सुक्खायाम हो कि बर्खा ?



बिहानपख घमाइलो र खुला रहेको आकाश १० बज्दा नबज्दै धुम्मिएर घनघोर वर्षा हुन थालेको धेरै दिन भइसक्यो । एकाएक बदली भएर बर्खाजस्तै झमझम पानी पर्न थालेपछि त्रिभुवन विमानस्थलस्थित जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद्लाई अचेल सोध्न थालिएको छ– यो सुक्खायाम हो कि मध्य बर्खा ?

मौसमविदसत सर्वसाधारणलाई बुझाउन सक्ने गतिलो जवाफ छैन । ‘छिनछिनमै मौसम फेरिइरहने भएकाले चित्त बुझाउन सक्ने अवस्था छैन,’ महाशाखाका मौसमविद् राजुधर प्रधानांगले भने, ‘जे सम्भावना हो त्यो भनेर चित्त बुझाउने कोसिस गर्छौं ।’

केही दिनदेखि लगातारजसो पानी पर्न थालेपछि किसान, विद्यार्थी र सञ्चारकर्मीले मौसमकाे अवस्था जान्न खोजे पनि मौसमविद् आफैं अलमलमा पर्ने गरेका छन् । ‘मौसम ठ्याक्कै यस्तो हुनेछ भनेर भन्न सकिन्न,’ प्रधानको अनुभव छ, ‘यो हिउँद (सुक्खा) हो कि बर्खा हो, कतिबेला त हामी नै अन्योलमा हुन्छौं ।’ हुन त प्रि–मनसुन सुरु भएको धेरै दिन भइसक्यो । यस्तो बेला अपराहनपछि छिटफुट वर्षा हुनु स्वाभाविकै हो । तर, बिहानैदेखि बर्खाजस्तो पानी पर्न थालेपछि मौसमविद् अध्ययन नै गर्नुपर्ने निष्कर्षमा पुगेका छन् । ‘अब यसकाे विस्तृत अध्ययन नै गर्नुपर्छ,’ प्रधान भन्छन्, ‘यत्तिकै जवाफ दिन सक्ने अवस्था छैन, विश्वास गर्ने आधार पनि गुम्लाजस्तो छ ।’ प्रि–मनसुनको अवधिमा छिटफुट पानी पर्ने गरे पनि दिनैभरि आकाशमा बादल लाग्ने, तापक्रम घट्ने र चिसो हुने गतिविधिलाई मौसमविद्हरू नौलो ठान्छन् । ‘चैत र वैशाखमा पहिला यस्तो बाक्लो बादल लाग्थेन,’ लामो समय जल तथा मौसम विज्ञान विभागमा काम गरेका वरिष्ठ मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले भने, ‘योचाहिँ नौलो नै भएको छ ।’

पानीको मात्रा बढ्नेभन्दा पनि केही वर्षदेखि वायुमण्डलमा छिनछिनमा देखिएको परिवर्तन अध्ययनको विषय भएको श्रेष्ठले उल्लेख गरे । ‘पानी त औसत जति पर्नुपर्ने हो त्यसकै हाराहारी छ,’ उनले थपे, ‘दिनै अँध्यारो हुने, बाक्लो बादल बन्ने र तापक्रम घटी ज्याकेट लगाउनुपर्ने अवस्था आउनुचाहिँ अचम्मको विषय छ ।’ अप्रिलमा सामान्यतया काठमाडौंमा ६१ मिलिमिटर वर्षा हुनुपर्नेमा तेस्रो सातासम्म करिब ४७ मिमि वर्षा भइसकेको छ ।

पोखरामा औसतभन्दा बढी नै पानी परिसकेको छ । अप्रिल महिनामा १२७.६ मिमि पानी हुनुपर्नेमा अहिलेसम्म १९८.६० परिसकेको छ । दिपायलमा औसत ३९.१ मिमि वर्षा हुनुपर्नेमा त्योभन्दा चार गुणा बढी ११७.७० परिसकेको छ । धनकुटामा औसत ४९.६ मिमि पानी पर्नुपर्नेमा अहिलेसम्म ४०.१० परेको छ । तर, वीरेन्द्रनगरमा औसत २९.२ मिमि पानी पर्नुपर्नेमा अहिलेसम्म जम्मा २.८० मिमि बर्षा भएको छ ।

‘राम्रो मनसुनको संकेत’


छिनछिनमा बदली भई पानी पर्नुलाई मौसमविद्हरू ‘राम्रो मनसुन’ को संकेत भनी व्याख्या गर्छन् । ‘हरेक ३/४ वर्षको अन्तरालमा यस्तो भइरहन्छ,’ काठमाडौं विश्वविद्यालयमा मौसम विज्ञानका अध्यापकसमेत रहेका वरिष्ठ मौसमविद् मणिरत्न शाक्यले भने, ‘यो वर्ष मनसुन सुखद हुने शुभ संकेत पनि हो ।’ प्रशान्त र हिन्द महासागरमा देखिने मनसुनी गतिविधिले बेलाबेला यस्तो हुने उनको तर्क छ । ‘यो वर्ष चाँडै मनसुनी गतिविधि देखिने सम्भावना छ,’ उनले भने, ‘नेपालसहित दक्षिण एसियाभरि मनसुन राम्रो हुने देखिन्छ ।’

महाशाखाका मौसमविद् प्रधानका अनुसार यतिबेला न्यून चापीय रेखा भारतको पञ्जाबबाट पूर्वी भारतको मणिपुरतिर सरेको छ । विहारमा पनि न्यून चापीय प्रणाली उत्पन्न भएको छ । नेपालसँग जोडिएको विहारमा न्यून चापीय प्रणाली बनेपछि त्यसको असर यहाँ पर्न थाल्छ । ‘अहिले भइरहेको त्यही हो,’ प्रधानले भने, ‘बंगालको खाडीको जलवाष्पयुक्त वायुको असरले पनि मौसममा बदलाव आएको हो ।’ भारतको पश्चिम बंगाल र सिक्किमको मौसममा पनि यस्तै फेरबदल भइरहेको छ । प्रधानका अनुसार सोमबारसम्म यस्तै अवस्था रहने देखिन्छ । बिहान केहीबेर आकाश खुलेर घाम लागे पनि मध्य र पूर्वी भागमा दिउँसो भारी वर्षा हुने अनुमान छ । ‘मोडिस प्रविधिले केही दिन काठमाडौंसहित पूर्वी भागमा धुम्मिएर पानी पर्ने देखाएको छ,’ अर्का मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठले भने ।

कान्तिपुरबाट  

अब्दुल्लाह मियाँ

प्रतिक्रिया दिनुहोस

web
analytics