परेका थियौं । कार्यान्वयन त प्रभावकारी छैन तर सरकारले प्लाष्टिक प्रतिवेदन गरेर केहि हद सम्म यसको प्रयोगमा कमी आएको छ । यो पनि मेरो कामको सफलताको रुपमा हेर्छु ।

काठमाडौंको वातावरण कस्तो लाग्छ ?

धुवाँ र धुलोमय काठमाडौंमा बस्नु परेको छ । वातारणलाई असर गर्ने पुराना सवारीसाधन चलिरहेको छ यसको अवलोकन भएको छैन् । प्लास्टिक झोला प्रयोगमा प्रतिवन्ध लगाए पनि यो कार्यान्वयन हुन सकेको छैन् । काठमाडौंमा विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा २० गुणा बढी वायु प्रदूषण रहेको पाइएको छ । त्यसैगरी सार्क क्षेत्रमा वातावरण, विज्ञान र जलवायु परिवर्तन्सम्बन्धी काम तथा अनुसन्धान गरिरहेको नयाँ दिल्लीस्थित सेन्टर फर इन्भारोमेन्टको अध्ययनले सो तथ्य अ‍ैंल्याएको छ ।

सो अध्ययनले सार्क क्षेत्रका ठूला सहरहरुमध्ये काठमाडौं र भारतको राजधानी दिल्ली सबैभन्दा बढी वायू प्रदुषित सहर भएको पनि जनाएको छ । प्रतिवेदन अनुसार दक्षिण एसियाका ठूला २२ सहरमध्ये काठमाडौं र नयाँदिल्ली सबैभन्दा धेरै वायु प्रदूषित सहरको सूचीमा छन् । यसले गर्दा पनि मनमा त्रास उत्पन्न भएको छ । वातावरण सफा र स्वच्छ बनाउन सबै मिलेर लाग्नु पर्छ । अहिलेको अवस्थामा सबै सहरकेन्द्रित भएर पनि यो समस्या उत्पन्न भएको छ ।

अहिलेको वातावरण र मानवको स्वास्थ्यलाई कसरी हेर्नुभएको छ ?
मानिस लगायत अन्य जीवको स्वास्थ्यको लागी अहिलेको वातावरण निकै चुनौतिपुर्ण रहेको छ । उपत्यकामा हुने धुँवा धुलोले गर्दा बिरामीका संख्या समेत बढेको पाइन्छ । अहिले उपत्यकाको प्रदुषण माक्सले समेत नधान्ने अवस्थामा पुगिसकेको छ भने मानिसले माक्सको प्रयोग पनि राम्रो सँग गरेको देखिदैन । वातावरणले गर्दा नै स्वास्थ्यमा समस्या देखिन्छ ।

वातावरण र समुदायबीच कस्तो भिन्नता पाउनुहुन्छ ?
समुदायले अहिलेको वातावरण र वातावरणीय शिक्षालाई बुझ्न नसकेको जस्तो लाग्छ । यो नै अहिलेको मुल समस्या हो । सरकारले कार्ययोजना गरेको कार्यक्रम समुदायमा थाहा हुँदैन । वातावरण संरक्षण गर्न र प्रदुषण कम गर्न हामी आँफै पहिले सजग रहनुपर्छ ।

सरकारले निती बनाएपनि प्लाष्टिक प्रयोगमा आउन छोडेको छैननि ? यसबारे के भन्नुहुन्छ ।
सरकारले प्लाष्टिक झोलामा प्रतिबन्ध लगाएपनि त्यसको साटोमा प्रयोग गर्ने झोलाको उचित व्यवस्था मिलाउन नसकेको कारण यस्तो भएको हो । प्लाष्टिक प्रयोगले हुने असरको बारेमा पर्याप्त जानकारी उपभोक्तालाई दिन नसकिएको कारणले पनि यसको प्रयोगमा न्युनिकरण हुन सकेको छैन । नीति बनाएरमात्र हुँदैन, कार्यान्वयनको खाँचो रहन्छ । यसको बारेमा उपभोक्ता र सरकार दुबैले सोच्न जरुरी छ ।

अगामी दिनमा कस्तो कामको योजना तयार गर्दै हुनुहुन्छ ?
अहिले हामीले वातावरण सम्बन्धि नै प्रकोपको बारेमा एसएमएस मार्फत जानकारी दिने एप्स बनाउने तयारी गरिरहेका छौँ । तराई लगायत अन्य क्षेत्रमा आगलागीले हुने प्रत्यक्ष असरलाई यसलाई मध्यनजर गर्दै यस्तो एप्स बनाउने तयारी गरिरहेका छौँ । जसले गर्दा कुनै बनमा आगो लागिहाल्यो भने एसएमएस मार्फत एप्सले जानकारी दिन्छ र विनाशबाट बच्न सजिलो हुन्छ ।

नेचर खबर

प्रतिक्रिया दिनुहोस

web
analytics